जनप्रतिनिधिको एक वर्ष : भौतिक पूर्वाधारमा ८० प्रतिशत प्रगति

जनप्रतिनिधिको एक वर्ष : भौतिक पूर्वाधारमा ८० प्रतिशत प्रगति

भक्तपुर : सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नपामा जनप्रतिनिधिहरू बहाली भएको एक वर्षमा भौतिक पूर्वाधार निर्माणमा ८० प्रतिशत प्रगति भएको जानकारी दिएका छन्। नपामा जनप्रतिनिधिहरूको पद बहाली भएको एक वर्ष पूरा भएको अवसरमा बिहीबार आयोजित अन्तरक्रियामा प्रमुख थापाले बाँकी २० प्रतिशत काम असार १५ भित्रै सम्पन्न गरिने बताएका हुन्।

स्थलगत अनुगमनपछि मात्रै पूर्वाधार आयोजनाको रकम भुक्तानी दिने नीतिले गर्दा सूर्यविनायक नपामा भइरहेको भौतिक पूर्वाधार निर्माण गुणस्तरीय भएको उनले दाबी गरे।

‘नगरको समानुपातिक विकास गर्न नवीनतम प्रविधि प्रयोग गरी नगर प्रोफाइल निर्माण गरिरहेका छौं’, १६ बुँदे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख थापाले भने, ‘प्रोफाइलले नगरका सबै सम्पत्ति, जनशक्ति, साधनस्रोत, पूर्वाधार, पेसा व्यवसायलगायत सम्पूर्ण विवरण यकिन हुनेछ।’

वडा तहसम्मै एकीकृत सम्पत्ति कर असुल गर्न सुरु गर्ने सूर्यविनायक काठमाडौं उपत्यकाकै पहिलो नगरपालिका भएको उनले दाबी गरे। उनले नगरको आन्तरिक राजस्व वृद्धि गर्न नपाले पसल व्यवसाय दर्ता अभियानलाई कडाइसाथ अघि बढाएको जानकारी दिए।

‘पसल तथा व्यवसाय दर्ता अभियानले एक हजार थप पसल व्यवसाय करको दायरामा आएका छन्’, प्रमुख थापाले थपे, ‘यस आधारमा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान गरेका छौं।

उनका अनुसार वैशाखसम्म सात करोड १५ लाख रुपैयाँ आन्तरिक आय भइसकेको छ। नपाको नगर परिषद्ले आठ करोड ४८ लाख ५० हजार राजस्व संकलन हुने अनुमान गरेको थियो। वैशाखसम्मको आम्दानी हेर्दा करिब १० करोड रुपैयाँ आन्तरिक आय हुने प्रमुख थापाको भनाइ छ।

 सूर्यविनायक नपामा जनप्रतिनिधिले पद बहाली गरेको एक वर्ष पूरा भएको अवसरमा बिरुवामा पानी हाल्दै सांसद महेश बस्नेतलगायत।

उनले नपाको कार्य प्रभावकारी रूपले सञ्चालन गर्न भवन निर्माण मापदण्ड तथा नक्सापास कार्यविधि, पूर्वप्राथमिक विद्यालय व्यवस्थापन, सहकारी, कृषि बजार तथा व्यवसाय प्रवद्र्धन, व्यवसाय कर, निर्माण व्यवसाय, जग्गा विकासलगायत १२ वटा छुट्टाछुट्टै ऐन तथा निर्देशिका तर्जुमा गरिएको सुनाए।

नपाकी उपप्रमुख जुना बस्नेतले नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माणलाई प्राथमिकता दिएर कार्य गर्दै आएको जानकारी दिइन्। उनले न्यायिक समितिमा सम्बन्धविच्छेद, घरायसी झगडा तथा गैरकानुनी घर निर्माणसम्बन्धी ६ वटा उजुरी परेकामा तीनवटा मिलापत्रमार्फत समाधान गरिएको सुनाइन्।

नगरवासीलाई सुशासन दिन सुझाव

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नपाले नगरवासीलाई सुशासन र प्रभावकारी विकास दिने सुझाव दिए।

शक्तिमा बस्नेहरू निरंकुश बन्ने तथा पैसामा खेल्नेहरू भ्रष्टाचारी हुनेतर्फ सचेत गर्दै उनले भने, ‘विकास निर्माण गरेर मात्रै चुनाव जितिन्न। प्रभावकारी विकास गर्न सकिएन भने अर्को चुनावमा हार्ने निश्चित छ।’

पैसा कमाउने भए व्यापार व्यवसाय गर्न सुझाउँदै सांसद बस्नेतले आफ्नै नातागोता र साथीभाइले भ्रष्ट बनाउने भएकाले बचेर हिँड्न जनप्रतिनिधिलाई सचेत गरे।

भक्तपुर क्षेत्र नम्बर २ ख का प्रदेश सांसद शशिजंग थापाले जनताले जनप्रतिनिधिको कामकारबाहीको मूल्यांकन गरिरहेकाले जनसहभागितामा मात्रै काम गर्न सुझाव दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.