लोक गायक लामिछाने र संगीतकर्मी राजभण्डारी सम्मानित
भक्तपुर : लोक गायक बुद्धिकृष्ण लामिछाने र वरिष्ठ संगीतकर्मी रोशन राजभण्डारी सम्मानित भएका छन्। भक्तपुर सांगीतिक समाजले आफ्नो प्रथम वार्षिक साधारणसभाको अवसर पारेर शनिबार लोक गायक लामिछाने र वरिष्ठ संगीतकर्मी राजभण्डारीलाई सम्मान गरेको हो।
‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’,‘पिंढीमा बसेर, मेरी आमा कुर्दिहुन् मलाई सम्झेर’ जस्ता लोकप्रिय गीत गाएका लामिछाने र भक्तपुरका वरिष्ठ संगीतकर्मी राजभण्डारीलाई समाजको तर्फबाट वरिष्ठ गायक प्रेमध्वज प्रधानले दसदस हजार नगदसहितको सुशील ढुंगेल साहित्य संगीत सम्मान प्रदान गरेका हुन्।
उक्त सम्मानका साथै लोक गायक लामिछानेलाई कार्यक्रममा सहभागी विद्युतीय सामग्री व्यवसायी रोशन भोयद्यो र रुकेश रञ्जितले थप पाँच हजार नगद पुरस्कार दिएका छन्।
कार्यक्रममा लोक गायक लामिछानेको सम्मानमा गायक रोशन धौभडेलले लामिछानेका तीनवटा गीत गाए। त्यस्तै रोशन राजभण्डारीको सम्मानमा उनले संगीत भरेको एउटा गीत दृष्टि सुवेदीले गाइन्। कार्यक्रमका प्रमुख अतिथि प्रेमध्वज प्रधानको सम्मानमा कपिल कसपालले प्रधानको एउटा गीत गाएका थिए।
उक्त अवसरमा वरिष्ठ गायक प्रधानले आफूहरुको जमानामा भन्दा अहिले गीत संगीतको क्षेत्रमा प्राविधिक रुपले धेरै सजिलो भएको बताए। तैपनि गीत संगीतमा साधना अति आवश्यक भएको उनको भनाइ थियो।
‘गायकले आफ्नो एउटा गीत गाउँदा अरुको तीनवटा गीत सुन्नुपर्छ’, वरिष्ठ गायक प्रधानले भने, ‘गायकले आफ्नो गलालाई निखार्न दैनिक रियाज गर्न भुल्नुहुन्न।’
कार्यक्रममा स्थानीय शिक्षासेवी शिवप्रसाद मुनंकर्मीले भक्तपुरका गायकगायिकालाई सम्मान गर्न अक्षयकोष स्थापनाको लागि भक्तपुर सांगीतिक समाजलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।