भारतीय दूतावासको कार्यालय हटाउनु पनि लम्पसारवाद हो ?
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका सांसद पदम गिरीले अब नेपाललाई गरिब र भिखारीको राष्ट्रबाट समृद्ध राष्ट्र बनाउनुपर्ने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रमबारे शुक्रबार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै उनले अब तीब्र आर्थिक विकासमा लम्किनुपर्ने उल्लेख गरेका छन् । सांसद गिरीले कांग्रेसप्रति कटाक्ष गर्दै निजीकरणका नाममा कलकारखाना बेचेर खाएको पनि आरोप लगाए ।
‘बहुदलपछि निजीकरणका नाममा कलकारखाना बेचेर खाए, राजनीतिक परिवर्तनकै लागि लामो समय खर्चियौँ’, उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा जे जस्ता कुरा उठेका छन्, ती कुरा जायज छन् । अब गरिब र भिखारीहरुको राष्ट्र होइन, मागी खानेको राष्ट्र होइन भन्ने बनाउनुपर्छ, जनताले पनि भरोसा गरेका छन् ।’
डबल अंकको आर्थिक वृद्धि गर्ने कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै उनले महत्वाकांक्षी भयो भन्नेहरुलाई बुझेर मात्रै टिप्पणी गर्न आग्रह गरे । ‘राम्रा कुरा आउँदा पनि विरोध नै गर्नुपर्छ भन्नेले अब परिवर्तन हुनुपर्छ’, उनले भने, ‘आज नेपाललाई अग्र्यानिक देश बनाउँछु भन्दा हाँस्छन् तर सिक्किम १५ वर्षअघि नै अग्यार्निक राज्य भइसकेको छ ।’
सांसद गिरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रियताको सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा गर्दा लम्पसारवाद भन्ने कांग्रेस सांसद गगन थापासहितमाथि कटाक्ष गरे ।
‘प्रधानमन्त्रीले भारतीय प्रमसँग कुरा गर्दा लम्पसारवबाद हो, घुँडामा प्वाँल पर्यो भन्नेले आज विराटनगरबाट भारतीय दूतावासको कार्यालय हट्दा के भन्छन्’, गिरीले प्रश्न गरे, ‘हिजो घुँडामा भ्वाङ परेको देख्नेहरुले बिराटनगरको फिल्ड अफिस हट्दा पनि लम्पसारवाद नै भन्लान् ।’