गाउँसभामा संसद्को झल्को

गाउँसभामा संसद्को झल्को

गजुरी (धादिङ) : हलको सबै ठाउँमा सिँगारपटार गरिएको छ। विद्यालयको पुरानो हल भए पनि पर्दा÷टेन्ट हालेर चिटिक्क बनाइएको छ। हलको अगाडिपट्टि बनाइएको स्टेजमा सभाध्यक्षको कुर्सी राखिएको छ। छेवैमा गाउँपालिका उपाध्यक्ष र कार्यकारी अधिकृतका लागि छुट्टै बस्ने ठाउँ बनाइएको छ।

हलमा सबै वडाका वडाध्यक्ष, उपाध्यक्ष, गाउँसभाका सदस्य र कर्मचारी तोकिएको आ–आफ्नै स्थानमा बसिरहेका थिए। उनीहरू सबै तेस्रो गाउँसभामा प्रारम्भको प्रतीक्षामा थिए। जब गाउँपालिका अध्यक्ष एवं तेस्रो गाउँसभाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत सभाहल प्रवेश गरे, सबै जना उठेर सम्मान प्रकट गरेलगत्तै राष्ट्रिय गान बज्न सुरु भयोे। राष्ट्रिय गान सकिएलगत्तै सभाध्यक्ष बस्नेतले तेस्रो गाउँसभा प्रारम्भ भएको जानकारी गराए।

सभा प्रारम्भ भएलगत्तै गजुरी गाउँपालिका सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७५ लाई वडाध्यक्ष एवं गाउँसभा सदस्य चूडामणि कँडेलले रोस्टममा गएर प्रस्तुत गरे। कँडेलले प्रस्तुत गरेको नियमावलीको पक्षमा गाउँसभा सदस्य कौशिला सेढाईंले रोस्टममा पुगेर नियमावलीको औचित्य प्रस्ट्याउँदै समर्थन गरिन्। सभाध्यक्ष बस्नेतले प्रस्तुत विधेयकमा संशोधन प्रस्ताव नपरेकाले हुन्छ भन्ने पक्ष र हुन्न भन्ने विपक्षमा हात उठाउन लगाई हुँदैन भन्ने पक्षमा हात नउठेकाले विधेयक सर्वसम्मतिले स्वीकृत भएको जानकारी दिए।

यो दृश्य थियो धादिङको गजुरी गाउँपालिकाको तेस्रो गाउँसभाको। स्थानीय सरकारको रूपमा रहेको गाउँपालिकाले आफ्नो गाउँसभालाई संसद्को झल्को दिने गरी प्रस्तुत गरेको थियो। जननिर्वाचित प्रतिनिधिले शपथ खाएको १ वर्ष पुगेकै दिन पारेर गाउँकार्यपालिका सञ्चालन गर्न विभिन्न ९ वटा विधेयकलाई संसदीय तरिकाले हुन्छ र हुन्न भन्ने ध्वनिमतका आधारमा पारित गरिएको थियो।

नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम स्थानीय तह पनि स्थानीय सरकारकै रूपमा रहने भएकाले गाउँसभालाई संसद्को रूपमा सञ्चालन गरेको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताइन्। उनले भनिन, ‘स्थानीय सरकार सञ्चालन ऐनको सभा सञ्चालन कार्यविधिअन्तर्गत व्यवस्था गरेबमोजिम संसद् सञ्चालन गरेका हौँ।’

गाउँसभा संसदीय तरिकाले सम्पन्न गर्ने गजुरी धादिङको एक मात्र गाउँपालिका हो। अन्य गाउँपालिका र नगरपालिकामा पहिले गाउँ विकास समितिकै संरचनामामा गरिएअनुसार गाउँसभा सञ्चालन भएको थियो।

गाउँ संसद्बाट गजुरी गाउँपालिका सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, गाउँ कार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक, उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको विधेयक, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, कृषि व्यवासाय प्रवद्र्धन गर्न बनेको विधेयक, सहकारी विधेयक र विपद जोखिम न्यूनीकरण गर्न तथा व्यवस्थापन गर्न बनेको विधेयक ध्वनि मतका आधारमा पारित गरिएको छ। गाउँपालिकाका प्रशासकीय प्रमुख देवीलाल सापकोटाका अनुसार स्थानीय सरकार भनेर संविधानले किटान गरेकाले संसदीय अभ्यास गरेको बताए।

गाउँ कार्यपालिका सदस्य तथा गाउँ सभा सदस्य कविता वरुवालले संसद भन्ने सुनेको मात्र भए पनि आफंैले सहभागी भएर विधेयक पास गर्न पाउँदा खुसी लागेको बताइन्। बरुवालले भनिन्, ‘व्यवस्थापिका संसद् बैठक कस्तो हुन्छ होला भन्ने लागेको थियो, अहिले आफ्नै गाउँको सभामा संसद् बैठकको शैलीमा सञ्चालन गरिरहँदा धेरै कुरा सिक्ने मौका पाएको छु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.