समातिने डरले धमाधम निर्माण सुरु
बेंसीसहर : लमजुङमा वर्षौंसम्म पुल निर्माण अलपत्र पारेर बसेका दुई निर्माण कम्पनीले काम सुरु गरेका छन् । समयमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया थालेसँगै उनीहरू पुल निर्माणमा जुटेका हुन् ।
निर्माण सुरु गरेको सात वर्षसम्म सम्पन्न नगरी बेवारिसे बनाइएको बेंसीसहर–११ र दोर्दी–४ जोड्ने दोर्दीखोला पुल निर्माण सुरु गरिएको हो । पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाइ गरेको थियो । डिभिजन सडक कार्यालयका साथै स्थानीय तह, सांसद तथा स्थानीयले पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनी काम छाडेर हिँडेका थिए ।
०६८ चैतमा शिलान्यास गरिएको उक्त पुल निर्माण सम्पन्न हुनुपर्ने म्याद ०७० असारसम्म थियो । तर, ०७५ जेठ लाग्दा पनि पुलको आधा काम भएको छैन । गृहमन्त्री रामबहादुर थापा बादलले समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएपछि लमजुङ प्रशासनले उक्त कम्पनीको खोजी गरेको थियो । ‘हामीले कारबाहीका लागि प्रक्रिया अघि बढाएका थियौं, उहाँहरू (ठेकेदर कम्पनी) काम गर्न थाल्नुभयो’, लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने, ‘अब नियमित काम गरेर पुल सम्पन्न गर्छु भनेर प्रतिबद्धता जनाएका छन् ।’ उनले पुल निर्माण अनुगमन गरिएको र फेरि काम छाडेर गए पक्राउ गर्ने चेतावनी निर्माण कम्पनीलाई दिइसकेको बताए ।
०६८ चैतमा शिलान्यास भएर काम अघि बढेकोमा अहिलेसम्म खोलामा ३ वटा पिलर, एकातर्फ केही ‘सपोर्टिङ वाल’ र एकतिहाइ भागमा ट्रस राखेर ढलान गरिएको छ । ७५ मिटर लम्बाइ र ६ दशमलव २५ मिटर चौडाइको यो पुल बनाउन करिब ४ करोड रुपैयाँ लागत रहेको छ । पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाइ गरेको डिभिजन सडक कार्यालय दमौलीका प्रमुख डिभिजन इन्जिनियर भानु जोशीले बताए । लामो समयसम्म पनि पुल नबनाउने ठेकेदार कम्पनीलाई कारबाही नगरी म्याद थप गरिरहने डिभिजन सडक कार्यालयको नियतमा भने जिल्लावासीले असन्तुष्टि जनाउँदै आएका थिए ।
दोर्दीखोलामा पुल नबन्दा सो करिडोरमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना प्रभावित बन्दै आएका छन् । निर्माण गर्दा ढुवानीका साधन वारपार गर्नुपर्ने दोर्दीखोलामै पुल नबन्दा निर्माण ढिलाइ भएको हो ।
पुल नबन्दा जलविद्युत्का निर्माण सामग्री भिœयाउन समस्या परेको आयोजना सञ्चालकले बताएका छन् । यसले आयोजनाको निर्माणमा पनि ढिलाइ भएको छ । समय लम्बिँदै गएकाले जलविद्युत् आयोजनालाई आर्थिक भार थपिँदै गएको छ । वर्षायाममा बाढी आइरहने र हिउँदमा आफैंले राखेका ह्युमपाइप फुट्ने हुनाले निर्माणस्थलसम्म सहजै निर्माण सामग्री पु¥याउन नसकिएको पिपुल्स हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक केशवबहादुर रायमाझीले बताए ।
दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले उक्त पुल नबन्दा निर्माणाधीन आयोजनामा मात्र नभई सिंगै गाउँपालिकाका बासिन्दा समस्यामा परेको बताए । पुल नबन्दा दोर्दी क्षेत्रका नौथर, पाचोक, गौंडा, ढोडेनी, फलेनीका स्थानीयलाई आवतजावत, खाद्यान्न ढुवानीमा समस्या परेको उनले बताए ।
राइनास नगरपालिकाको बोराङखोला पुल निर्माण अलपत्र छाडेर हिँडेको निर्माण कम्पनी पनि काममा फर्किएको छ । गत आर्थिक वर्षको असारमा काम सक्नेगरी ठेक्का लिएको अधिकारी निर्माण सेवा गोरखा काम छाडेर हिँडेको थियो । काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने सरकारको तयारीसँगै उक्त कम्पनीका व्यवसायी डालनाथ अधिकारी काममा फर्किएका छन् । ‘अधिकारीले प्रशासनमै आएर काम गर्ने प्रतिबद्धता जनाई काममा फर्किएका हुन्’, प्रजिअ ढकालले भने, ‘यही असारमा काम सक्छु भनेका छन्, काम भएन भने कारबाही गर्छौं ।’