मूल्यबृद्धिविरुद्ध नेविसंघ सडकमा
काठमाडौं : पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिविरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) सडक आन्दोलनमा उत्रिएको छ । पछिल्लो केही महिनायता निरन्तररुपमा पेट्रोलियम पद्धार्थको मूल्यबृद्धि भइहेको भन्दै नेविसंघ आन्दोलनमा उत्रिएको हो ।
शुक्रबार नेविससंघले राजधानीमा विरोध प्रदर्शन गरेको हो । सरकारले मूल्यबृद्धि नियन्त्रण गर्नुको साँटो समायोजनका नाममा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिरहेको नेविसंघका महामन्त्री कुन्दन काफ्लेले आरोप लगाए ।
उनले भने, ‘सरकार जनताप्रति उत्तरदायी देखिएन, पेट्रोलको भाउ बढ्याबढ्यै छ, यसले गर्दा चौतर्फी महंगी बढ्न थालेको छ । तर सरकारलाई कुनै वास्ता छैन ।’ उनले मूल्यबृद्धि फिर्ता नभएसम्म सडक आन्दोलन जारी राख्ने दावी गरे ।
नेविसंघले कम्युनिस्ट सरकारका नाममा सर्वसत्तावाद लाद्न खोजिएको, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारी निर्णय र मंहगीविरुद्ध खवरदारी गर्न नेविसंघ आन्दोलनमा होमिएको संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
यस्तै नेविसंघले पार्टी नेतृत्वले बहुमतका नाममा सिंगो पार्टीलाई नै कमजोर बनाएको भन्दै विरोध जनाएको छ । ‘यो सरकारको मात्र होइन, हाम्रै पार्टी नेतृत्वको पनि विरोधमा निकालिएको जुलुस हो’, केन्द्रीय सदस्य भट्टले भने, ‘नेतृत्वले आफू बलियो हुने तर पार्टीलाई भने कमजोर बनाउने खेलमा लाग्नुभएको छ ।
बहुमतको डन्डा देखाएर पार्टी कमजोर बनाउने काम सभापतिले गरिरहनुभएको छ ।’ प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो ।