‘सामाजिक सञ्जाल थरीथरीका ‘आइटम’को बकेट’
प्रगतिशील विचारधारा बोक्ने राजनीतिक युवा संगठनहरूको अन्तर्राष्ट्रिय छाता संगठन हो— विश्व प्रजातान्त्रिक युवा संघ (डब्लूडीएफवाई)। यो संस्थाले विश्व साम्राज्यवाद र विस्तारवादविरुद्ध आवाज उठाउँदै आएको छ। यही जेठ ८ देखि ११ सम्म विश्वका अधिकांश मुलुकका युवा सहभागी सम्मेलनमा संघको ‘जनरल काउन्सिल मिटिङ’ काठमाडौंको गोकर्ण रिसोर्टमा सञ्चालन भयो। त्यसै कार्यक्रमको सेरोफेरोमा डब्लूडीएफवाईका अध्यक्ष निकोलस पाडाडिमिट्रिव नेपाल आइपुगेका छन्। उनीसँग किरण दहालले गरेको कुराकानी :
काठमाडौंमा भएको डब्लूडीएफवाईको कार्यक्रमको उद्देश्यबारे केही बताइदिनुहुन्छ कि ?
अहिले हामी ‘जनरल काउन्सिल’को मिटिङका लागि यहाँ उपस्थित भएका हौं। यो हामीले प्रत्येक वर्ष सञ्चालन गरिरहेका छौं। हाम्रो आगामी कार्यक्रम कसरी लैजाने, रणनीति के हुन्छ भन्ने बारेमा हामीले यसै सम्मेलनबाट तय गर्नेछौं। एकताको ‘मिसन’सहित आएका छौं हामी। विभिन्न राजनीतिक क्रियाकलापका विषयमा पनि छलफल र निर्णय गर्नेछौं।
अहिलेका युवाको राजनीतिप्रतिको चासो कस्तो पाउनुहुन्छ ?
यो प्रश्नको एउटै र समान जवाफ भेट्न गाह्रो छ। देशैपिच्छेका युवाहरूको अवस्था फरकफरक छन्। हामीले युरोपियन देशलाई हेर्यौं भने त्यहाँ राजनीतिप्रति युवाहरूको चासो अलि कम पाउँछौं। त्यहाँ एउटा जडिजडाउ व्यवस्था छ र त्यहीअनुसार राजनीतिक क्रियाकलाप निर्धारण हुन्छ। युवाहरू सक्रिय रूपमा राजनीतिमा लाग्न चाहँदैनन्। बरु उनीहरू डब्लूडीएफवाई जस्तो संस्थामा लागेर समाजमा युवाको गतिविधि बढाउन चाहन्छन्।
बाँकी विश्वका युवाको राजनीतिक चासो कस्तो पाउनुहुन्छ ?
अलि फरक हुन सक्छ। राजनीतिमा सक्रिय रूपले लागेर देश बदल्न चाहने युवाको संख्या पनि प्रशस्त छ। ल्याटिन अमेरिका, अफ्रिकाजस्ता देशका युवामा राजनीतिप्रति चासो देखिन्छ। उनीहरू राजनीतिमा लाग्न चाहन्छन्। आफ्नो देशको राजनीतिलाई नियालिरहेका छन्। हामीले इतिहास हेर्ने हो भने युवाहरू देशको प्रगति र न्यायका लागि लडिरहेको देखिन्छ। यो हाम्रो पनि जिम्मेवारी हो। युवाहरू एकबद्ध भएर प्रगति र न्यायका लागि लडिरहनुपर्छ।
सामाजिक सञ्जालमा युवाहरूको अत्यधिक लगावबारे के भन्नुहुन्छ ?
सामाजिक सञ्जालबाट युवाहरू छुट्टिएर बस्नसक्ने अवस्था छैन। यो युवाहरूको जीवनको अभिन्न अंगजस्तै बनिसकेको छ। सामाजिक सञ्जालबाटै युवाहरूले आफ्ना विचारहरू बाँडिरहेका छन्। कुराकानी गरिरहेका छन्। उनीहरूले चाहेको कुनै पनि ‘मुभमेन्ट’ अघि बढाउन यसले सहयोग गरिरहेको छ। हामी सामाजिक सञ्जालमा जोडिन आवश्यक पनि छ। तर, हामीले यसमा हाम्रो जिन्दगी बर्बाद गर्नुचाहिँ हुँदैन। यसलाई सचेततापूर्वक प्रयोगमा ल्याउनुपर्छ।
युवाहरूले सामाजिक सञ्जालमा बढी समय खर्चिएर आफ्नो सिर्जनशीलतालाई दुरुपयोग गरिरहेका छन् जस्तो लाग्दैन ?
यो व्यक्तिपिच्छे फरक हुन्छ। युवाको सिर्जनशीलता सामाजिक सञ्जालसँग भन्दा पनि सामाजिक व्यवस्थासँग जोडिन्छ जस्तो लाग्छ। राम्रो अवसर पायो भने उसले जुनसुकै बेला आफ्नो सिर्जनशीलता प्रयोग गर्न सक्छ। कुनै तनावमा नभईकन काम गर्न पाए भने समाजमा उनीहरूको योगदान उल्लेखनीय हुन्छ। राज्यको नीतिनियम दह्रो भयो भने उनीहरू सामाजिक सञ्जालमा भए पनि÷नभए पनि उत्तिकै सिर्जनशील भएर काम गर्न सक्छन् जस्तो लाग्छ। मलाई लाग्छ, सामाजिक सञ्जाल भनेको थरीथरीका ‘आइटम’हरूले भरिएको बकेट हो। तपाईं त्यसमा हात हालेर आवश्यक परेको कुरा निकाल्न सक्नुहुन्छ।
नेपालजस्तो विकासोन्मुख देशमा युवाहरूले बेरोजगारीको समस्या खेपिरहनु परेको छ। यसले कस्तो खाले समस्या निम्त्याउँछ ?
हो, बेरोजगारी विश्वभरिकै समस्या हो। युवाहरूले जागिर खोज्नु कुनै नौलो कुरा हैन। आफ्नो जिन्दगी र परिवारलाई नै सुरक्षित रूपमा सञ्चालन गर्न उनीहरूलाई रोजगारीको आवश्यकता पर्छ। यसले विभिन्न समस्या पनि ल्याउँछ। कुनै रोजगारीमा नलागेपछि उसले आफूलाई निरुद्देश्य पाउँछ। त्यसले डिप्रेसन निम्त्याउँछ। मान्छेहरू सुसाइड गर्न थाल्छन्। बेरोजगारीलाई न्यूनीकरण गर्दै लैजानु आवश्यक छ। नेपालको खास अवस्था के छ भन्नेबारे मैले अध्ययन गर्न पाएको छैन। यहाँका युवाले कति रोजगारी पाएका छन् या छैनन् मैले बुझ्न पाएको छैन।
बेरोजगारी हटाउन तपाईंहरूको संस्थाले कस्तो भूमिका खेल्न सक्छ ?
यहाँ डब्लूडीएफवाई जस्ता संस्थाको आवश्यकता छ। हामीले बेरोजगारीका बिरुद्धमा लड्नुपर्छ। युवाको पक्षमा आवाज उठाउनुपर्छ। दबाब दिनुपर्छ। यसका लागि विभिन्न ट्रेड युनियन बनाएर जान पनि सकिन्छ। काम गर्न पाउनु त युवाको अधिकार हो नि ! डब्लूडीएफवाईले बेरोजगारी अन्त्य गर्न पनि काम गरिरहेको छ। युवाको आवाज र शक्तिलाई एकत्रित गरिरहेका छौं हामीले। साम्राज्यवादविरुद्ध विश्वका युवाको आवाज एक ठाउँमा ल्याउन प्रयास गरिरहेका छौं हामी।
अहिले सिरियाको घटनालाई डब्लूडीएफवाईले कसरी हेरिरहेको छ ?
सिरियालाई ‘रासायनिक हतियार’को प्रयोग गरेको आरोप लागिरहेको छ। हामीले फेसबुक, ट्विटरमा मान्छेहरूको क्षतविक्षत तस्बिरहरू देखिरहेका छौं। इतिहास हेर्ने हो भने अमेरिकाले इराकलाई न्युक्लियर बम राखेको आरोपमा क्षतविक्षत पारेको थियो। तर, अमेरिकाले इराकमा कुनै पनि न्युक्लियर बम पाउन सकेको थिएन। यतातिर अहिले सिरियावासीले समस्या भोगिरहेका छन्। अब बाहिरी देशले पनि सिरियामा शान्तिको पक्षमा बोल्नुपर्छ। विकासको पक्षमा बोल्नुपर्छ।