ढिलासुस्ती गर्ने ठेकेदारलाई हर्जना
पोखरा : मादी गाउँपलिकाको घुम्ले बजारनजिक मादी नदीमाथि ६ वर्षअघि निर्माण सुरु भएको पुल अझै बनेको छैन। डिभिजन सडक कार्यालय पोखराले उक्त पुल निर्माण गर्न लोकप्रिय शंकरमाली जेभी निर्माण कम्पनीलाई २०६९ असारमा ठेक्का लगाएको थियो। त्यही कम्पनीको ढिलाइले यतिका समयसम्म पनि पुल निर्माण पूरा नभएको हो।
डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार पहिलोपटक दिइएको २०७१ पुसम्मको म्यादसमेत नाघेपछि २०७३ माघसम्म सम्पन्न गर्न समय थपिएको थियो। त्यो मौकामा पनि काम नसकेको ठेकेदार कम्पनीलाई सडक कार्यालयले ५५ लाख रुपैयाँ हर्जना ठेकिसकेको छ। ५ करोड ५० लाख रुपैयाँको ठेक्कामा अहिलेसम्म हर्जनाबापत ३७ लाख रुपैयाँ कटाइसकिएको जानकारी पनि खत्रीले दिए। उनले भने, ‘३ करोड ७८ लाख रुपैयाँको काम भइसकेको छ, त्यति भुक्तानी गर्नुपर्नेमा ३७ लाख रुपैयाँ कट्टा भएको छ।’
सार्वजनिक खरिदसम्बन्धी कानुनले कुल ठेक्का रकमको १० प्रतिशत हर्जना ठेक्न सकिने व्यवस्था अनुसारै लोकप्रिय शंकरमाली जेभीलाई ५५ लाख जरिवाना तोकिएको जानकारी खत्रीले दिए। उनकै भनाइमा पुलका पिलरहरू निर्माण भइसकेका छन्, ३ स्ल्याबमध्ये एउटामात्रै हाल्न बाँकी छ। पोखराबाट लमजुङसम्मै पुग्ने सडकको मादी नदीमा पुल नहुँदा बर्खाका बेला मोटर गाडी तर्न सक्दैनन्।
पछिल्लो समय सरकारले ठेकेदारहरूको ढिलासुस्तीप्रति गम्भीर चासो देखाएको छ। कास्कीमा ठेकेदारका कारण ढिलासुस्ती देखिएको प्रतिनिधि विकासे काम घुम्ले बजारनजिक मादी नदीमाथिको पुल देखिएको छ। क्रोनिक बनेको विकासे योजनाहरूको छिटो पूरा गर्न कस्सिएको कास्की प्रशासनले घुम्लेको पुल छिटो सक्ने गरी ताकेता गर्न सडक कार्यालयलाई निर्देशन दिइसकेको छ।
ठेकेदारको ढिलासुस्तीले पूरा हुन नसकेको कास्कीको अर्काे योजना पोखरा लेकसाइड सडक किनारको सौन्दर्यकरण हो। तीन वर्षअघि ठेक्का लगाइएको पर्यटकीय केन्द्र लेकसाइड सडकको सौन्दर्यकरणको काम अझै सकिएको छैन। ७३ चैतभित्र सक्ने गरी सडक डिभिजन कार्यालय पोखराले २०७२ साल फागुनमा हिन्दुज एन्ड ठोकर निर्माण सेवालाई ठेक्का लगाएको थियो।
सडकको दायाँबायाँ पैदलपेटी (फुटपाथ) ढुंगैढुंगाको छपनी छाप्ने, चौतारीहरू चिटिक्क पार्ने, ट्राफिक संकेतहरू राख्ने ठेकेदारलाई जिम्मा थियो। सहिदचोकदेखि हल्लनचोकसम्म गर्नुपर्ने उक्त काम यतिका समयमा आधाभन्दा बेसीमात्रै सकिएको छ। डिभिजन सडकका प्रमुख खत्रीका अनुसार उक्त ठेक्काको पनि पटकपटक म्याद थपिएको छ। ‘बेलामा काम नसकेको हुँदा हर्जना पनि लगाएका छौं’, उनले भने। उनले २० लाख रुपैयाँ हर्जना ठेकेको जानकारी दिए। पूर्व सांसद बहादुर लामासमेतको लगानी रहेको हिन्दुज एन्ड ठोकर कम्पनीले उक्त सडक सौन्दर्यीकरणको ठेक्का लिएको थियो। २०७४ असार मसान्तसम्म थपिएको म्यादमा पनि काम नसकेपछि कम्पनीलाई डिभिजन सडक कार्यालयले हर्जना लगाएको हो।
विश्व बैंकको सहयोगमा सडक डिभिजन कार्यालय पोखराले फुटपाथमा ढुंगा छाप्ने योजना बनाएको हो। ठेकेदार कम्पनीका फिल्ड म्यानेजर शरण ढुंगानाले अन्नपूर्णसँगको कुराकानीमा २÷३ महिनाभित्रै काम सक्ने बताएको पनि ६ महिनाभन्दा बेसी भएको छ। तर काम अझै सकिएको छैन।
सडक डिभिजनले फुटपाथमा ढुंगाका छपनी छाप्न ४ करोड ९४ लाख ७९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। नेपालकै ढुंगा इन्जिनियरहरूबाट पास नहुँदा भारतबाट ल्याउनुपर्ने कारण ढिलाइ भएको ठेकेदार कम्पनीका अधिकारीले बताएका थिए। ठेकेदारहरूले २०७२ को भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीका कारण काबुबाहिरको परिस्थिति हुँदा काम बेलामा नसकिएको प्रष्टीकरण सडक कार्यालयलाई दिने गरेका छन्।