नेपाली फुटबलका विदेशी प्रशिक्षक
सन् १९८२ मा अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको नेपाली फुटबलले समयसमयमा विदेशी प्रशिक्षकलाई पनि भित्र्याउँदै आएको छ। नेपाल आएका अधिकांश प्रशिक्षक स्वयंसेवकका रूपमा आएका थिए। सन् १९८२ देखि अहिलेसम्म १५ जना विदेशी प्रशिक्षक नेपाली फुटबलसँग जोडिए। तै पनि नेपाली फुटबलले अविस्मरणीय उपलब्धि भने हासिल गर्न सकेको छैन।
राम्रा प्रशिक्षक ल्याउन निकै खर्चिलो हुने भएकै कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले अधिकांश स्वयंसेवक प्रशिक्षकलाई मात्र नेपालमा भित्र्याउँदै आएको छ। नेपालजस्तो राष्ट्रले आफ्नै खर्चमा विश्वस्तरीय प्रशिक्षक ल्याउनु चुनौतीपूर्ण भए पनि फिफा र एएफसीको सहयोग पाउँदै आएको एन्फाले स्तरीय प्रशिक्षक भित्र्याउनु असम्भव भने छैन। तर अहिलेसम्म आएका अधिकांश प्रशिक्षक विभिन्न राष्ट्र र निकायको सहयोगमा मात्रै नेपालमा आएका छन्।
रुडीदेखि फ्लाथसम्म
सन् १९८२ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको एसियाली खेलकुद (एसियाड) मै नेपाली फुटबलले विदेशी प्रशिक्षक पाएको थियो। जर्मन प्रशिक्षक रुडी गुथेनफोर्डको प्रशिक्षणमा रहेको नेपाली टोलीले उक्त प्रतियोगितामा कुवेतलाई १–० गोलले पराजित गरेको थियो। पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली फुटबलले हासिल गरेको उत्साहजनक परिणाम थियो, त्यो।
दिल्ली एसियाडमा नेपाली टोलीलाई ऐतिहासिक सफलता दिलाएका रुडी चार वर्षपछि सन् १९८६ पुनः नेपाल आए। लगत्तै कोरिया एसियाडमा नेपाली टोलीलाई सम्हाले। दुवै एसियाडमा नेपालको सहभागिता सहभागितामा सीमित भए पनि नेपाली फुटबलका लागि भने अविस्मरणीय रह्यो। उनलाई अहिलेसम्म नेपाल आएका प्रशिक्षकमध्ये उत्कृष्ट प्रशिक्षक मानिन्छ।
यसैगरी सन् १९८४–८५ मा अर्का जर्मन प्रशिक्षक जोचेन फिग नेपाली टोली सम्हाल्न नेपाल आए। उनी एक वर्ष नेपाल बस्दा सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीले स्वर्ण पदक जित्न सफल भयो। त्यसबेला फिगलाई नेपाली प्रशिक्षक धीरेन्द्र श्रेष्ठले सहयोग गरेका थिए। दक्षिण एसियाली खेलकुदको यो स्वर्ण नेपाली फुटबलले जितेको पहिलो फुटबलको उपाधि पनि हो।
रुडीपछि चिनियाँ प्रशिक्षक चुई जेङ सी र भारतीय प्रशिक्षक केएम राजेन्द्र र जोई किन्नरले पनि नेपाली टोली सम्हाले। यी तीनै प्रशिक्षकले सन् १९८० को अन्त्यतिर छोटो अवधिका लागि नेपाली टोलीलाई हेरेका थिए। किन्नरले सन् १९८७ को दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी प्रशिक्षण दिएका थिए। उनको प्रशिक्षणमा नेपालले रजत पदक जितेको थियो।
सन् १९८९ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को टेक्निकल डाइरेक्टरका रूपमा जर्मन नागरिक होल्गर ओभरम्यान नेपाल आए। उनले प्रत्यक्ष रूपमा नेपाली टोलीलाई त सम्हालेनन् तर, नेपाली फुटबलको विकासमा भने महŒवपूर्ण योगदान पुर्याए। नेपाली युवा टोलीका संयोजक रहेका ओभरम्यानकै प्रयासमा सन् १९९० को प्रारम्भमा गोलरक्षक उपेन्द्रमान सिंह, मिडफिल्डर राजीव नेपाली र स्ट्राइकर हरि खड्काले पश्चिम जर्मनीको पोटास फुटबल क्लबमा प्रशिक्षणको अवसर पाए। ओभरम्यानकै सक्रियतामा यू–१९ टोलीले १९९२ मा जर्मनीको भ्रमण गरेको थियो, जुन नेपाली टोलीले गरेको अहिलेसम्मकै एक मात्र युरोप भ्रमण हो।
सन् १९९५ को अन्त्यतिर ब्राजिलियन प्रशिक्षक सान्तोस नेपाल आए। उनी पहिलो साफ च्याम्पियनसिपका लागि आएका थिए। सन् १९९६ मा निर्धारित साफ च्याम्पियनसिप आयोजना नभएपछि उनी फर्किए। यसैगरी सन् १९९८ मा युगोस्लाभ प्रशिक्षक बोजान मिलेसेभिच नेपाल आए। उनी एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीलाई प्रशिक्षण दिन आएका थिए। उनले केही समय युवा तथा राष्ट्रिय टोली हेरेपछि स्वदेश फर्किए।
त्यसपछि नेपालले रुसी प्रशिक्षक आक्रामोसेकीबाट टोलीको भाग्य अज्माउन खोज्यो। तर, उनी पनि विगतका अन्य प्रशिक्षककै निरन्तरता मात्र बने। उनको कार्यकालमा नेपालले ठूलो कुनै प्रतियोगितामा सहभागिता जनाएन। त्यसपछि नेपाली टोलीलाई हेर्न कोरियाली प्रशिक्षक यो की ह्योङ नेपाल आए। सन् १९९८ को बैंकक एसियाडका लागि टोली सम्हालेका ह्योङ विदेशी प्रशिक्षकमध्ये ‘हाई प्रोफाइल’ का प्रशिक्षक मानिन्छन्। स्पेनिस क्लब रियल म्याड्रिडका चर्चित स्ट्राइकर राउल गोन्जालेजका ‘ट्रेनर’ ह्योङ सन् १९९४ मा आयोजित विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाली टोलीका सहायक प्रशिक्षक थिए।
कोरियाकै महिला टोलीका मुख्य प्रशिक्षक ह्योङको प्रशिक्षणमा बैंकक एसियाडमा नेपालले जापानसँग ५–० र भारतसँग १–० को हार बेहोरेको थियो। सन् २००३ को ढाका साफ च्याम्पियनसिपका लागि उनी दोस्रो चोटी नेपाल आएका थिए। दुई साताको विशेष प्रशिक्षणपछि ढाका पुगेको नेपाली टोली पहिलो चरणबाटै बाहिरिएको थियो। यसपछि अर्का जर्मन प्रशिक्षक टोस्टेन स्पिल्टरले नेपाली टोली सम्हाले। उनको प्रशिक्षणमा भारतको गोवामा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुग्यो।
इङ्ल्यान्ड तथा पोल्यान्डका प्रशिक्षक ज्याकले नेपाललाई दक्षिण एसियाको शीर्ष स्थानमा पुर्याउने घोषणा पनि गरे। तर सन् २०१३ देखि दुई वर्ष नेपालमा बस्दा उनको घोषणा घोषणामै सीमित भयो।
दुई वर्ष नेपाली टोली सम्हालेका इङ्ल्यान्डका स्टेफन कन्स्ट्यान्टाइनले सन् १९९९ मा नेपालमै आयोजना भएको दक्षिण एसियाली खेलकुदमा रजत र एन्फा कोकाकोला आमन्त्रण फुटबलमा फाइनलसम्म पुर्याउन भूमिका खेले। उनीपछि नेपाली राष्ट्रिय टोली सम्हाल्न आए, जापानका तोसिहिको सियोजावा। जापानी फुटबल संघबाट ‘एस’ क्लासको लाइसेन्स प्राप्त तोसिहिको टोकियो एमेच्योर लिग क्लब नागायोका मुख्य प्रशिक्षक थिए। सन् २००५ को साफ गोल्डकपमा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो।
त्यसपछि पालो आयो भारतीय प्रशिक्षक श्याम थापाको। नेपाली मूलका भारतीय प्रशिक्षक थापाले युवा टोलीको जिम्मा लिए पनि केही समय राष्ट्रिय टोली पनि हेरे। उनको प्रशिक्षणमा नेपालले यू–२० एसियन फुटबल च्याम्पियनसिपको अन्तिम चरणको प्रतिस्पर्धामा भियतनामलाई पराजित गरेको थियो। यसैगरी राष्ट्रिय टोलीका लागि सन् २००६ को एएफसी च्यालेन्जकपमा सेमिफाइनलसम्म पुगेको थियो। यस्तै सन् २०१० को विश्वकप छनोट चरणमा सहभागी भए पनि छनोट हुन असफल भएको थियो।
थापापछि नेपाल आएका जर्मन प्रशिक्षक थोमस फ्ल्याथको प्रशिक्षणमा पनि नेपाली टोलीले कुनै जादु गर्न सकेन। उनको छोटो प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप र एएफसी च्यालेन्ज कप खेलेको थियो।
नेपाली फुटबलले प्रयोग गरेको अर्का विदेशी प्रशिक्षक हुन्, ज्याक स्टेफानोस्की। इङ्ल्यान्ड तथा पोल्यान्डका प्रशिक्षक ज्याकले नेपाललाई दक्षिण एसियाको शीर्ष स्थानमा पुर्याउने घोषणा पनि गरे। तर सन् २०१३ देखि दुई वर्ष नेपालमा बस्दा उनको घोषणा घोषणामै सीमित भयो। यो अवधिमा नेपाली फुटबलले उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन। उनको प्रशिक्षकमा सन् २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्म पुगेको थियो भने अर्को वर्ष भएको एएफसी च्यालेन्जकपमा नेपाल छनोट हुन असफल भएको थियो।
यसैगरी यस वर्षको विश्वकप छनोटका लागि सन् २०१४ मा नेपालले छनोट चरणका खेलमा सहभागी भए पनि छनोट हुन सकेन। सन् २०१५ मा ज्याकले नेपाल छाडेपछि केही समय ध्रुव केसीले राष्ट्रिय टोली सम्हाले। उनको प्रशिक्षणमा नेपालले छिमेकी मुलुक भारतसँग मैत्रीपूर्ण खेल मात्रै खेल्यो। त्यसपछि नेपाली टोलीलाई सम्हाल्न आए, प्याट्रिक असेम्स। बेल्जियन प्रशिक्षक असेम्सको प्रशिक्षणमा नेपाल भारतमा भएको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको थियो।
प्रतिमहिना सात लाख रुपैयाँ पारि श्रमिक पाउने गरी नियुक्त भएका असेम्स (एन्फाले सहयोग नगरेको भन्दै स्वदेश फर्किएका थिए। उनले तीन महिना बाँकी छँदै नेपाली टोली छाडेपछि पूर्वफुटबलर बालगोपाल महर्जन प्रमुख प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि नेपालले जितेको थियो।
नेपाली फुटबल टोलीका अर्का विदेशी प्रशिक्षक हुन्, ग्योटोकु कोजी। जापानको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी कोजीले २०१६ देखि नेपाली टोलीलाई हेर्दै आएका छन्। उनको प्रशिक्षणमा नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो उपाधि जितेको छ। दुई वर्षअघि भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको थियो। सुरुमा एक वर्षका लागि नेपाल आएका कोजीको कार्यकाल एक वर्ष थपिएको छ।
नेपाली प्रशिक्षक पनि सफल
सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुद नेपालमै आयोजना भएको थियो। त्यो प्रतियोगिताका लागि रुडी गुथेनडोर्फले मुख्य प्रशिक्षण दिए पनि उनलाई नेपाली प्रशिक्षक धीरेन्द्र श्रेष्ठले सहयोग गरेका थिए। श्रेष्ठ नेपाली फुटबल सम्हाल्ने पहिलो नेपाली प्रशिक्षक पनि हुन्।
यसैगरी धनबहादुर बस्नेतले सन् १९९३ को ढाका साफमा नेपालले स्वर्ण जित्दा टोलीसँगै थिए। उनले विभिन्न समयमा गरी तीन पटक राष्ट्रिय टोली सम्हाले। यस्तै महेश्वर मुल्मी अर्का नेपाली फुटबल प्रशिक्षक हुन्। उनले होल्गर ओभरम्यानसँग मिलेर नेपाली फुटबललाई अगाडि बढाउन योगदान पुर्याएका थिए। मुल्मीले नेपाली फुटबलमा लामो योगदान पुर्याए। सन् १९९१ को दक्षिण एसियाली खेलकुददेखि राष्ट्रिय टोलीमा आबद्ध भएका मुल्मीले त्यसपछि पनि पटकपटक राष्ट्रिय टोलीलाई हेर्ने अवसर पाए। ओभरम्यानले टेक्निकल डाइरेक्टरका रूपमा काम गरेकाले पनि मुल्मीले राष्ट्रिय टोली सम्हाल्ने अवसर पाए। उनले पनि तीन पटक राष्ट्रिय टोली सम्हाले।
यसैगरी योगम्बर सुवाल, भीम थापा, विराटकृष्ण श्रेष्ठ, कृष्ण थापा, राजुकाजी शाक्य, ध्रुव केसी र बालगोपाल महर्जनले पनि राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक भएर काम गरे। यी स्वदेशी प्रशिक्षकले पनि कुनै न कुनै अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएका छन्।