'मनमगनमा' मस्त
विजयकुमार पाण्डेको ‘खुसी’ किताबमा एउटा वाक्य छ, ‘जीवनलाई फर्केर हेर्दा सबै कुरा हिजैजस्तो लाग्छ।’ पपगायक दीपक वज्राचार्य पनि आफ्ना बालापन र युवा दिनहरू हिजैजस्तो गरी सुनाउँछन्, त्यो पनि एक बोटल बियरको चुस्कीसँगै। ‘आज मैले लन्चसँगै बियर पनि पिएको छु है। मेरो सास गन्हाएको त छैन ? ’ उनी आधा घण्टा अगाडिको किस्सा सुनाउँदै बातचितलाई अगाडि बढाउँछन्। उही ‘ओ अमिरा’ गाउँदै गर्दाको जस्तै प्रेमिल मुस्कानमा।
बचपनको कुरा हो, नेवारी भाषाबाहेक अन्यमा ‘कम्युनिकेट’ गर्न गाह्रो लाग्थ्यो, उनलाई। समय बित्दै जाँदा म्युजिकमा रुचि बढ्यो। म्युजिकबाहेक उनको सामु कुनै अप्सन बचेन वा भनौं उनले बचाउन चाहेनन्। दीपक र उनको म्युजिकबीच परिवार, समाज जो जो आए, ती सबै परास्त भए। उनको जिद्दीले सबैको सल्लाह सुझाव रद्दीको टोकरीमा गयो। बाँच्यो त केवल म्युजिकप्रति उनको गहिरो लगाव। आज पनि त्यो लगाव उस्तै सदाबहार छ। कुनै समय घरमा गितार लुकाएर बस्नुपर्ने बाध्यता पनि थियो, उनको। बुवाको म्युजिकप्रतिको दुश्मनी र त्यही दुश्मनीलाई छोराले देखाएको प्रेम, फ्यामली ड्रामाको लागि काफी थिए।
ठमेलमा रहेको ह्यान्डिक्राफ्टको व्यापार उनको परिवारको पुख्र्यौली पेसा हो। ‘बुबाले मलाई व्यवसायी बनाउन निकै प्रयास गर्नुभयो’, दीपक हाँस्दै सुनाउँछन्, ‘तर म दिनभर गितार बजाउँदै मस्त रहन्थेँ।’ सामान किन्न टुरिस्टको लाइन लाग्थ्यो पसलमा। तर उनी बिन्दास पाराले भनिदिन्थेँ, ‘नट फर सेल।’ छोरालाई व्यवसायी बनाउने बुवाको चाहना हरेक दिन यसैगरी चकनाचुर हुन्थ्यो।
जीवनका सबै सन्तुष्टि दीपकले म्युजिकबाटै पाए। भन्छन्, ‘म्युजिकमा म आफूलाई बिलिनियरभन्दा कम ठान्दिनँ।’ उनको यही बिलिनियर-प्रस्तुति देखिन्छ एल्बम- ‘मनमगनमा’।
पप जनरको गीत गाउँछु भन्ने दीपकले कहिल्यै सोचेनन्। उनको गितार मोहले नै उनलाई गायक बनायो। एकदिन ‘छोडिगयौ प्रिय’ भन्ने गीत रेडियो नेपालले नै बजाइदियो। त्यसपछि के चाहियो र, दीपकलाई आफू नि गाउन सक्छु जस्तो लागेछ। आफन्तहरूबाट फिडब्याक पनि राम्रै पाए उनले, ‘सुर लागेकै छ, ताल मिलेकै छ, अब पोलिस अलि लगाउँदै जाऊ।’ अब दीपकको हौसलालाई कसले रोक्न सक्ने। गीत गाउँदै गए। स्टेज पर्फमेन्स गर्दै गए। उनको ‘ओ अमिरा’ गीत अझै सुन्न चाहन्छन्, उनका फ्यानहरू। अमिरा दीपककी ‘अर्धांगिनी’। यी दुईको जमेको दोस्ती दीपकका लागि सधैं लक्की सावित भयो।
दीपक अझै ती दिनहरू सम्झन्छन्, जुन समय उनको गीतहरूले मार्केट पाएनन्। उनी ती दिनहरू पनि सम्झन्छन् जुन बेला उनका गीतहरूले मार्केटको डिमान्ड बढायो। र, सँगसँगै दीपकको प्रेसर हाइ र लो पनि। ‘तर अब ती दुवै मुड छैनन’्, बोलीलाई टक्क रोक्दै धैर्य हुँदै सुनाउँछन् उनी, ‘जे होस् मैले म्युजिक
नमरुन्जेलसम्म गर्नुपर्छ, त्यत्ति थाहा छ।’
दीपकलाई देख्ने प्रायः सबै केटीहरू यही भन्दा हुन्, काले काले हिस्सी परेको एक केटो, जो निकै मीठो गाउँछ। ‘सेभेन्टिज’का गीतहरू सुन्ने दीपक र त्यस्तै गीत लामो कपाल र जिन्स प्यान्टमा स्टेजमाथि झुम्दै उफ्रँदै गाएका थुप्रै गीतहरू छन्, उनका। समय बित्दै गयो। समयसँगै दीपकको सोचले परिवर्तनको बाटो रोज्यो। ‘छोडिगयौ प्रिय’देखि सुरु भएको म्युजिकल यात्रा ‘कसले देला धन’ सम्म आइपुग्दा यी गायकको संगीतमा गहिराइ र सुझबुझले ठूलो फड्को मारेको छ। स्टेजमा दमदार पर्फमेन्स दिने दीपक अब उपत्यकाका पारम्पारिक चोक र गल्लीहरूमा उत्रेका छन्, जसमा उनको पछिल्लो एल्बम ‘मनमगन’को म्युजिक भिडियो एउटा उदाहरण हो।
गट्स् र नोइलोनको ‘एपस्टिक’ गितारसँगै ‘मायाको डोरीले’ गाउँदै स्टेजमा आउँदा गज्जब देखिन्थ्यो, दीपकको पर्फमेन्स। अझै पनि उनलाई यस्तै मन छुने क्लिन म्युजिक मनपर्छ, अनि उनका फ्यानहरूलाई पनि। तर मनमगनको गीतसंगीतमा केवल गितार मात्रै गुञ्जिँदैन। सँगै गुञ्जन्छ, धिमे बाजा, मादल र सारंगी पनि। संगीतकार न्ह्यु बज्राचार्यले ‘मनमगन’ मन लगाएर हेरेको, सुनेको गीत हो। न्ह्यु भन्छन्, ‘मनमगनमा दीपकले नयाँ विषयलाई स्थापित गराएका छन्, हाम्रो संस्कृतिलाई उनले गीतसँग जोडेका छन्। यो सुन्दर पक्ष हो।’
पप गीतसंगीतमा रमाउने दीपकलाई पारम्पारिक भाकामा गीत गाउन त्यति सजिलो पक्कै थिएन। त्यसमाथि पपगायकको ट्याग जोगाउनुपर्ने चुनौती त छँदै थियो। ‘मनमगन सुन्न मात्र होइन, हेर्न पनि बनाइएको थियो’, दीपक भन्छन्। रिक्की शाहको सहयोगमा दीपकले मनमगनका लागि कमर्सियल धुन बनाए, मौलिक बाजागाजासहित। त्यसपछि स्टेजमा देखिने ड्रमसेट र गिटारिस्ट टोली नेवार बस्तीमा उत्रन्छन्। डेढ सयभन्दा बढी कलाकार पनि धिमेबाजाको तालमा नाच्न थाल्छन्। उता पुलुकिसीलाई पारम्पारिक रूपमा बाजागाजासहित निकालिन्छ, लगत्तै कुमारीको दर्शन पनि गराइन्छ। यता जात्रा नै नभएको समयमा जात्रा हेर्नेको भीड लाग्छ, चोकमा।
‘मनमगनमा दीपकले नयाँ विषयलाई स्थापित गराएका छन्, हाम्रो संस्कृतिलाई उनले गीतसँग जोडेका छन्। यो सुन्दर पक्ष हो।’- न्ह्यु बज्राचार्य, संगीतकार
अनि चोकको मध्यभागमा देखा पर्छन्, दीपक वज्राचार्य श्री गणेशायनमः को टिसर्ट विथ रिदम ब्यान्डको साथमा। सँगसँगै धुनिया घुमाउने, छलिया नाचले प्रर्फमेन्सलाई ए वान बनाउँदै लैजान्छ। संगीतकार न्ह्यु बज्राचार्यको विचारमा दीपक अब्बल गायक हुन्। ‘उनी छोटो होइन, लामो रेसका घोडा हुन्’, न्ह्यु भन्छन्, ‘दीपकले हाम्रा सांस्कृतिक परम्परालाई संगीतको मूलधारमा ल्याए।’
पप जनरमा नेपाली लोकसंगीत हावी हुँदा आफ्नो आईडी गुम्ने डर पनि थियो। तर उनी विश्वस्त हुँदै सुनाउँछन्, ‘मेरो आईडी त म मरेर पनि बचाउँछु।’
आधुनिकताको प्रभाव पप गायनमा पनि मज्जाले परेको छ। आज पूरै विश्व नै यसकै रफ्तारमा नाचिरहेछ। तर दीपकले फरक धार रोजे। आफ्नै मौलिक परम्परालाई पप जनरमा मिक्सअप गरेर। यसो भन्दैमा धिमे बाजाको ताल कहीँकतै बिग्रिएको छैन, मादल र सारंगीको धुन पनि ड्रमसेट र गितारको तारले बिर्सिएको छैन। उल्टै यो कम्बिनेसनले नेपालको लोकसंगीतलाई अझै प्रभावकारी बनाएको छ। यी सब काम बिलकुल सहज थिएनन्। एउटै गीतमा थुप्रै बाजाहरूको प्रयोग ‘प्राक्टिकल्ली’ सम्भव छैन भन्ने दीपकलाई थाहा थियो। तर चुनौतीलाई सधैं अवसर मान्ने दीपकले यो कार्यलाई असम्भव भने देखेनन्।
‘मनमगनको गीतसंगीत एकै पटक गरिएको प्रयास भने होइन’, दीपक सुनाउँछन्। आठ वर्ष अगाडिदेखि प्रयास गरिएको संगीत हो यो। ‘अल्लारे’ गीतमा प्रयोग भएको मादल, ‘सानी’ गीतमा बजेको धिमे बाजालाई दीपकको ब्यान्डले ल्याटिन पप संगीतमा ढालेका छन्। यी प्रयासहरूले नै मनमगनमा पप जनर र लोकबाजाको तालमेल मिल्यो।
सुखी र खुसी हुने चाहना कसलाई नहोला र। दीपकको पनि थियो। र, जीवनका सबै सन्तुष्टि उनले म्युजिकबाटै पाए। भन्छन्, ‘म्युजिकमा म आफूलाई बिलिनियरभन्दा कम ठान्दिनँ। उनको यही बिलिनियर प्रस्तुति देखिन्छ एल्बम ‘मनमगनमा’। उनको छोरी चेरिजाको कलिलो मस्तिष्कले भेट्टाएको थियो, फेस्टिबल बाजा र पप म्युजिकको कम्बिनेसन आइडिया। दीपक भन्छन्, ‘यो एक एक्पेरिमेन्ट नै थियो।’ यही एक्स्पेरिमेन्ट उनले नयाँ वर्षको अवसरमा यही वैशाख १ गते काठमाडौंमा लाइभ कन्सर्टमा पनि गरे। कन्सर्ट सफल रह्यो। सम्भवतः नेपालमा यस्तो कन्सर्ट ड्रामा पहिलो पटक भएको थियो।
हजारौं वर्ष पुराना मौलिक बाजाहरूसँगको छेडछाड आफैंमा संवेदनशील विषय हो। एक्स्पेरिमेन्ट भनिएका विषय घातक हुन सक्थे। सर्जकहरूले सुझाव पनि दिएका थिए दीपकलाई, ‘आफू त डुब्यो डुब्यो, आफ्नो संस्कृतिलाई पनि डुबाउने काम नगर्नु।’ ‘हामी परिवर्तन हुन सक्छौं तर हाम्रा बाजा परम्परा परिवर्तन नहोस’्, दीपक गम्भीर हुँदै भन्छन्, ‘त्यसैले ती बाजाहरू जस्तो छन्, त्यस्तै रूपमा प्रस्तुत गरियो।’
धेरै कलाकारहरू आज विदेशमा छन्, सायद उनीहरूले आफ्नो जीवनको प्राथमिकता चुने। वा सायद उनीहरूको धैर्यले साथ छोड्यो। किनकि म्युजिकलाई अझै पनि मानिसहरू पेसा नै ठान्दैनन्। तर दीपक अझै नेपालमै बसेर म्युजिकमै रमाइरहेका छन्। उनलाई त्यो समयका अग्रजहरूको कुरा अझै याद छ, ‘म्युजिक फिल्ड त्यति सजिलो छैन। यो एक तपस्या हो।’ अल्लारे दीपकलाई यी कुराहरू के हो के हो जस्तो लाग्थ्यो। तर आज उनले यसको अर्थ भेट्टाएका छन्। हत्केलाको चोर औंला चिउँडोमा बिसाउँदै, आँखालाई सिलिङतिर घुमाउँदै अनि फ्ल्यासब्याकमा फर्कंदै उनी आफ्नो अनुभव सुनाउँछन्, ‘मेरा जीवनमा आएका थुप्रै उतावचढावले धैर्यको अर्थ बुझायो।’ र, आज उनको यही धैर्यको क्वान्टम रूप ‘मनमगन’ बनेको छ।