पुल नबन्दा ज्यान गुमाउँदै स्थानीय

पुल नबन्दा ज्यान गुमाउँदै स्थानीय

धनगढी / महेन्द्रनगर : छेउमा उभिएर नदीपारि हे¥यो भने सेती अञ्चल अस्पतालआसपास झलमल्ल उज्यालो देखिन्छ। तर, खुट्टामुनि सुसाइरहेको मोहना नदी। तर्ने कुनै साधन छैन, राति ११ बजे। नदी छेउमा बसेर पानी कम हुने आशा। तर, न पानी घट्छ न त पारि जाने कुनै साधन नै पाइन्छ। काखमा छटपटिँदै गरेकी छोरीले प्राण त्याग्छिन् र आफन्त शोकाकुल हँुदै शव बोकेर फेरि उतै फर्किन्छन्।

०७३ साल साउनको मध्यराति प्रदेश ७ को राजधानीसँग जोडिएको कञ्चनपुरको रैकवारकी बिना चौधरीले भोगेको पीडा हो यो। धनगढी रैकवार जोड्ने पुल निर्माणका लागि ०७१ सालमै ठेक्का भए पनि त्यो पुल अलपत्र परेकाले स्थानीयले बर्सेनि ज्यान गुमाउन बाध्य हुनुपरेको हो। ‘मैले मात्र होइन, मजस्ता धेरै आमाहरू यस्तै गरी आफन्त गुमाउन बाध्य छन्’, आँखा रसाउँदै चौधरीले भनिन्।

धनगढीको सेती अञ्चल अस्पतालदेखि रैकवार जाने मोहनासम्मको दूरी झन्डै एक किलोमिटर मात्र छ। साविकको रैकवार गाविस अहिले आधा पुनर्वास नगरपालिका र आधा कृष्णपुर नगरपालिकामा परेको छ। पटक–पटक मन्त्री भएका कांग्रेस नेता एनपी साउदको निर्वाचन क्षेत्र पनि हो त्यो। त्यहाँका धेरै बासिन्दाको बजार धनगढी हो भने विद्यार्थी पनि पढ्न स्कुल–कलेज जान धनगढी नै आउँछन। किसानको तरकारी दूधलगायत कृषिउपज बिक्री हुने ठाउँ पनि धनगढी नै हो।

तर, मोहनामा बनिरहेको पुल चार वर्षदेखि अलपत्र हँुदा सर्पले टोकेर तुरुन्तै अस्पताल पु¥याउनुपर्ने बिरामी, विष सेवन गरेकाहरू र अरू आकस्मिक बिरामीले ज्यान गुमाउनुपरेको छ। हरेक बर्खामा नदी तर्न नसकेर मानिसको ज्यान जान थालेपछि सडक विभागले ०७१ सालमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी चन्द्रशेखर मल्ल सञ्चालक रहेको एलाइट एड्भेन्चरलाई ७ करोडमा पुल निर्माणमा सम्झौता ग¥यो।

आफ्नो निर्वाचन क्षेत्र भएकाले पनि होला, तत्कालीन सिँचाइमन्त्रीसमेत रहेका एनपी साउदले ०७१ सालमा पुलको शिलान्यास गरे। ‘शिलान्यासका दिन निर्माण व्यवसायी मल्लले दुई वर्षभित्रै पुल निर्माण गरेर जनताले पाइरहेको दुःख कम गर्ने भाषण गर्दा सबैले ताली बजाएका थिए’ उद्घाटन समारोह स्मरण गर्दै रैकवार विछवाका शिक्षक वासुदेव जोशीले भने, ‘मन्त्री र निर्माण व्यवसायी सबैका भाषण, भाषणमा सीमित रहे, हाम्रा दुःख हामीसँगै।’

पुल निर्माण तोकिएको तीन वर्ष अवधि ०७४ साल असारमा सकिएको छ भने थपिएको एक वर्षको म्याद पनि ०७५ असारमा सकिने पुल निर्माण प्राविधिक पक्षसमेत हेरिरहेका सडक डिभिजनका इन्जिनियर महेन्द्र पन्तले बताए। उनले भने, ‘अहिले ४५ देखि ५० प्रतिशत प्रगति भएको छ तर त्यस क्षेत्रका जनताको दुःख हेर्दा पुल निर्माणमा एकदमै लापरबाही भइरहेको छ।’

‘बर्सातमा विद्यार्थी स्कुल–कलेज जान पाउँदैनन्, नदीमा पानी बढेको दिन डुंगा पनि चलाउन मिल्दैन, अझ किसानका उपज पनि बजारसम्म पुग्दैनन्’, शिक्षक जोशीले भने। निर्माण व्यवसायीलाई पटक–पटक छिटो काम गर्न अनुरोध गरे पनि केहीसीप नलागेको उनले बताए। भने, ‘अहिले गृहमन्त्रीले निर्माणमा ढिलाइ गर्नेलाई कारबाही गर्ने कुरा स्वागतयोग्य छ।’

वाणीदेखि देखतभुली सडकमा पनि लापरबाही

कञ्चनपुरको वाणीदेखि देखतभुली जोड्ने सडक निर्माणको सम्झौता भएको तीन वर्ष पुग्नै लाग्यो। तर, त्यो सडक निर्माण कामले गति लिन सकेको छैन। निर्माण जिम्मा पाएको सन्तोषी थेगिम कन्स्ट्रक्सन धनगढीले समयमा सडक कालोपत्रे नगर्दा निर्माण अलपत्र परेको हो।

०७२ फागुन २२ गते सम्झौता गरी एक वर्षमा काम सम्पन्न गर्ने भनी ६ दशमलव ७ किलोमिटर सडक निर्माणको कम्पनीले ठेक्का पाएको हो। तर, ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म सडक निर्माण ५० प्रतिशतभन्दा बढी हुन सकेको छैन। निर्माण कम्पनीले सुरु सम्झौता मिति सकिएपछि एक वर्ष थप गरेको समय पनि सकिएको छ।

चैत २८ गते थपिएको समयको एक वर्षसमेत पूरा भइसकेको छ। तर, ठेकेदारले अहिलेसम्म पनि उक्त सडक कालोपत्रेका लागि काम गर्ने संकेत देखाएको छैन। सडक कालोपत्रे काममा लापरबाही भएपछि जिल्ला प्राविधिक कार्यालयले गत वर्ष फागुन १३ मा पत्रिकामा स्पष्टीकरण सोधेको थियो। त्यसलगत्तै वैशाख ११ मा जिल्ला प्राविधिक कार्यालयसँग कामलाई निरन्तरता दिने भनी प्रतिबद्धता जनाए पनि पुनर्निर्माणमा लापरबाही भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ।

‘हामीले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिसकेका छौं’, जिल्ला प्राविधिक कार्यालयका डीई जगतप्रसाद जोशीले भने। ‘अझै पनि नटेरे हामी कारबाही प्रक्रियामा जान्छौं’, ठेकेदारले अनेकौं कारण देखाएर काममा लापरबाही गरिरहेको प्राविधिक बताउँछन्। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरडीपी) अन्तर्गत उक्त सडक निर्माण भइरहेको हो।

पुल चार वर्षदेखि अलपत्र हुँदा अस्पताल पु¥याउनुपर्ने बिरामीले ज्यान गुमाउनुपरेको छ।

धनगढीस्थित सन्तोषी थेगिन कन्स्ट्रक्सन निर्माण कम्पनीसँग ३ करोड ९२ लाखमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले अहिलेसम्म उक्त सडकमा ग्राभेल र बेस निर्माण काम मात्रै सकेको छ। अहिलेसम्म गरेको कामबापत निर्माण कम्पनीले करिब १ करोड ६० लाख रुपैयाँ भने भुक्तानी लिइसकेको छ।

सडक निर्माण ठेक्का पाएको सन्तोषी थेगिम कन्स्ट्रक्सन प्रालिका सञ्चालक अनिल थापाले सडक निर्माण भइरहेको र अब चाँडै सक्ने दाबी गरे। उनले आफूले अहिले सडक निर्माणका लागि निर्माणस्थलमै क्रसर राखेर आवश्यक सामग्री उत्पादन गरिरहेको र अब द्रुत गतिमा सडक निर्माण अघि बढाउने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.