भोलिदेखि काठमाडौंमा भारतीय शैक्षिक मेला
काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि भारत जान चाहने विद्यार्थीलाई आवश्यक जानकारी दिने उद्देश्यले भोलि (आइतबार)देखि दरवारमार्गस्थित अन्नपूर्ण होटलमा शैक्षिक मेलाको आयोजना गरिने भएको छ ।
नेपाल इन्डिया एजूकेसन काउन्सिल (नाइस) ले मेलाको आयोजना गर्न लागेको हो । नाइस उच्च शिक्षा अध्ययनका लागि भारत जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिैंदै आएका व्यवसायीहरुको छाता संस्था हो ।
मेलामा भारतका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा पढाइ भइरहेका विषयको अध्ययन गर्न लाग्ने शुल्क, कलेज तथा विद्यार्थीले विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धि योजना, ती विषयको अध्ययनपछि रोजगारीको सम्भावना लगायतका विषयमा जानकारी दिइने नाइसका अध्यक्ष द्धिराज शर्माले पत्रकार सम्मेलनमा बताए ।
मेला दुई दिनसम्म चल्नेछ । भारत जान चाहने विद्यार्थीलाई विगत दश वर्षभन्दा लामो समयदेखि परामर्श दिंदै आएको परामर्श व्यवसायी तथा कलेजका प्रतिनिधीले मेलामा विद्यार्थी तथा अभिभावकको जिज्ञासा मेटाउने नाइसका महासचिव राजेश चापागाइले बताए ।
मेलामा तीस भन्दाबढी भारतका शैक्षिक संस्थाको प्रतिनिधित्व हुने पत्रकार सम्मेलनमा नाइसकै उपाध्यक्ष रमेश जोशीले जानकारी दिए ।
पछिल्लो समयभारत नेपाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनेको छ । तर भारत जान चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने कानुनी व्यवस्था नभएका कारण वार्षिक रुपमा कति विद्यार्थी भारत जान्छन् भन्ने एकिन तथ्यांक छैन । अध्यक्ष शर्माका अनुसार अहिले वार्षिक दश हजार विद्यार्थी भारत जाने प्रारम्भिक अनुमान छ ।
भारतमा आठ सय भन्दाबढी विश्वविद्यालयहरु छन् । जस अन्तर्गत ३८ हजार भन्दाबढी कलेजहरु सञ्चालनमा छन् । नाइसका अनुसार भारत विश्वमा सबैभन्दा धेरै शैक्षिक संस्था भएको तेश्रो ठूलो मुलुकको रुपमा पर्दछ ।