एम्बुलेन्स दुर्घटना हुँदा बिरामी सहित चार जना घाइते
बैतडी : बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामी सहित चार घाइते भएका छन्। दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो।
एम्बुलेन्स सडकबाट करिब एक किलोमिटर तल झाडीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए। एम्बुलेन्स दुर्घटना हुँदा बिरामी दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाको रुपमा रहेका सोही ठाउँका ४० बर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ बर्षीय गणेशदत्त भट्ट घाइते भएका छन्।
यस्तै एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ। घाइते सबैको प्रहरीले उद्धार गरेको थियो। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र उनीहरुको अवस्था समान्य रहेको बताइएको छ। एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।