दोषी जोगाउँदै डीडीसी

दोषी जोगाउँदै डीडीसी

 काठमाडौं : दुग्ध विकास संस्थानको व्यवस्थापन पक्षसँग मिलोमतो गरी सञ्चालक समितिले दूधमा फ्याट चोरी गर्ने दोषीमाथि कारवाही अगाडि बढाउन सकेको छैन। अनुगमन गर्ने समयमै दोषी भेटिने कर्मचारीमाथि कडा कारवाही गर्ने आश्वासन दिएको समितिले मिलोमतोमा उन्मुक्ति दिन खोजेको हो। सञ्चालक समिति र व्यवस्थापन पक्षको मिलोमतोमा दोषीलाई उन्मुक्ति दिँदा भ्रष्ट कर्मचारीको मनोबल झन बढेको छ।

गोप्य सूचनाका आधारमा सञ्चालक समितिका अध्यक्ष रघु गौतमले आफैं डीडीसीमा तलदेखि माथिसम्म कर्मचारीकै मिलोमतोमा भएका भ्रस्टाचारका विषयमा अनुगमन गर्न लगाएका थिए। अनुगमनपश्चात दोषी देखिएका कर्मचारीमाथि कडा कारवाही गर्ने र कारवाही गर्न नसके अख्तियार गुहार्ने उनले बताएका थिए।

अनुगमनका क्रममा बालाजुस्थित आयोजनाबाट बजारमा जाने दूधमा २.८ प्रतिशत हाराहारी मात्रै फ्याट पाइएको थियो। सरकारको मापदण्डअनुसार उपभोक्ताको हातमा पुग्ने दूधमा अनिवार्य रूपमा तीन प्रतिशत फ्याट हुनै पर्छ।

यसरी आफैंले अनुगमन गर्न लगाएर कम परिमाणमा फ्याट भेटिएको घटनामा अध्यक्ष गौतमले दोषीमाथि कारवाही नगरी ढाकछोप गर्नतर्फ लागेका छन्। अध्यक्ष स्वयंले अन्नपूर्ण पोस्ट्को कार्यालयमा आएर कर्मचारी दोषी रहेको स्वीकार गरेका थिए। तर, दोषीमाथि कारवाही नगरी ढाकछोप गर्नुमा उनको पनि मिलोमतो भएको आशंका गरिएको छ।

‘अध्यक्ष गौतमको विपक्षमा उभिएको डीडीसी कर्मचारी युनियनले उनलाई हटाउन पहिलेदेखि विभिन्न तहमा लबिङ गर्दै आएका थिए’, डीडीसी स्रोतले भन्यो, ‘पछिल्लो पटक दूधमा फ्याट घटाउने विषयले उनलाई निकै असहज भएको थियो। पछिल्लो पटक यस विषयलाई लिएर उनलाई व्यवस्थापन र कर्मचारी युनियनबाट ठूलो दबाब आएको थियो। अनुगमनपश्चात घटना सामसुम पार्न धेरै हदसम्म चलखेल भएको हो।’

यसअघि पनि सञ्चालक समितिकै विशेष अनुगमनका क्रममा दही चोरी हुने गरेका घटना बाहिर आएका थिए। तर सञ्चालक समितिले दोषीमाथि कारवाही नगरी उन्मुक्ति दिएको थियो। त्यसै गरी २०६३ सालदेखि २०७३ सम्म उत्पादन भएका सामग्री बिक्री गरी दुई करोड ४२ लाख रुपैयाँ हिनामिना गरेका ४२ जना कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने प्रयास अध्यक्ष गौतमले गरेका थिए। त्यसमध्ये करिब ३७ जनाले ९० लाखभन्दा बढी रकम डीडीसीलाई बुझाए पनि बाँकी ठूलो रकम असुल गर्न हालसम्म समितिले चासो देखाएको छैन।

आफैंले अनुगमन गर्न लगाएर कम परिमाणमा फ्याट भेटिएको घटनामा अध्यक्ष गौतमले दोषीमाथि कारवाही नगरी ढाकछोप गर्नतर्फ लागेका छन्।

अनुगमन गर्नुअघि अध्यक्ष गौतमले केही पत्रकारलाई बोलाएर त्यसबारे जानकारी दिएका थिए। कर्मचारीको मिलोमतोमा डीडीसीमा भइरहेको नीतिगत घोटाला र किसानदेखि आयोजना तहसम्म छानविन गरिरहेको र दोषीमाथि कडा कारवाही गर्न लागेको जानकारी दिँदै उनले दिएको र सञ्चारकर्मीसँग अभियानमा सघाउन आह्वान गरेका थिए।

यसैबीच हेलो सरकारले यस विषयमा थप छानविन गरी दोषीमाथि कारवाही अगाडि बढाउन उद्योग मन्त्रालयलाई शुक्रबार नै पत्र काटेको छ। ‘अध्यक्षकै स्वीकारोक्तिसहित आमसञ्चारको यस रिपोर्टले भ्रष्ट क्रियाकलाप उजागर गरेको छ’, हेलो सरकारको ट्विटर ह्यान्डलबाट जारी सूचनामा भनिएको छ, ‘यसबारे थप अनुसन्धान र दोषीमाथि कारवाही गर्न उद्योग मन्त्रालयमा पत्राचार गरिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.