उपत्यकामा फोहरको थुप्रो

उपत्यकामा फोहरको थुप्रो

पूर्णप्रसाद मिश्र 

काठमाडौं :  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६३औँ हप्तामा शनिबार  कोटेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत संस्थाका गरी ३७५ भन्दाबढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिए । 

वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा चीनका लागि नेपाली राजदूत एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियन्ताको सहभागिता थियो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२४औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाको वडा नं २ र ४ को सीमा भएर बग्ने कोलमती खोलामा गरियो । 

सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्ने गरी नदी किनारमा थुपारियो । कुहिने फोहर खाडल खनेर पुरियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशीष घिमिरेसहितको समूहसमेत सहभागी थिए । मुहानबाट नै नदी सफा गर्ने अभियानमा सक्रिय रहने अध्यक्ष बस्नेतले  बताए। आगामी शनिबार २२५औँ हप्ताको सफाइ वाग्मतीको मुहान क्षेत्र सुन्दरीजलमा गरिने अभियन्ता पुडासैनीले बताए । 

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर २०० भन्दाबढीको सहभागिता थियो । यस क्षेत्रको सफाइमा पनि स्थानीयवासी नगण्यरुपमा मात्र उपस्थित भए । उपस्थित भएकाले पनि नदीको पुलमा बसेर सफाइ गरेको हेरेको दृश्य देखिन्थ्यो । 

रुद्रमती सफाइको २१८औँ हप्तामा रातोपुल–कालोपुल–सिफलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमै फोहर फाल्ने सिफल क्षेत्रका चार घरलाई प्रहरी बिट रातोपुलले पुर्जी काटेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। 

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, केही विद्यालयलगायतको संस्थागत सहभागितासहित २०० भन्दाबढी अभियन्ताको सक्रियता थियो । 

विष्णुमती सफाइ अभियानको १९०औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ स्थित सिद्धेश्वर क्षेत्रमा जनचेतनामूलक सफाइ गरियो । शनिबारको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता बिजेन लामाले जानकारी दिए। 

सफाइमा नेपाली सेना, दुवै प्रहरी संगठनलगायत ३५० भन्दा बढी अभियन्ताको सक्रियता थियो । आज तीनवटा विद्यालयका बालबालिकासहित शिक्षक शिक्षिकाको पनि सफाइमा सक्रियता थियो । 

मनोहरा नदी सफाइको ६१औँ हप्तामा शनिबार काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी तरकारी बजार क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले जानकारी दिए । सफाइमा १०० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो । 

चक्रपथ सफाइको ५९ औँ हप्तामा एयरपोर्टबाट सिनामंगलसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, काठमाडौँ उपत्यका विकास प्राधिकरणलगायत गरी ४५० भन्दाबढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । शनिबारको सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

उपत्यका विकास प्राधिकरणले चक्रपथ सफाइ अभियानसँगै सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१/३१ मिटर चौडाइमा बनेका संरचना हटाउन नापजाँच सुरु गरेको इञ्जिनियर देवेन्द्रप्रसाद साहुले जानकारी दिए। चक्रपथ आठ लेनमा बिस्तार गर्दा पुग्ने गरी नापजाँच भइरहेको उनले बताए । 

सिनामंगल चोकमा लामो समयदेखि थुपारिएको फोहर आजको चक्रपथ सफाइका क्रममा उठाइयो । यो क्षेत्रमा अझै फोहर बाँकी रहेकाले अर्को हप्ता पनि यहीँ सफाइ गरिने चक्रपथ सफाइ अभियानले जनाएको छ । तिलगंगा क्षेत्र सफाइको १६५औँ हप्ताको कार्यक्रम पनि चक्रपथ सफाइसँगै भएको थियो । 

 महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५९  औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमीला पौडेलले  जानकारी दिए । आलोकनागर सफाइ गर्दै जनचेतनामूलक अभियानसहित कोटेश्वर महादेवस्थान पुगी वाग्मती सफाइ महाअभियानमा सहभागी भएको उनले बताए । सफाइबाट एक मेट्रिक टन फोहर उठाइयो । 

चक्रपथ बाफल खण्ड सफाइको ४१औँ हप्तामा स्युचाटारबाट बाफल पुल क्षेत्रसम्म सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ । 

उपत्यकाका धेरै स्थानमा गरिएको सफाइको फोहर शनिबार उठ्न सकेको छैन । सिस्डोलमा फोहर लैजान समस्या भएकाले फोहर सडकमै थुपार्न बाध्य हुनुपरेको सफाइ अभियानकर्मीको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.