स्पेनलाई युवा खेलाडीको भर

स्पेनलाई युवा खेलाडीको भर

म्याड्रिड : सन् २००८ देखि सन् २०१२ सम्मको अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको प्रदर्शन उत्सर्गमा थियो। यही अवधिमा हो, स्पेनले लगातार दुई युरोपियन च्याम्पियनसिप र एउटा विश्वकप फुटबलको उपाधि जितेको पनि। आठ वर्षअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा स्पेनले उपाधि जित्दा फुटबलको नयाँ शैलीलाई पनि स्थापित गरेको थियो, ‘टिकी-टाका’।

आफ्ना सहकर्मीसँग छोटो तर, नियमित पास खेल्दै बल आफ्नो नियन्त्रणमा राख्ने र गोल गर्ने ‘टिकी-टाका’ शैली निकै प्रभावकारी देखिएको थियो। तर, त्यसको चार वर्षपछि सन् २०१४ को ब्राजिल विश्वकपसम्म आइपुग्दा स्पेनको त्यो शैली असफल नै देखियो। 

प्रतियोगिताको आफ्नो पहिलो खेलमै स्पेन नेदरल्यान्ड्ससँग ५-१ गोलको भारी अन्तरले पराजित हुन पुग्यो। अन्य खेल पनि गुमाउँदा साबिक विजेता टोलीको हैसियतमा ब्राजिल विश्वकपमा सहभागी भएको स्पेन समूहगत चरणभन्दा अगाडि बढन सकेन। त्यसको चार वर्षपछि रुस विश्वकपको तयारीमा जुटेको स्पेनिस टोलीमा धेरै परिवर्तन भएको छ। ‘टिकी-टाका’ शैलीबाट देशलाई विश्वकप फुटबलको पहिलो उपाधि दिलाएका सीमित खेलाडी मात्रै रुस विश्वकपका लागि घोषित २३ सदस्यीय प्रारम्भिक टोलीमा परेका छन्। 

अझ महत्वपूर्ण कुरा, प्रशिक्षक जुलेन लोपेटेगुइले स्पेनको खेल्ने शैली पनि परिवर्तन गरिदिएका छन् र त्यो शैलीमा स्पेन फेरि सशक्त देखिएको छ। आफ्नो यही नयाँ शैलीमा स्पेनिस टोली पछिल्लो १८ खेलमा लगातार अपराजित छ। प्रशिक्षक लोपेटेगुईले स्पेनले खेल्नै शैली केही छिटो र ‘डाइरेक्ट’ बनाएका छन्। स्पेनिस फुटबलमा अहिलेको टोली र लोपेटेगुईको नेतृत्वलाई नयाँ युगको थालनीको रूपमा हेरिएको छ। पूर्वप्रशिक्षक लुइस अरागोन्जको नेतृत्वमा हात पारेको सन् २००८ को युरोकप उपाधि तथा भिसेन्ट डेल बस्कको प्रशिक्षकत्वमा हात पारेको सन् २०१० को विश्वकप र सन् २०१२ को युरो कप उपाधिलाई स्पेनिस फुटबलमा सफल युग मानिन्छ। ‘टिकी-टाका’ शैलीको झल्को यतिबेला पनि स्पेनिस क्लब बार्सिलोनाको खेल्ने शैलीमा पाइन्छ। 

दक्षिण अफ्रिकामा खेल्दा सुरुआती ११ मध्ये सात र युरोकप-२०१२ खेल्दा सुरुआती ११ मध्ये ६ जना खेलाडी बार्सिलोनाका थिए। प्रशिक्षक लोपेटेगुईले अहिले अपनाएको शैली अर्को स्पेनिस क्लब रियल म्याड्रिडसँग निकै मिल्दोजुल्दो छ भने रुस विश्वकपका लागि घोषित प्रारम्भिक टोलीमा समेटिएका खेलाडीमा पनि रियल म्याड्रिडकै खेलाडीको वर्चस्व देखिएको छ। प्रशिक्षक लोपेटेगुईले आफ्नो टोलीमा अनुभवी र नयाँ खेलाडीको राम्रो संयोजन गरेका छन्।

 उनले देशलाई पहिलो विश्वकप उपाधि दिलाउने आन्द्रेस इनिएस्टा, जेरार्ड पिके, सर्जियो रामोसलगायतका पुराना खेलाडीसँगै इस्को र मार्को असेन्सियोजस्ता खेलाडीलाई पनि नियमित अवसर दिइरहेका छन्। टोलीमा अनुभवी र प्रतिभाशाली युवा खेलाडीको बाहुल्य नै आगामी विश्वकपमा स्पेनको बलियो हतियार हो। यिनै खेलाडीको उपयुक्त समायोजनमार्फत नै स्पेनले रुस विश्वकपमा आठ वर्षअघिको इतिहास दोहोर्‍याउने योजना बुनेको छ। चेल्सीबाट आफ्नै देशको क्लब एट्लेटिको म्याड्रिड फर्किएपछि पुन: पुरानै फर्ममा देखिएका डिएगो कोस्टा र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग आबद्ध गोलरक्षक डेभिड डी जियाको प्रदर्शनले पनि स्पेनी टोली निकै बलियो देखिएको छ।

स्पेनको खेल

समूह ‘बी’

जुन १५ : पोर्चुगलविरुद्ध

२० जुन : इरानविरुद्ध

२५ जुन : मोरोक्कोविरुद्ध

स्पेन

विश्वकपमा सहभागिता : १५औं पटक

उपाधि : १ पटक

फिफा वरीयता : ८ स्पेनको प्रारम्भिक टोली

गोलरक्षक : डेभिड डी जिया (म्यानचेस्टर युनाइटेड), केपा अरिजाब्लागा (एथलेटिक बिल्बाओ) र पेप रेइना (नापोली)।

रक्षक : डानी कार्भाजल (रियल म्याड्रिड), अल्भारो ओड्रिओजोला (रियल सोसिएडाड), जेरार्ड पिके (बार्सिलोना), सर्जियो रामोस (रियल म्याड्रिड), नाचो (रियल म्याड्रिड), सेसर एज्पिलिक्युटा (चेल्सी), जोर्डी अल्बा (बार्सिलोना) र नाचो मोनरियल (आर्सनल)।

मिडफिल्डर : सर्जियो बासक्वेट्स (बार्सिलोना), कोके (एट्लेटिको म्याड्रिड), सल निग्वेज (एट्लेटिको म्याड्रिड), थिएगो अलकान्टरा (बायर्न म्युनिख), डेभिड सिल्भा (म्यानचेस्टर सिटी) र आन्द्रेस इनिएस्टा (बार्सिलोना)।

स्ट्राइकर : इस्को (रियल म्याड्रिड), मार्काे असेन्सियो (रियल म्याड्रिड), लुकास भाजक्वेज (रियल म्याड्रिड), इयागो अस्पास (सेल्टा भिगो), रोड्रिगो मोरेनो (भ्यालेन्सिया) र डिएगो कोस्टा (एट्लेटिको म्याड्रिड)।

प्रशिक्षक : जुलेन लोपेटेगुई।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.