हङकङमा माओको झापड
गएर आएको पनि महिना दिन नाघिसक्यो, तैपनि स्मृतिको झोलुंगेमा पुन्टे हङकङ हर्दम् फनफनी घुमिरहेकै छ। हङकङको अद्भुत भौतिक समृद्धि, साँगुरो टापुमा पर्यटकहरूको अत्यासलाग्दो भीड, टापुभित्र आफ्नै मनको मिनी टापुमा बसोबास गर्ने नेपालीहरू, दस हज्जार बुद्ध अर्थात् जड मूर्तिमा बुद्धको मुनाफादार व्यापार, स्वागत–अभिनन्दन, पगरी–पुरस्कार, खानपिन र मुस्कान आदान–प्रदान आदि इत्यादि। हुन त म हङकङ गएँ भन्नुमात्रै हो। गएर मैले खालि हङकङको माटोमा खुट्टाटेकेँ र हङकङको आवरण दृश्य झल्याकझुलुक देखेँ। हङकङमा मेरो भेटघाट, उठबस र बातचित भएको त नेपालीहरूसँग मात्र न हो। त्यत्रो पाँच दिनको बसाइमा नेपालीबाहेक मैले जम्मा तीनजना रैथाने चिनियाँसँग एकाध वाक्य बोलेँ।
पहिलो तीन रात बास बसेको होटलकी ‘कि आउटसाइड नो गुड’वाली साहुनीसँग, पछिल्लो दुई रात बास बसेको होटलको अह्ररो पठ्ठोसँग र फरासिली तरकारी व्यापारी तरुनीसँग। हङकङको यात्रा तुरेर होटलबाट बिदा हुनलाग्दा काउन्टरवाले चइना ब्रोलाई मैले शिष्टतावश धन्यवाद भनेँ। तर उसले मलाई बाल खास गरेन। के थाहा, उसको सनातनी संस्कृतिमा सोमत भन्नु नै त्यही निरस मौनता पो हो कि ! एक साँझको कुरा हो। मेरा नेपाली आतिथेय बन्धुहरू ताजा तरकारी किनेर बाटो लाग्दै के थिए तरकारी साहुनीलाई मैले ‘धन्यवाद है नानी’ भनेँ। साहुनी नानी त मेरी बास्सै नेपालीमा छुरा रहिछ। मस्किँदै तीखो न तीखो स्वरमा भनी, ‘राम्रोसँग जाऊ है बाजे !’ ती गरिखाने नानीको मधुर वाणी, सोमत र सद्भावले म त्यसैत्यसै पुलकित भएँ ।
असलमा मेरो हङकङ डुलाइ गठेवामको रहस्यमय एकताजस्तै भयो। कुन बेला के हुने हो पत्तै नहुने। भएपछि ए... यसो पो भयो है ब्रो भनेर घरी प्रसन्न भइने, घरी जिल् परिने। हङकङवासी नेपालीहरू हप्ताको पाँच दिन दिनभरि हड्डी घोटेर जागिरधन्दा गर्छन्। जागिरपछि जब साँझ पर्छ, ती खल्खली स्नान गरेर नानाओली कार्यक्रममा जुट्छन्। हङकङमा गर्नलाई पुग्दो इलम छ, र जीवन अति व्यस्त छ। नाइट लाइफ लामो छ, र छ त्यो गतिमान् एवं जीवन्त पनि। कताकता पाँच–सात माइल परको मानिस सहरी केन्द्रमा आधारातसम्म ढुक्कै बस्छ।
घर जाउँ भन्यो, घडीको सुई नापेर चल्ने आरामदायी बस छिनछनमा ट्याक्क हाजिर हुन्छ, इमानजबानको ख्याल राख्ने समयनिष्ठ रेल टुप्लुक्क आइपुग्छ। यता हाम्रो भद्रगोल गोर्खाराजको दाँजोमा उता हङकङको शान्ति–सुरक्षा अकल्पनीय रूपले राम्रो छ। के बाल, के बृद्ध, के वनिता ती सबै नै रातैभरि एक्लाएक्लै यत्रतत्र निस्फिक्री घुमफिर गर्न सक्छन्। त्यहाँ न अपहरणकारी छ न बलात्कारी छ। त्यहाँ न चोर छ न पाकेटमार। त्यहाँ न चरी छ न घैंटे। त्यहाँ न दीपक मनाङे छ न निशा मुस्ताङे। अहो ! भविष्यदृष्टिका पखेटा चाल्दै बडो आनन्दी मुद्रामा म कल्पिन्छु— हाम्रो चामत्कारिक ओली राजमा दसै वर्षभित्रमा चटके कुरैकुराको रंगीन एवं मुहुनीमय रफ्फुमा स्वर्ग बन्ने हाम्रो नेपाल हङकङजस्तै पो होला कि ! मंगलकामनाकारी मुद्रामा तथास्तु भन्छु, र म आफैंसँग मुसुक्क हाँस्छुृ।
हङकङमा ‘हैन, इलम के पो गरिन्छ हाव ब्रो ?’ भनेर नेपाली बन्धुहरूलाई यसो सेध्नु, उत्तर घच्चीको आउँछ। अक्सर हाम्रो ब्रो बडो सानले भन्छ— ‘आफू त सेक्युरिटीमा पो हाव दाजु।’ झट्ट सुन्दा लाग्छ— यो सेक्युरिटी कुनै उच्च स्तरको, बडो मर्यादित, सम्मानित र दमदार इलम हो। तर जब कुराको चुरो फ्यास्स खुल्छ, मलाई मरिमरी हाँस्न मन लाग्छ। भारतमा जसलाई दरबान भनिन्छ, हङकङमा त्यसलाई खास्सा भाँती पारेर सेक्युरिटी भनिँदो रहेछ। तर स्मरण रहोस् मान्यवर, यो हङकङे सेक्युरिटीको मूल्यवत्तालाई ‘नजरअन्दाज’ गर्न किमार्थ मिल्दैन। कारण हङकङे सेक्युरिटीकोे दम, दाम र सान भारतको दरबान ‘भैया’को भन्दा कता हो कता उच्च र गरिमामय छ।
हङकङको आर्जनका हिसाबले त त्यो केही नै होइन, तर नेपालको आर्जनका हिसाबले यो सेक्युरिटी एक झोला दाम हात लाग्ने कमाउ काम हो। यसो बुझ्दा हङकङमा दुःख लाग्ने कुरा एउटै रहेछ, लाहुरे परिवारका नेपालीहरूले ज्ञान र सीप आर्जनतर्पm खासै ध्यान दिएको छनक पाइएन। सेक्युरिटी वा यस्तै केही खत्र्याकखुत्रुक भयो, आङ ढाक्यो, पेट भर्यो, डकार्यो, दुईचार पैसा जोगाड गर्यो, सकियो। आखिर जसोतसो जिन्दगी त चलेकै छ ! अरू चाहियो के ?
नेपालीहरूको जीवनको सेरोफेरोको घेरो यसो नियाल्नु, हङकङको रैथाने समाज र संस्कृतिमा नेपालीहरू खासै घुलमिल भएझैं लाग्दैन। किन होला ? सायद चिनियाँ भाषाको पर्खाल नाघ्न नखोजेर वा खोजेर पनि भनेजस्तो गरी नसकेर। सायद रैथाने रीतिरिबाजमा अन्तरघुलन हुन नखोजेर वा खोजेर पनि भनेजस्तो गरी पार नलागेर। नेपालीभाषी र रैथानेवासीमाझ अप्ठ्यारो चिनियाँ भाषाको पर्खाल यसै पनि बडो दुरुह छ। र, चिनियाँ रीतिरिवाज र संस्कृतिद्वारा निर्मित मनोवैज्ञानिक दूरी कति कति लामो छ। कुन्नि, यो गोर्खा ब्रोहरूको आ.. जीवन यसै लखरलखर चलिहाल्छ, किन बित्थामा टाउको दुखाइको मगनमस्त सोचाइको नतिजा पो हो कि ! म जान्दिनँ, हङकङवासी दस हजार जडवत् बुद्धहरू जानुन्।
अँ, कारणहरू जेसुकै होऊन्, हङकङे नेपालीहरू भूगोलको साँघुरो टापुभित्र आफ्नै मनको साँगुरो वृत्तमा खुम्चिएर बसोबास गर्दा गर्छन्। चाखलाग्दो कुरा, हङकङ नेपालीहरूका बीचमा एउटा मिनी नेपाल छ। ठ्याक्कै मौलिक नेपालको अरुचिकर कार्बनकपीजस्तो। नेपालमा जति राजनीतिक दल छन्, हङकङमा तिनका त्यति नै अनुयायी संगठन छन्। नेपालमा दलहरूबीच जति अत्यासलाग्दो दूरी र दुच्छर कलह छ, दूरी र कलह हङकङमा त्योभन्दा कम छैन। बरु बढ्तै पो होला कि ! नसुनुभन्दा पनि सुनिहालिन्छ— हङकङमा हाम्रा नेपालीहरूमाझ राजनीतिक मतान्तरको उग्रताले यदाकदा बाहुबली कसरतको औतारसमेत धारण गर्छ।
हङकङका सीमित नेपालीहरूबीच कला र संस्कृतिका सीमित क्रियाकलापहरूमा पनि आपसी खुट्टा तानातानको उद्यम विचित्रको छ। साहित्य–कलाप्रेमी एउटा जत्थाले आज आइन्दा सालिन्दा भूपि दिवस मनाउने भनेर कार्यक्रम बनाउँछ। भोलि अर्काे जत्थाले छापामार शैलीमा सानो झुन्ड बटुलेर पहिलोलाई फ्याट्ट उछिन्दै पहिल्यै भूपि दिवस मनाइसक्छ। बाजी मार्ने त्यसैत्यसै मखलेल, बाजी हार्ने त्यसैत्यसै क्षुब्ध। एवं रीतले हङकङका विभाजित नेपालीहरूमाझ आत्म पहिचानको तृष्णा वा निजी श्रेष्ठताको दाबी वा पारस्परिक निषेधको कथा कम्ती विस्मयकारी छैन।
हङकङवासी हाम्रो मिहेनती नेपाली त्यहाँको अद्भुत विकास र समृद्धिमा आफ्नो दह्रो हात र मनग्गे साथ भएको कुरालाई किमार्थ चानचुने ठान्दैन। एयरपोर्टको विशाल र आँखै तिरिमिरी हुने भौतिक संरचना हेर्दै ऊ घुुटुक्क थुक निल्छ र भन्छ— ‘दाजु, यो एयरपोर्टको निर्माणमा हामी नेपालीको कम योगदान छैन है। तर...’ ऊ सुस्केरा हाल्छ, ‘तर के गर्नु, मूल्यांकन नै छैन।’ अनेक मुखबाट उही कुरो उही अभिप्राय र उही भाकामा सुन्दा आत्मगौरव र सुस्केरामिश्रित यो भाव आम हङकङवासी नेपालीको आदततुल्य थेगो पो हो कि जस्तो लाग्छ। तेर्सो वा ठाडो लम्बेतान एलिभेटर उर्फ उत्तोलक उर्फ बिजुली भर्याङमा सीधा चिप्लिँदै, माथि तानिँदै वा तल झर्दै नेपाली ब्रो भन्छ— ‘सर, यो एलिभेटरमा नेपालीको योगदान कम छैन है।’
ऊ फेरि ‘तर’मा निधार मुजा पार्छ र खिन्नता प्रकट गर्छ— ‘तर के गर्नु, मूल्यांकन नै छैन।’ हङकङवासी ब्रोहरूको यो गर्व र यो गुनासो अन्तहीनरूपले तन्किरहन्छ। पुल देख्यो, उही गर्वबोध। रेलमार्ग देख्यो, उही गुनासो। सुरुङमार्ग देख्यो, उही गर्वबोध। गगनचुम्बी अट्टालिका देख्यो, उही गुनासो। तर लाग्छ, यी भीमकाय संरचनाहरूको कालिगडी र प्राविधिक कर्ममा हाम्रा गोर्खाली सोमहरूको योगदान सायद नगण्य छ। यी प्रियजनहरूको योगदान त मूलतः केवल श्रम र पसिना एवं आँसु र रगतको भेषमा मात्र छ सायद। नेपालीजनहरूको अफ्नो योगदानको मूल्यांकन नभएको यो गुनासोमा लुकिबसेको आक्रोशले कताकता भन्न खोजेझैं लाग्छ— नेपालमा सुषुप्त अवस्थामा थन्किएको पहिचानको आन्दोलन हङकङबाट जंगी जोसका साथ जागेर उठ्न के बेर !
हङकङमा ‘हैन, इलम के पो गरिन्छ हाव ब्रो ?’ भनेर नेपाली बन्धुहरूलाई यसो सोध्नु, उत्तर घच्चीको आउँछ– ‘आफू त सेक्युरिटीमा पो हाव दाजु।’ झट्ट सुन्दा लाग्छ— यो सेक्युरिटी कुनै उच्च स्तरको, बडो मर्यादित, सम्मानित र दमदार इलम हो !
कुरा सुन्दा र गुन्दा छक्कै परिन्छ, हङकङ फालाफाल दौलतको रासमाथि खडा भएको छ। अन्तर्राष्ट्रिय वित्तीय कारोबार, सेवाको बेपार, पर्यटनको चकाचक, पोताश्रयको कुशल सेवा आदि यसका त्यस्ता कामधेनु गाई रहेछन्, जसलाई जति दुह्यो दूध त्यति नै पघ्रिन्छ, त्यो कहिल्यै निख्रिँदैन। र नै त्यहाँ दौलतरूपी दूध नाथे त फालाफाल छ। हङकङमा शिक्षा र स्वास्थ्य सेवा सबै नागरिकहरूलाई लगभग फिरी छन्। राज्यको वार्षिक आयले अपेक्षा र आवश्यकताका सीमा नाघ्दा सरकारलाई पैसा कता थन्क्याऊँ, कता मिल्काऊँको पिरलो हुँदो रहेछ। मालामाल आय फालाफाल हुँदा पोहोर साल नागरिकहरूलाई जनही तीन हजार हङकङ डलर बाँडिएछ। अनि यसपाला प्रतिव्यक्ति पाँच हजार डलर बाँडिने रे।
हाम्रोमा केवल बृद्ध र अशक्तहरूलाई राज्यकोषबाट झिकेर केही हजार रकम बाँड्दा सरकार कत्ति न उदारमना र कृपाकारी ठहरिन्छ। र, यो उदारमना र कृपाकारी चतुरे त्यसैको भरमा चुनाव जितेर घरिघरि सत्ताको तर मार्छ। हेर्नुस्त— यता यस्तो छ, उता त्यस्तो छ ! हाम्रो लाल पगरीधारी वाम सरकारका वचन–प्रवाहमा विकासका तिलस्मी लहर उठेर जब समृद्धिको बाली छेलोखेलो हुन्छ, म ठोकेर भन्छु— उदारता र कृपामा यसले हङकङ सरकारलाई सहजै माथ गर्ने छ। यो नश्वर संसारमा एकबारको जुनीमा नमरी बाँचे कमरेडी पौरखको विरल चमत्कार पक्कै देखिने छ !
हङकङको डुलाइको पहिलो दुई दिन मेरा गाइड थिए— नन्दलाल ठोकर र आमोद राई। दुबै हङकडका नेपाली मास्टर। ठोकर सर रहेछन् सरकारी स्कुलका मास्टर, राई सर अनलाइन कक्षाका। दुवै सर माई डियर। ठोकरले मलाई बडो प्रेमले डोर्याएर समुद्रको किनारमा लगे। आम्मामामा, बाटाभरि आँखाले भ्याउन्जेल जताततै कति कति मानिस ! ती चलायमान जीवात्हरूको गतिमान् लहर मानौं कमिलाको गोलोजस्तो छ। बस चढ्यो, त्यस्तै। रेल चढ्यो, त्यस्तै। एलिभेटर उर्फ उत्तोलक उर्फ बिजुली भर्याङमा त्यस्तै। भूमिगत पथमा त्यस्तै। र, समुद्र किनारमा पनि त्यस्तै। मलाई त मानिसको त्यो सघन र अन्तहीन गोलोमा कतै हराउँला कि, अथबा मेरा गाइड मेरा आँखाबाट छलिएर त्यो गञ्जागोल गोलोमा कतै अन्तध्र्यान पो होलान् कि भन्ने डर लागिरहन्छ। गाइड सरको गतिमान् ढाडमा आँखा नित्य स्थिर गरेर म उनको पछिपछि लुखुरलुखुर हिँडिरहन्छु। मेरा सहगामी लुखुर–लुखुरहरू फाटफुट पश्चिमा गोरागोरी छन्, ठोकर सरको भनाइमा बाँकी सबैजसो विशाल माउभूमिका चिनियाँहरू हुन्। यसपाला हङकङ यात्राको मेरो बिछट्टको अनुभव भन्नु नै चिनियाँ पर्यटकसँगको मेरो मौन तर अर्थपूर्ण सत्संग हो।
मेरो हङकङ अनुभव भन्छ— हाम्रो असल मित्र मुलुकका चिनियाँहरू स्वभावले, संस्कृतिले र प्रस्तुति शैलीले अजीवका जीव हुन्। अचेल चलेको मर्यादित भाषामा तिनलाई पृथक् प्रकृतिका पृथक् मानव भन्नुपर्छ। ती एकआपसमा हम्मेसी बात मार्दैनन्, ती नित्य मौन धारण गर्छन्। केवल तरुनी–तन्नेरी जोडी फर्याकफुरुक र मस्याकमुसुक गर्छन्, पटरपटर बात मार्छन् र छिनछिनमा सेल्फी खिचिरहन्छन्। बाँकी प्रायः सबै नित्यजसो अबाक–अबाक्, एकदम चुपचाप। बिरानो मानिससँग नै किन नहोस्, चक्षु मिलन हुँदा पश्चिमाहरू अभिवादनको अपेक्षा गर्छन्। र, तिनलाई समय हेरी गुड मोर्णिङ–सोर्णिङ केही भन्नुपर्छ। अथवा ‘हाई’ भन्नुपर्छ।
चक्षुमिलनपछि केही नभन्नु बेसोमती हुन्छ, र केही भनेपछि प्रत्युत्तरमा कञ्जुसी गर्नु झनै बेसोमती हुन्छ। तर हाम्रा चिनियाँ मान्यजनहरू ? आ...तिनलाई न हाईको चासो न फाईको मतलव। तिनलाई न सोमत न बेसोमत। ती कि त अभिवादनको प्रत्युत्तरमा गजधम्म मुद्रामा मौन धारण गर्छन् कि अल्छी मान्दै मुसाको जस्तो आवाजमा यसो केही भनिटोपल्छन्। यो त भयो यात्रामा हिँड्दाको कुरा। जब ती समुद्र किनारमा वा बसमा वा रेलमा बस्छन्, ती सबका सब जेबी फोनको बिजुली पर्दामा पत्थरझैं जाम हुन्छन्। र तिनका माझमा सघन सन्नाटा व्याप्त हुन्छ।
अर्काे दिन बिहान म मेरा अर्का माई डियर गाइड अमोद राईको पछि लागेँ । एकाध घण्टा यताउति खत्र्याक–खुत्रुक घुमेपछि मास्टरी धन्दा गरिखाने राई सरले भने— ‘आज दाइलाई चिनियाँ खान्की खिलाउने हो। स्पेसल चिनियाँ खान्की।’ बस्, बस्, देश त हेरिएकै छ, आजलाई मुख पनि राम्रैसँग फेरिने भो ! अलिबेरमा हामी एउटा विशाल चिनियाँ रेस्टुरेन्टमा पस्यौं। सुस्वादु कफीका लागि हुनुसम्म नामी रहेछ त्यो झक्की रेस्टुरेन्ट। र नै कफीबाट हाम्रो खान्कीको विषय प्रवेश भयो। तात्तातो कफीको आनन्दमय चुस्की लिँदै मेरा जिज्ञासु आँखा टेबुल–टेबुलमा सर्दै घुम्न थाले। हैट्, सबै टेबुलमा खान्कीको भयानक रास छ। बंगुरको मासु त गाँठ्ठे, कति कति ! एक नाङ्लो जति ! मेरो सोधाइको जबाफमा राई सरले भने— हो दाइ, यी सबै पर्यटक हुन्। यहाँ एकाध जापानी र कोरियन भए कुन्नि, नत्र यी सप्पै चिनियाँ हुन्। टेबुलका खान्कीका यी पर्वततुल्य रास यिनले खाइसक्छन्, भाइ ? — मेरो प्रश्न। सकेको खान्छन्, नसकेको फाल्छन्।— राई भाइको उत्तर।
कफी दोहोर्याउँदै र खान्की चपाउँदै रेस्टुरेन्टमा हामी झन्डै एक घण्टा बस्यौं। नभन्दै चइना ब्रोहरूले सबैजसो टेबुलमा खान्की खेर फाले। खान्की कति मीठो थियो ! तिनले त्यति नामी र दामी त्यत्रोविधि खान्की खेर फालेको देख्दा मलाई त्यसैत्यसै जङ चलेर आयो। र, मलाई त त्यस्तो मीठो खान्की खाएको नखाएई पो भयो। चीनमा समाजवाद छ भन्ने चर्को प्रचारबाजी छ। चिनियाँ सत्तासीन बोसहरूको भाषामा रैथाने रङको, चिनियाँ बान्कीको समाजवाद ! चिनियाँहरूको खान्कीप्रतिको त्यो निर्मम अनादर भावमा मैले चिनियाँ समाजवादको चरित्र प्रतिविम्बित भएको देखेँ। सक्कली समाजवाद श्रमलाई उच्च मूल्य प्रदान गर्छ।
कारण श्रम सबै उपयोगी र सुन्दर चीजहरूको उत्पादनशील र सिर्जनशील जननी हो। विश्वमा अगणित मानिस आधा पेट खाएर दुःखी जीवन जिउन विवश छन्, र अरू अगणित मानिस भोकभोकै मर्न अभिशप्त छन्। विडम्बनावश, हङकङमा समाजवादको जलप लगाइएको क्रुर चिनियाँ पुँजीवादका धनाढ्यहरू खान्की त्यसरी बर्बाद गर्छन्। श्रमिकको महत्ता र श्रमको मूल्यको मर्म बुझ्ने अध्यक्ष माओ कतै शून्यबाट हठात् अवतरित भए यी खान्कीफालाहरूलाई के गर्दा हुन् ? सके तिनले यिनलाई ‘छ्याङ चुङ, भातमारा लम्पट झ्याम्’ भन्दै देब्रे हातले घुमाएर यिनका गालामा एकएक लबटो दिँदा हुन् ! तर के लाग्छ, बूढा अवतरित भए पो !