जिल्ला अस्पतालमा आैषधि अभाव ः माग करोडको, आपूर्ति लाखको मात्र

जिल्ला अस्पतालमा आैषधि अभाव ः माग करोडको, आपूर्ति लाखको मात्र

दार्चुला  ः जिल्ला अस्पताल दार्चुलामा बिरामीले लामो समयदेखि औषधि अभाव झेल्दै आएका छन् । अस्पतालमा दैनिक कम्तीमा ६०–७० जना बिरामी आउँछन् तर उनीहरू रित्तो हात फर्किन बाध्य रहेको जनाइएको छ ।

औषधि अभावमा रित्तै फर्किनुपरेको मालिकार्जुन गाउँपालिका–२ का मोहनसिंह धामीले बताए । ‘सरकारी अस्पतालमा अभाव भएपछि निजी मेडिकलबाट महँगोमा औषधि किन्नुपर्छ’, उनले भने ।

सरकारले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि निःशुल्क वितरणको जिम्मेवारी दिएको छ । तर, सिटामोलबाहेक अन्य औषधि निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको अर्का बिरामी सुरेन्द्र सिंहले बताए । उनका अनुसार यो सिजनमा अधिकांश स्थानीय यार्सागुम्बा संकलन गर्न जाने भएकाले लेक लाग्दा प्रयोग गरिने औषधि, रक्तचाप, दादमा प्रयोग हुने क्रिम अभाव छ ।

निःशुल्क उपलब्ध हुने ड्रेसिङका लागि घाउ सफा गर्ने एनएस औषधि पनि आकस्मिक कक्षमा उपलब्ध छैन । गर्मी मौसम र अरू सामान्य समयमा चाहिने अत्यावश्यक औषधि अभाव रहेको जनाइएको छ ।

महाकाली नगरपालिका–७ की लक्ष्मी जोशीले अस्पतालमा औषधि नपाएपछि मेडिकलबाट महँगोमा खरिद गरेको सुनाइन् । ‘महँगो औषधि किन्न सक्ने अवस्था छैन, निःशुल्क पाइने औषधि पनि चर्को मूल्यमा मेडिकलबाट किनेर प्रयोग गर्नुपर्ने बाध्यता छ’, उनले भनिन् ।

अस्पतालले टाउको दुख्दा, ज्वरो आउँदा सिटामोल नै दिएर पठाउने गरेको बिरामीको भनाइ छ । ‘अस्पतालले दिएको बिरामी पुर्जा लिएर मेडिकलमा औषधि खरिद गर्न जाँदा पुर्जामा लेखिएका केही औषधि अस्पतालमै हुनुपर्छ भनेर फर्काउँछन्’, मालिकार्जुन गाउँपालिका–३ की सहाना धामीले भनिन्, ‘तर, अस्पताल आएपछि फेरि सकियो भनेर मेडिकलमै फर्काउने गरेको देखेर दिक्क लागेर आउँछ ।’

सलाइन, भाइरल ज्वरोको औषधि, एन्टिबायोटिक, विभिन्न प्रकारका इन्जेक्सन, दुखाइ कम गर्ने र श्वासप्रश्वासमा प्रयोग हुने औषधि अभाव देखिएको छ । कलमिलोसन, डाइजिन ट्याब्लेट, फस्फोमाइड, एसिटाजोलामाइडलगायत दर्जनौं प्रकारका औषधि अस्पतालमा अभाव रहेको औषधि वितरण कक्षका कर्मचारी गोपालसिंह साउदले बताए ।

‘विगत वर्षमा जिल्ला अस्पतालमा औषधि खरिदका लागि १ करोडहाराहारी बजेट आउँथ्यो । मन्त्रालय र विभागलाई जिल्ला अस्पतालमा औषधि अभाव हुन सक्ने भन्दै चालू आर्थिक वर्षको सुरुतमै अस्पतालले जानकारी गराइसकेको होे’, अस्पताल विकास समितिका अध्यक्ष हरकसिंह विष्टले भने, ‘तर, जिल्ला अस्पतालमा आउने बजेट स्थानीय तहहरूमा पठाइसकेको खबर आएपछि औषधिको समस्या हुने गरेको छ ।’

जिल्ला अस्पतालमा सबै ठाउँका बिरामी उपचारका लागि आउने भएकाले जिल्ला समन्वय समितिमार्फत स्थानीय तहहरूको ध्यानाकर्षण गराइए पनि कसैले चासो नलिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल रहेको महाकाली नगरपालिकालाई ९३ प्रकारका औषधि खरिदका लागि १ करोड १३ लाख ४२ हजार बजेट माग गरिएकोमा अहिलेसम्म १३ लाखको मात्रै आएको अध्यक्ष विष्टले बताए । ‘सवा करोडको माग गरिएको छ, १३ लाखको औषधि आएपछि अभाव त हुने नै भयो’, उनले भने ।

महाकाली नगरपालिकाले भने यो शीर्षकमा १३ लाख मात्रै बजेट आएकाले त्यसबराबरको औषधि जिल्ला अस्पताललाई खरिद गरेर दिइसकिएको जनाएको छ । माथिबाटै बजेट नआए अब केही गर्न नसकिने मेयर हंसराज भट्टले बताए ।

जिल्ला अस्पताल प्रशासनले भने औषधि अभाव खासै नरहेको जनाएको छ । ‘त्यत्ति अभावै त छैन तर जति भए पनि पुग्दैन नि बिरामीलाई त’, जिल्ला अस्पताल प्रमुख रविरञ्जन शाहले भने, ‘कुनै सिकिस्त बिरामी आए त्यसका लागि औषधि जगेडा राखेका छाैं ।’ वर्षायाममा महामारी फैलिन सक्ने भएकाले केही अत्यावश्यक औषधि अहिले नै सबै वितरण नगरिएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.