पेरिसडाँडा परिवर्तनकी साक्षी
सुशीला रोकालाई कमरेड शब्द असाध्यै मन पर्छ ।
आफूलाई ‘कमरेड सुशीला’ भनेर बोलाएको झन् मन पर्छ ।
अझ देशका शक्तिशाली कमरेडहरूले ‘गुड’ गर्दै (हात मिलाउँदै) ‘के छ सुशीला कमरेड ? ’ भन्दा त उनका खुशीका खुट्टा भुइँमा हुँदैनन् ।
उनी नौ वर्षदेखि पेरिसडाँडामा कमरेडहरूको सरसंगत र चिया सेवामा छिन् । त्यही पेरिसडाँडा, जो तत्कालीन माओवादी केन्द्रको मुख्यालय थियो र अहिले नवगठित नेकपाको कार्यालयमा फेरिइसकेको छ ।
कुनै बेलाको गुलजार, ‘हरिलोभरिलो’ र माओवादीमय पेरिसडाँडा अहिले करिब-करिब उजाड छ । र, भर्खर-भर्खर सुरु भएको छ, ‘नेकपा’मय नयाँ आउजाउ । चिया पकाएर नेता-कार्यकर्तालाई खुवाउने सुशीला पेरिसडाँडाकी यस्ती साक्षी हुन्, जसले माओवादी पार्टीका एक-एक उतारचढाव नियालेकी छिन्, तिनको हिस्सा भएकी छिन् । यद्यपि, उनी राजनीतिक विश्लेषण गर्न जान्दिनन् । न उनी माक्र्सवाद, लेनिनवाद, माओवादजस्ता शब्दहरूको अर्थ जान्दछिन्, न आउँदै गरेको समृद्धिकै भेउ पाएकी छिन् । उनी त बस आफ्नो काम इमानदारीपूर्वक गर्न जान्दछिन् । काम अर्थात् चिया पकाएर ‘सर्भ’ गर्नु ।
गत आइतबार पनि पेरिसडाँडास्थित पूर्वमाओवादी हेडक्वार्टरमा सुशीला चिया पकाउँदै थिइन् । मुख्यालय सुनसान थियो । कार्यालयका सुरक्षार्थ खटिएका दुई जना सैनिक गेटमा उभिएर मोबाइल चलाइरहेका थिए । मान्छेहरू फाट्टफुट्ट कार्यालयभित्र छिरिरहेका थिए, निस्किरहेका थिए । कार्यालयका ढोका प्रायः बन्द थिए । ट्रेड युनियन कार्यालय पनि खाली-खाली थियो । क्यान्टिनमा बसेर चारपाँच जना युवा गफिइरहेका थिए । चौरमा पाँचसात जना युद्धकालका घाइतेहरू गर्मागर्मी बहस गरिरहेँझैँ देखिन्थे ।
साँझमा भेटिएकी थिइन्, सुशीला । मुख्यालयको तेस्रो तलाको बरन्डामा । बरन्डासम्म आइपुग्ने भर्याङ छेउको सानो कोठामा थिए, एउटा ग्यास चुलो, केही थान कप, प्लेट, चम्चा, अनि चिनी र चियापत्तीका बट्टाहरू ।
जेठ ३ गते माओवादी र एमालेबीच एकता भई नयाँ पार्टी जन्मियो- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पेरिसडाँडालाई नयाँ पार्टीले पनि आफ्नो एउटा मुख्यालय बनायो । पार्टीको नाम लेखेर नयाँ बोर्ड टाँसिएको छ, परैबाट देखिने गरी । अरू त पुरानै छन् । सुशीलाको चिया-कक्ष पनि पुरानै छ ।
पार्टी एकतादेखि सुशीला खुशी छिन् । भन्छिन्, ‘पार्टी ठूलो भएपछि मात्र चाहेको काम गर्न सक्छ । दुई पार्टी मिलेर ठूलो भएपछि जनताका मागहरू पूरा गर्न सजिलो हुन्छ ।’
जसले एक दशक माओवादी मुख्यालयमा चिया बाँडिन् अनि एकता र टुटफुटका सुखदुःख देखिन्न, नेताका हातमा देशको भविष्य छ, मेरो हातमा छ चियाको कप
सुशीला दिनभरि पार्टी कार्यालयमै हुन्छिन् । नेता-कार्यकर्ताका लागि चिया बनाउँछिन् । कोठा-कोठामा पुर्याउँछिन् । जुठा गिलास उठाउँछिन्, धोइपखाली गर्छिन् । यत्तिकैमा दिन बित्छ । २०६६ सालदेखि उनी पेरिसडाँडामा कमरेडहरूको चिया सेवामा छिन् ।
सहयोगीका रूपमा उनी कोटेश्वरस्थित माओवादीको हेडक्वार्टर आइपुगेकी थिइन् । बस्नका लागि त्यहाँ उनलाई एउटा कोठा दिइयो । जिम्मेवारी पनि दिइयो, चिया बनाउने । पार्टी कार्यालयमा सुरु-सुरुका दिन सम्झिन्छिन् उनी, ‘पहिला-पहिला मान्छेहरूको आवतजावत बाक्लो हुन्थ्यो । नेता, कार्यकताको भीडभाड हुन्थ्यो । चिया पकाएर खुवाउनै महाभारत हुन्थ्यो ।’
देशका ठूलठूला नेताहरूलाई उनी हरेक दिनजसो देख्थिन् । नेताहरू चिया मगाउँथे । उनी पुर्याइदिन्थिन् । ‘प्रायः नेता ‘ग्रिन टी’ खानुहुन्थ्यो,’ उनी सम्झन्छिन्, ‘अहिले पनि कार्यालय आउँदा ग्रिन टी नै रोज्नुहुन्छ ।’
चिया दिइसकेपछि सुशीलासँग नेताहरूले हात मिलाउँथे । सुप्रिमो प्रचण्डदेखि डा. बाबुराम भट्टराई, मोहन वैद्यजस्ता ठूला नेताहरूले दह्रो गरी हात मिलाएको अmभै सम्झना छ उनलाई । ‘हालखबर सोध्नुहुन्थ्यो, परिवारबारे सोध्नुहुन्थ्यो,’ सुशीला दंग पर्दै सुनाउँछिन्, ‘त्यतिबेला त मेरो खुट्टा भुइँमा हुँदैनथ्यो । अब त सबै कथाजस्तो लाग्छ । नेताहरू कता-कता पुग्नुभयो, कता-कता ।’
उनी पेरिसडाँडा आइपुग्दा यहाँ चहलपहल, चमकदमक उल्कै थियो । माओवादी पार्टीको शानमान बेग्लै थियो । ‘म यहाँ आउँदा पूर्वलडाकुहरू पनि थिए,’ सुशीला स्मृतिमा फर्कन्छिन्, ‘उनीहरूले पनि काम गर्थे । कार्यालयका हरेक काम हामी मिलेर गथ्र्यौं ।’ पूर्वछापामार, प्रंशसक, भ्रातृ संगठनका कार्यकता, नेताहरू आइरहने हुनाले त्यतिबेला कार्यालय भरिभराउ हुने गरेको उनी बताउँछिन् । मान्छेहरूको चहलपहल, आवतजावतले पेरिसडाँडा रौनकमय भएको इतिहास उनको सम्झनामा ताजै छ । ती दिनहरूमा उनलाई चिया बनाउनै भ्याई-नभ्याई हुन्थ्यो । दिनमा सयौँ कप चिया पकाउँथिन् ।
समयक्रममा माओवादीको कान्ति हराउँदै जान थाल्यो । सुशीला भन्छिन्, ‘पछिपछि पार्टी फुट्दै जान थाल्यो । पीएलएहरू पनि हटे । नेताहरू पनि कम आउन थाले । कार्यालय शून्य हुँदै गयो ।’
दशक अवधिमा सुशीलाले माओवादीभित्रका अनेक टुटफुट-एकता र उकाला-ओराला देखिन् । २०६५ सालमा तत्कालीन माओवादी र एकताकेन्द्र-मसाल एक भए, मातृका यादव बाहिरिए । २०६९ मा मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्द बाहिरिए अनि २०७३ मा थापा र यादव फेरि भित्रिए । २०७२ सालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि बाहिरिए ।
नेताहरू बाहिरिँदा सुशीलालाई पनि नरमाइलो लाग्थ्यो, जुट्दा उनी पनि रमाउँथिन् । ‘देश विकास गर्नका लागि नेताहरू एकजुट भएर अघि बढ्नुपर्छजस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘मातृका कमरेडहरू फर्की आउनुहुन्छ भन्ने कुरामा ढुक्क थिएँ ।’
दिनहरू बित्दै गए । पार्टीभित्र असन्तुष्टिहरू बढेको उनले पनि ख्याल गरिन् । नेताहरूलाई लाग्ने विभिन्न आरोप उनले पनि सुनिन् । जनताका आकांक्षा र अपेक्षालाई बिर्सिएको, सहिदका सपना कुल्चिएको आदि-आदि । अनि, नेताहरूले अकुत सम्पत्ति कमाएको, पजेरो र प्राडोमा रमाएको जस्ता नरमाइला कुराहरू सुन्दा उनी दुःखी हुन्थिन् । तर, उनी आफ्ना नेताहरू बिग्रिए भन्ने पत्याउँदिनथिइन् । उनलाई उनीहरूमाथि अटल विश्वास थियो । ‘विरोधीहरूले त जे पनि भन्छन् नि,’ उनी भन्छिन्, ‘तर, हाम्रा नेताहरू जनताको दुःखको मुक्तिका लागि लडेका थिए, उनीहरू कसरी बिग्रिन सक्छन् ? ’
धमाधम नेताहरूले पार्टी किन छोडिरहेका छन् ? सुशीलाले कुनै मेसो पाइनन्, चिया मात्रै बनाइरहिन् । तर, पार्टी फुट्दै र टुक्रँदै गएकोमा उनी निराश थिइन् । ‘देश परिवर्तन गर्नेभन्दै ज्यान माया मारेर हिँडेका थिए मान्छेहरू,’ उनी भन्छिन्, ‘जनताको सपना पूरा नभई पार्टी फुट्दा नमज्जा लाग्ने रहेछ ।’
मोहन वैद्यले पार्र्टी छोडेको दिन उनी धेरै बेर रोइन् । चिया बनाउने त्यही सानो कोठामा बसेर उनी एक्लै रोएकी थिइन् । भन्छिन्, ‘वैद्य बा पार्टीबाट जाँदा मनै थाम्न सकिनँ ।’
वैद्यको नेतृत्वमा पार्टीको ठूलो समूह फुटेर गएको थियो । ‘अब माओवादीले देश विकास गर्न सक्दैन जस्तो लाग्यो,’ उनी सम्झन्छिन्, ‘सोच्दा पनि दिक्क लाग्थ्यो ।’
सुशीलाको पति निश्चल पनि छेउमै बसेका छन् । माओवादीका पूर्वलडाकु र जनआन्दोलनका घाइते हुन् उनी । पार्टी फुट्दै जान थालेपछि युद्धकालमा देखाइएका देश विकास र गरिबी मुक्तिका सपना पूरा होलान् भन्ने कुरामा उनलाई शंका लाग्न थालेको थियो । साना-साना कुरामा चित्त दुखाएर कसैले पनि पार्टी नछाडे हुन्थ्यो भनेर सोच्थे । पार्टी फुटेपछि यसको शक्ति र प्रभाव कम हुने उनले ठानेका थिए । उनले पार्टीका पक्षमा सोचे । तर, पार्टीको लोकप्रियता घट्दै थियो । पार्टी चोइटिँदै जान थालेपछि सुशीलाले निकालेको निष्कर्ष थियो- कम्युनिस्ट पार्टीहरू मतभेद हुनासाथ फुटिहाल्दा रहेछन् ।
पार्टी टुक्रिँदै जान थालेपछि पार्टी कार्यालयमा चहलपहल घट्न थालेको थियो । सुशीलाले फुर्सद पाउन थालेकी थिइन् । नेताहरू कार्यालयमा कम आउन थालेकाले चिनी, चियापत्तीको खपत कम हुन थालेको थियो । ‘पार्टी कार्यालयमै गर्नुपर्ने जरुरी मिटिङमा मात्र नेताहरू पेरिसडाँडा आउन थाले,’ उनी सम्झन्छिन्, ‘मैले पनि धेरैलाई चिया पकाएर खुवाउनु परेन । साह्रै नमज्जा लाग्छ अहिले पनि।’
माओवादी शान्ति प्रक्रियामा आएपछि अब देशको मुहार फेरिन्छ भन्ने सोचेकी थिइन् उनले । ठूला नेताहरू नियमित राजनीतिक भेटघाटमा हुँदा सुशीला खुशी हुन्थिन्, ‘नेताहरूले काम गरिरहेका छन््, देश विकास हुने भयो ।’ तर, फुट्दै जान थालेपछि देश विकासमा पार्टीले काम गर्ला भन्ने कुरामा उनलाई शंका लाग्न थाल्यो । ‘कहिलेकाहीँ त लाग्थ्यो- फुटेर गएका माओवादी नेताहरू फर्केलान् र देश विकासमा लाग्लान्,’ उनले थपिन्, ‘अब त एमालेसँग एकता भयो, फर्कलान् भन्ने आश पनि छैन ।’
हो, सुशीलाले हेर्दाहेर्दै माओवादी पार्टीका नेताहरू तितरबितर भए । र, एमालेसँगको एकतापछि पेरिसडाँडामा केपी ओली, माधव नेपालहरू आउन सुरु गरेका छन् ।
काठमाडौँ, साँखुकी सुशीलाले २०५८ सालदेखि माओवादी पार्टीप्रति झुकाव राख्न थालेकी हुन् । गाउँमा माओवादीले विभिन्न कार्यक्रम गर्थ्यो । उनी पनि सहभागी हुन्थिन् । नेताहरू समानता, मुक्ति, परिवर्तनलाई जोडेर भाषण गर्थे । उनलाई लाग्थ्यो- ‘माओवादी पार्टीले नै यो देश बदल्ने हो ।’ उनले माओवादीलाई आफ्ना तर्फबाट सहयोग गर्न थालिन् ।
२०६० सालमा उनको विवाह माओवादी छापामार निश्चलसँग भयो । नुवाकोटका निश्चललाई पार्टीले काठमाडौँ खटाएको थियो । साँखुमा कार्यक्रम गर्न जाँदा उनको भेट सुशीलासँग भयो । उनीहरू प्रेममा परे र बिहे गरे ।
ठमेलमा भिनाजुको पसलमा काम गर्थिन् सुशीला । ट्रेकिङ सामग्रीको पसल थियो त्यो । पार्टीलाई आवश्यक पर्ने सामान किन्न माओवादी नेता त्यहाँ पुग्थे । माओवादीले त्यसबेला जुत्ता, ब्याग, स्लिपिङ ब्याग आदि सामान किन्ने गरेको सुनाउँछिन् उनी । त्यहीँ उनको माओवादी नेताहरूसँग चिनजान हुन थालेको थियो । ‘सामान किन्न प्रायः कृष्णप्रसाद सापकोटा ‘दीप’ कमरेड आउनुहुन्थ्यो,’ उनी सम्झन्छिन्, ‘२०६० सालमा माओवादीलाई सामान बेचेको भन्दै भिनाजुलाई सेनाले पक्रियो । त्यसपछि म पसल जान छाडेँ । भिनाजु छ महिनापछि छुट्नुभएको थियो ।’
२०६२÷६३ मा माओवादीसहितको सहभागितामा भएको जनआन्दोलन सफल भयो । मूलधारको राजनीतिमा माओवादी नयाँ शक्तिका रूपमा उदायो ।
माओवादीको पार्टी कार्यालय बुद्धनगरमा थियो, जसलाई २०६६ सालमा पेरिसडाँडा सारियो । त्यसैबेलादेखि सुशीलाले चिया बनाइरहेकी छिन्, हेडक्वार्टरमा । ‘भिनाजुले माओवादीका नेताहरूसँग भनसुन गरिदिएपछि पार्टी कार्यालयमा सहयोगीका रूपमा काम पाएँ,’ उनी भन्छिन् ।
खानेबस्ने बन्दोबस्त पार्टी कार्यालयमै भयो । निश्चल पनि कार्यालय सहयोगीका रूपमा पार्टी कार्यालयमै बस्न थाले । उनी बगैँचामा काम गर्छन् । बिहान-बेलुका पार्टी कार्यालयको ढोका लाउने र उघार्ने गर्छन् । जनआन्दोलनका घाइते हुन् उनी । ‘त्यत्रो वर्ष युद्ध लड्दा केही भएन,’ उनी भन्छन्, ‘जनआन्दोलनको बेला गोंगबुमा प्रहरीसँग भिड्दा मेरो एउटा आँखा गुम्यो । अर्को आँखामा पनि अहिले जलबिन्दुको औषधि हालिरहेको छु ।’
जेठ ३ गते मदन-आश्रित स्मृति दिवसमा माओवादी र एमालेबीच पार्टी एकता भयो । यो एकतालाई पेरिसडाँडामा बसेर सुशीला र निश्चल दुवैले टेलिभिजनमा हेरे । ‘कुनैबेला एमाले माओवादीको कट्टर दुश्मनजस्तो थियो,’ सुशीला भन्छिन्, ‘अहिले दुई पार्टीको एकता भयो । मैले त सोचेको पनि थिइनँ यस्तो दिन आउला भनेर । तर, दुई ठुला कम्युनिस्ट पार्टी एक भई अगाडि बढेकोमा खुशी छु । मिलेर गए भने देश विकास हुन्छ ।’
कम्युनिस्ट पार्टीहरू एकपछि अर्को गर्दै फुटेको अवस्थामा माओवादी र एमालेको एकता हुनुले राम्रो सन्देश दिएको बताउँछिन्, सुशीला । ‘अब दुई पार्टी मिलेर देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ,’ उनी भन्छिन् ।
सुशीलालाई लाग्छ- पार्टी एकता गरेर जानु माओवादीको बाध्यता हो । दोस्रो संविधानसभा निर्वाचनमा पार्टी तेस्रो भएपछि माओवादी शक्ति क्षीण भएको थियो, लोकप्रियता घट्दै थियो । कमजोर भएको अवस्थामा अर्काे ठूलो कम्युनिस्ट पार्टीसँग एकता गरेर माओवादीले सही निर्णय लिएजस्तो लाग्छ, सुशीलालाई । ‘अब पार्टी ठूलो भएपछि देश परिवर्तन गर्न सजिलो हुन्छ,’ उनी भन्छिन्, ‘सानो पार्टी भएपछि राजनीतिमा गाह्रो हुन्छ । पहिला पार्टी ठूलो थियो । नेताहरू पनि त्यहीअनुसार आफ्ना माग राख्थे । पछिल्लो समय त माओवादीको कुरै सुन्न छाडिएको थियो ।’
फुटेर गएका पूर्वमाओवादीका सबै समूह नवगठित नेकपामा मिल्न आए हुन्थ्यो भन्ने कामना गर्छिन्, सुशीला । तर, फर्केलान् भन्ने आश चाहिँ छैन उनलाई । ‘सबै एउटै पार्टीमा हुनुभयो भने त पार्टी पनि बलियो हुन्थ्यो,’ उनी भन्छिन्, ‘देशको विकास गर्न सजिलो हुन्थ्यो ।’
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली जेठ ४ गते पेरिसडाँडा पुगे । उनको स्वागतमा सुशीला पनि गेटमा उभिइन् । ‘उहाँ मुख्यालय घुम्नुभयो, ग्रिन टी खानुभयो,’ सुशीला भन्छिन् ।
अहिले नेताहरूले जनतालाई जे-जे सपना देखाएका छन्, तिनलाई पूरा गर्नुपर्ने सुशीला बताउँछिन् । ३६ वर्षीया उनलाई आफ्नो जीवनकालमा देशले काँचुली फेरेको हेर्न पाइन्छ भन्ने आशा छ । ‘अब त आफ्नै सरकार छ,’ सुशीला भन्छिन्, ‘स्थिरता पनि छ । अब नेताहरूले देशको भविष्य बनाउनुपर्छ ।’
देशको भविष्यमाथि आशावादी दुई छोरीकी आमा सुशीला आफूहरूको भविष्य चाहिँ पार्टीको हातमा रहेको बताउँछिन् । निश्चल र उनको संयुक्त भनाइ छ- ‘हाम्रो भाग्य र भविष्य पार्टीकै हातमा छ ।
’ कमरेड सुशीला हातमा कप बोक्दै र हाँस्दै भन्छिन्, ‘मेरो हातमा त अहिले यी यही एउटा कप छ ।’