राजविराज विमानस्थल असारदेखि नियमित उडान
राजविराज : राजविराज सप्तरीको राजविराजस्थित विमानस्थल असार १ गतेदेखि नियमित रूपले सञ्चालनमा आउने भएको छ। विमानस्थलमा श्री एयरलाइन्सले व्यावसायिक उडान गर्ने प्रतिबद्धता जनाएपछि यो नियमित रूपले सञ्चालन हुने निश्चित भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलको बिहीबार उद्घाटन गरेका छन्।
मन्त्री अधिकारीले विमानस्थलमा आयोजित एक कार्यक्रमबीच विमान सेवाको उद्घाटन गरेका हुन्। बिहान १०ः३१ बजे काठमाडौंबाट उडेको श्री एयरलाइन्सको ५० सिट क्षमताको ९ एन–एएमए जहाज १०ः५४ बजे राजविराज विमानस्थलमा अवतरण गरेको हो।
कच्ची धावनमार्गका कारण २०५२ वैशाखदेखि नियमित उडान हुन नसकेको २३ वर्षपछि जहाज उडेको हेर्न सयौं स्थानीयवासी विमानस्थलमा आएका थिए।
मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मित्तललाई सेवाभावले उडान सेवा सञ्चालन गर्न आग्रह गरे।
उनले अप्ठ्यारा ठाउँमा सेवा सञ्चालन गर्नेलाई सरकारले प्रोत्साहन गर्ने विश्वास दिलाए। श्री एयरलाइन्सले असार १ गतेदेखि नियमित उडान गर्ने जनाएको छ। मन्त्री अधिकारीले पशुपतिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीका लागि यो विमानस्थल सहयोगी हुने बताए। नयाँ निर्माणभन्दा पनि सञ्चालन हुन नसकेका पुराना विमानस्थललाई सञ्चालनमा ल्याउन सरकारले प्राथमिकता दिने उनले बताए।
तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको कच्ची धावनमार्गको राजविराज विमानस्थल पक्की बनाउन २०७३ साल असोजदेखि सुरु गरी ०७५ वैशाखमा सम्पन्न गरिएको हो। एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी पार्किङ निर्माण सम्पन्न भएकाले आगामी असार १ गतेदेखि नियमित उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए।