फार्मेसी खुलेपछि ठगीबाट मुक्ति
जुम्ला : व्यथाले च्याप्दै गएपछि गोठीचौर–३ का कृष्णप्रसाद थकालीले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुगेर आफ्नो समस्या राखे। डाक्टरले उच्च रक्तचापको समस्या रहेको सुनाउँदै उनलाई फार्मेसीबाट औषधि लिएर खान तथा आराम गर्न सल्लाह दिए।
डाक्टरको सल्लाहअनुसार उनी औषधि लिन प्रतिष्ठानमै सञ्चालित फार्मेसीमा पुगे। स्वास्थ्य बिमा गरेका कारण उनले त्यहाँबाट औषधि निःशुल्क पाए। डाक्टरले लेखिदिएको सबै औषधि फार्मेसीमा पाएपछि उनी खुसी हुँदै घर फर्किए।
प्रतिष्ठानमा केही दिनअघि फार्मेसी सञ्चालनमा आएसँगै हजारौं बिरामीलाई औषधि खरिद गर्न सजिलो भएको छ। बाहिरका मेडिकलबाट औषधि किन्दा ठगिने समस्याबाट बिरामी जोगिएका छन्।
प्रतिष्ठानमा आउने बिरामीलाई आवश्यक औषधि फार्मेसीबाटै उपलब्ध हुन थालेको छ। यसअघि बिरामीले यहाँ निःशुल्क सरकारी औषधिबाहेक अरू बाहिरका मेडिकलबाट किन्नुपर्ने बाध्यता थियो। तर, फार्मेसी सञ्चालनपछि प्रतिष्ठानका आउने बिरामीले निःशुल्क तथा किन्नुपर्ने सबै प्रकारका औषधि फार्मेसीबाटै लिने गरेका छन्। प्रतिष्ठान आसपास सञ्चालित मेडिकलभन्दा फार्मेसीबाट औषधि किन्दा बिरामीले ५ प्रतिशत स्वतः छुट पाउने व्यवस्था रहेको जनाइएको छ।
‘भारतमा काम गर्दा मेरो हात भाँचियो, त्यहाँ उपचार गर्दा लाखौं खर्च भयो। नेपाल फर्किएपछि घरमा साइकलबाट लड्दा फेरि हात भाँचियो’, तातोपानी गाउँपालिका–३ का स्वास्थ्य विमीत वीर कठायतले भने, ‘प्रतिष्ठानमा आएपछि ५० हजार रुपैयाँबराबरको औषधि निःशुल्क पाउँदा खुसी छु। फार्मेसी सञ्चालन हुँदा सहज भयो, नत्र बाहिरका मेडिकलबाट औषधि किन्दा ठगिने थियौं।’
तातोपानी–७ का लक्षिमन कुँवरले मेडिकलमा जति भन्यो, त्यति पैसा तिर्ने गरेको बताए। उनी हाडजोर्नी तथा नशासम्बन्धी समस्याबाट ग्रस्त छन्। ‘आफू अनपढ भएकाले मेडिकलबाट किनेको औषधिको मूल्य र मिति हेर्न सकिनँ, अरूलाई सोध्न पनि सकिनँ’, उनले भने, ‘हामी ठगिँदै आएका रहेछौं, फार्मेसी सञ्चालन हुँदा प्रस्ट भएँ।’
फार्मेसी सहायक धर्मदत्त हमालका अनुसार प्रतिष्ठानमा उपलब्ध भएअनुसारको निःशुल्क सरकारी औषधि बिरामीलाई उपलब्ध गराइएको छ। ‘अन्य किन्नुपर्ने औषधि फार्मेसीमा उपलब्ध भएसम्म बाहिर रिफर नगरी ५ प्रतिशत छुटमा उपलब्ध गराइन्छ’, उनले भने, ‘फार्मेसी सञ्चालन भएपछि हरेक दिन स्वास्थ्य बिमा गरेका नागरिकले निःशुल्क सेवा पनि पाइरहेका छन्।’
दिनमा १० जनाभन्दा बढी स्वास्थ्य बिमा गरेका र सयौं संख्यामा आउने अन्य बिरामीले निःशुल्क तथा किन्नुपर्ने औषधि सहजै प्राप्त गर्ने गरेको उनले बताए। फार्मेसीबाट बिरामीलाई औषधि दिँदा अनलाइन डाटा इन्ट्री गर्ने गरिएकाले आर्थिक पारदर्शिता हुने उनको भनाइ छ।
प्रतिष्ठानका लेखापाल नन्द तिमल्सिनाका अनुसार फार्मेसीमा सुरुमै ४० लाखबराबरको औषधि भित्रिएको छ। थप औषधि खरिद प्रक्रियामा रहेको उनको भनाइ छ। ‘प्रतिष्ठानमा चल्ने र आवश्यकताका आधारमा औषधि ल्याउँछौं। एकै पटक धेरै ल्याउने हो भने मिति सकिन सक्छ’, उनले भने, ‘प्रतिष्ठानमा औषधि कहिल्यै शून्य मौज्दात हँुदैन।’ उनका अनुसार काठमाडौं, नेपालगन्ज र चितवनबाट ठेक्का प्रक्रियामा प्रतिष्ठानको औषधि खरिद भइरहेको छ।