विक्रम विश्वास

विक्रम विश्वास

रंगशाला नजिकै घर। उनी त्यही रंगशालामा फुटबल खेलेर हुर्किए। एकछिनको फुर्सदमा पनि उनी रंगशाला छिरिहाल्थे, फुटबल खेल्न। उनलाई घरको माहोलले पनि फुटबलप्रति लोभ्यायो। बुवा बाबुकाजी महर्जन अनि काका रत्नकाजी आफ्नो समयका राम्रा फुटबलर थिए।

आफ्नो खेल हेरेर फुटबल खेल्न थालेका भाइ विराज महर्जन अहिले राष्ट्रिय टोलीका कप्तान नै छन्। बाबुकाजीका जेठा छोरा तथा विराजका दाइ विक्रमलाई भने उत्कृष्ट फुटबलर हँदाहुँदै पनि भाइले जस्तो अघि बढ्ने अवसर मिलेन। विक्रमले फुटबल खेल्दा विराज दाइका फ्यान थिए। अहिले विक्रम भाइ विराजका फ्यान छन्। उमेर समूहको नेपाली यू-१२, यू-१६, यू-१९ र यू-२३ राष्ट्रिय टोलीबाट खेल्दा ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसको उपनाम पाएका यी उदाउँदा खेलाडी सिनियर राष्ट्रिय टोलीसम्म पुग्नुअघि नै हराए। उनै खेलाडीको कथा हो यो।

विक्रमसँग फुटबल कला थियो। उनी अखिल नेपाल फुटबल संघ एन्फाले २०५४ सालमा आफ्नो एकेडेमीका लागि खेलाडी छनोट गर्दा छनोट हुने भाग्यमानी खेलाडी मध्येका हुन्। अर्थात् विक्रम एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन्।

एन्फा एकेडेमी पुगेपछि नै उनले उमेर समूहमा नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए। सन् १९९९ मा उनको टोलीले भारतको सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगिताको उपाधिसमेत जितेको थियो।

ती प्रतियोगितामा गरेको प्रदर्शनपछि विक्रमले सोही समय अन्तर्राष्ट्रिय फुटबलमा उदाएका ब्राजिलियन फुटबलर रोबर्टाे कार्लाेसको उपनाम पाएका थिए। ‘लेफ्ट ब्याक’बाट खेल्ने रोबर्टाे कार्लाेससँग विक्रमको खेल्ने पोजिसन मात्रै मिल्थेन, खेल्ने शैली पनि मिल्थो।

त्यसैले एन्फा एकेडेमीका तत्कालीन उज्बेकी प्रशिक्षक रुस्टोम आक्रोमोभले नै विक्रमलाई रोबर्टाे कार्लाेससँग तुलना गरेका थिए। उनको खेल नजिकबाट हेरेका अन्यले पनि विक्रममा रोबार्टो कार्लोसकै छनक देख्थे।

खेलाडीको रूपमा सिनियर राष्ट्रिय टोलीसम्म पुग्न नसकेका विक्रम महर्जन प्रशिक्षकको हैसियतमा भने त्यो अवसर प्राप्त गरेरै छाड्ने अठोटमा छन्।

उमेर समूहको सशक्त प्रदर्शनसँगै सिनियर राष्ट्रिय टोलीमा प्रवेशको ढोका ढक्ढक्याइरहेका बेला भने विक्रम दुर्घटनामा परे। उनको हात भाँच्चियो। खुट्टामा समस्या देखियो। त्यही घटनापछि विक्रम फेरि कहिल्यै पुरानो लयमा फर्कन सकेनन्। सिनियर राष्ट्रिय टोलीबाट खेल्ने उनको सपना अधुरै रह्यो। सिनियर राष्ट्रिय टोलीबाट खेल्ने अवसर नजुर्नु आफ्नो दुर्भाग्य मान्छन् उनी।

‘सबैको इच्छा सिनियर राष्ट्रिय टोलीबाट खेल्ने नै हुन्छ। सानैदेखि फुटबल खेलेको भएर पनि होला, नेपाली सिनियर राष्ट्रिय टोलीबाट अवसर पाउनु मेरा लागि अरू कुनै खुसीभन्दा ठूलो थियो’, विक्रम भन्छन्, ‘त्यो अवसर प्राप्त नहुनु नै मेरो दुर्भाग्य हो।’

उनले क्लब फुटबललाई भने निकै पछिसम्म निरन्तरता दिए। पहिलोपटक ब्वाइज स्पोर्टस्बाट २०६० को लिग खेलेका विक्रमले त्यसपछि फ्रेन्डस् क्लब, ब्वाइज युनियन, मच्छिन्द्र क्लब, युनाइटेड युथ क्लब र न्युरोड टिम एनआरटीबाट फुटबल खेले। अन्तिमपटक २०६८÷६९ को लिगपछि भने उनले खेलाडी जीवन त्यागेका छन्।

यात्रा प्रशिक्षणतर्फ

विक्रम फुटबलमा प्रशिक्षकको भूमिकाबाट दोस्रो पालि सुरु गर्दैछन्, यसलाई उनले सफल र प्रभावकारी बनाउने योजना बनाएका छन्। उनी भन्छन्, ‘मैले एन्फा एकेडेमीमा बसेर धेरै कुरा सिक्ने अवसर पाएँ। उमेर समूहको प्रतियोगिताबाट पनि धेरै कुरा सिकेको छु। त्यही ज्ञान नयाँ खेलाडीलाई बाँड्नेछु।’

विक्रमले एसियाली फुटबल महासंघ (एएफसी)को ‘बी’ र ‘सी’ लाइसेन्स कोर्स गरिसकेका छन्। उनले एएफसीकै फुटसलसम्बन्धी लेबल वानको कोर्ससमेत गरिसकेका छन्। खेलाडीका रूपमा सिनियर राष्ट्रिय टोलीसम्म पुग्न नसकेका उनी प्रशिक्षकको हैसियतमा भने त्यो अवसर प्राप्त गरेरै छाड्ने अठोटमा छन्। त्यसका लागि उनी एएफसीको लाइसेन्स ‘ए’को कोर्सको प्रतीक्षामा छन्।

हाल ‘सी’ डिभिजनको क्लब सोसियल समाज कल्याणको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका उनी फुटसल प्रशिक्षणमा पनि व्यस्त छन्। उनले बाफलस्थित युनाइटेड फुटसलमा युवा खेलाडीका लागि फुटसल टे«निङ सञ्चालन गरिरहेका छन्।

बिहान र साँझ गरी दुई सिफ्टमा सञ्चालित उनको टे«निङमा ५० जना युवाले फुटसल सिकिरहेका छन्। उनको टे«निङमा भाइ विराजले पनि सघाउँदै आइरहेका छन्। क्लब र राष्ट्रिय टोलीको जिम्मेवारीमा नरहेका बेला विराज दाइलाई सघाउन टे«निङ सेन्टर पुग्छन्।

विराज र विक्रमकै क्रेजको पछि लागेर उनीहरूसँग फुटसल सिक्न निकै टाढाबाट समेत बाफल पुग्नेहरू छन्। गौशालाका प्रज्ज्वल श्रेष्ठ दैनिकजसो १० किलोमिटर दूरी पार गर्दै छोरा प्रशिसलाई फुटसल सिकाउन विक्रमको टे«निङ सेन्टर पुग्छन्।

विक्रम र विराजबाट छोरालाई फुटसल सिकाउन पाउँदा प्रज्ज्वल प्रफुल्लित हुँदै भन्छन्, ‘विक्रम र विराज दुवै अनुभवी खेलाडी हुन्। उनीहरूबाट नानीहरूले फुटबल सिक्न पाउनु भाग्यको कुरा हो।’ उनको बुझाइमा भर्खरै फुटसलप्रति रुचि देखाएका नानीहरूलाई ती दुवैले निकै सहज रूपमा फुटसल सिकाइराखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.