उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको वार्ता रद्द
वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरेका छन्। किमलाई बिहीबार एक पत्र पठाउँदै ट्रम्पले आगामी जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराएका हुन्।
उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन्। ‘दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुला आलोचनात्मक व्यवहार र गतिविधिका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महसुस गरेको छु’, ट्रम्पले पठाएको पत्रमा उल्लेख छ। यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शंका व्यक्त गरेका थिए। उनले उत्तर कोरियाली राष्ट्रपति किमको हालत लिबियाको जस्तो हुने धम्की दिएका थिए। राष्ट्रपति ट्रम्पसँग खेलवाड गर्नु गल्ती हुने बताएका थिए। लिबियाली नेता मुुअमर गद्दाफीको अमेरिकी समर्थित विद्रोहीले हत्या गरेका थिए। त्यसपछि उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मूर्ख’को संज्ञा दिएको थियो। ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाइपछि आएको हो।
पेन्सको भनाइलगत्तै उत्तर कोरियाका उपविदेशमन्त्री चो सन हुईले वार्ता तयारी भइरहेका बेला यस्तो धारणा सार्वजनिक गर्ने पेन्स मूर्ख बेबकुफ भएको बताएका थिए।
शिखर बैठक सोही दिनमा नहुन पनि सक्ने आशंका मंगलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्त गरेका थिए। यद्यपि उनले उत्तरसँग वार्ता हुने भने बताएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरे पनि वार्ता भने हुने बताएका थिए। उनले उत्तर कोरियाले केही शर्त पूरा गर्नुपर्ने अवस्था रहेकाले शिखर बैठक निर्धारित समयमा नबस्न सक्ने बताएका थिए। प्योङयाङले भने अमेरिकाले एकपक्षीय रूपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ। दक्षिण कोरियाको राजधानी सोलमा जारी अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासका कारण उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्तामा नबस्ने चेतावनी दिएको थियो।
अमेरिकी उपराष्ट्रपतिको भनाइ अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको प्रतिक्रिया थियो। उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको, दक्षिण कोरियासँग बृहत् शान्ति सम्झौता गरेको तर अमेरिकाले आफ्नो सदाशयतालाई कमजोरीका रूपमा लिएको उनको भनाइ छ। त्यसैगरी दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्न लागेको बताइएको छ। दक्षिण कोरिया र उत्तरका बीच यही मे १६ मा मन्त्रीस्तरीय बैठक आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो। दक्षिण कोरियाले अर्काे वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ। यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन। उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताएका थिए।
कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पुर्याउने विश्वास चीनले लिएको भन्दै चीनको आवश्यक सबै सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। वासिङटनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री वाङले यस्तो धारणा राखेका थिए। चिनियाँ विदेशमन्त्री वाङ अमेरिका भ्रमणमा छन्। उनले बुधबार आफ्ना अमेरिकी समकक्षीसँग भेटवार्ता गरेका थिए।
आणविक भट्टी ध्वस्त
उत्तर कोरियाले आफ्नो प्रतिबद्धता बमोजिम बिहीबार आणविक परीक्षण केन्द्र पन्गी–री ध्वस्त गरेको छ। केही दिनपूवै नै उत्तरले यस्तो जानकारी दिएको थियो। यसका लागि बुधबार नै उसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्योङयाङ बोलाएको थियो। दक्षिण कोरियाबाट मात्रै आठजना पत्रकार उत्तर कोरिया पुगेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुनमा वार्ता गर्नुपूर्व उत्तर कोरियाली नेताले आणविक भट्टी ध्वस्त गर्न तयार भएका थिए। यद्यपि बिहीबार अमेरिकाले उत्तरसँगको शिखर वार्ता स्थगित भएको घोषणा गरेको छ।