चर्को ध्वनिले निम्त्याउँछ मुटु रोग
कानै थर्काउने हवाईजहाजको आवाज होस् वा सडकमा ट्याँट्याँ र टुँटुँ पार्दै हुइँय्य हुइँकिने सानाठूला गाडीका आवाज। यसले मुटुसम्बन्धी रोगको जोखिम बढाउने गरेको पाइएको छ।
अधिकांश अध्ययनले सबैखाले यातायातका साधनबाट निस्कने चर्को ध्वनिले मुटुसम्बन्धी रोगको जोखिम बढाउने देखाएका छन्। यसबारे गत फेब्रुअरीमा जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित लेखमा यातायातका साधनको ध्वनिले उच्च रक्तचाप, हृदयाघात, मुटु फेल हुने, कोरोनरी र आर्टरीसम्बन्धी जोखिम बढ्ने उल्लेख छ।
साथै ती ध्वनि नियन्त्रणलगायत वायु प्रदूषणका उपाय अपनाइए पनि यस्तो जोखिम रहिरहने पनि अध्ययनमा उल्लेख छ। यातायातका साधनबाट निस्कने चर्को ध्वनिले निद्रा खलबलिने, दिउँसो तनाव र व्यग्रतासमेत बढाउने अध्ययनबाट देखिएको छ। यसो हुँदा हाम्रो शरीरमा विभिन्न ग्रन्थीबाट निस्कने हर्मोन प्रभावित हुने र अन्य विजातीय÷विकारले रक्तनलीमा क्षति पुर्याउन सक्ने पाइएको छ।
सडकमा गुड्ने सवारीको चर्को आवाज ध्वनि प्रदूषणको सबैभन्दा प्रमुख कारक रहेको अध्ययन अनुसन्धानले देखाएका छन्। सडक यातायातको चर्को ध्वनि प्रदूषण नियन्त्रण गर्न गति सीमा घटाउने, सडकको सतह कम घर्षणयुक्त बनाउने र राजमार्गमा गुड्ने गाडीको चर्को ध्वनिबाट बासिन्दालाई जोगाउन ‘नोइज ब्यारियर्स’ वा ‘साउन्ड वाल’ राख्न सकिन्छ। नेपालमा नोइज ब्यारियर्स वा साउन्ड वालको कुरा नौलो हुनसक्छ।