इङ्ल्यान्डलाई ‘पेनाल्टी’को चिन्ता

इङ्ल्यान्डलाई ‘पेनाल्टी’को चिन्ता

लन्डन : अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इङ्ल्यान्ड सधैं सशक्त टोलीका रूपमा प्रस्तुत भएको छ । तर, दुर्भाग्य इङ्ल्यान्ड फुटबलका ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘पेनाल्टी सुट आउट’मा भने अभागी ठहरिँदै आएको छ ।

इङ्ल्यान्ड पेनाल्टी अवसरमा चुक्दा सन् १९९० यता फुटबलका ६ ठूला प्रतियोगिताबाट बाहिरिएको तीतो इतिहास छ । त्यसैले इङ्ल्यान्डले आफ्ना पछिल्ला ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पेनाल्टी प्रहारमै बढी जोड दिने गरेको छ । १८ दिनपछि रुसमा सुरु हुने २१औं संस्करणको विश्वकपको तयारीमा जुटेको इङ्ल्यान्डले अहिले आफ्नो अभ्यासलाई पेनाल्टी प्रहारमा बढी ध्यान दिएको प्रशिक्षक गारेथ साउथगेटले बताएका छन् । उनले इङ्लिस टोलीको पेनाल्टी प्रहार गर्ने शैलीकै पुन: मूल्यांकन गर्नु परेको खुलासासमेत गरेका छन् ।

गत वर्ष सम्पन्न यू-१७ विश्वकपमा इङ्ल्यान्डले उपाधि जित्दा पनि पेनाल्टी प्रहारमा विशेष मेहनत गरिएको र त्यसबाट प्राप्त नतिजा राष्ट्रिय टोलीको विश्वकप तयारीका क्रममा निकै महत्वपूर्ण बनेको प्रशिक्षक साउथगेटले बताए । प्रशिक्षक साउथगेटले रुस विश्वकपका लागि आफ्नो प्रारम्भिक २३ खेलाडीको सूची सार्वजनिक गरिसकेका छन्, जसमा नयाँ तर क्षमतावान् र अनुभवी खेलाडीलाई प्राथमिकता दिइएको छ ।

टोट्टनहाम हर्टस्परबाट पछिल्लो दुई सिजन उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्ट्राइकर हारी केनको कप्तानीमा घोषित टोली रुस विश्वकपमा कुनै पनि टोलीविरुद्ध सशक्त प्रदर्शन गर्न सक्षम हुनेछ । इङ्लिस टोलीसँग राम्रा मिडफिल्डर र स्ट्राइकर छन् । मिडफिल्डमा डेली अली, जोर्डन हेन्डर्सन आक्रामक मिडफिल्डर हुन् । उनीहरू आफ्ना स्ट्राइकरलाई अवसर सिर्जना गर्न मात्रै हैन, आफैं पनि गोल गर्न सक्षम खेलाडी हुन् । उनीहरूसँग स्ट्राइकर र मिडफिल्डरको दुवै भूमिकामा उत्तिकै सशक्त प्रदर्शन गर्नसक्ने रहिम स्टर्लिङ छन् । अग्रपंक्तिमा हारी केन, डानी वेलबेक र जेमी भार्डी कुनै पनि बेला गोल गर्दै टोलीलाई अघि बढाउन सक्षम खेलाडी छन् ।

यी सबै खेलाडीले यो सिजन लिग फुटबलमा निकै सशक्त प्रदर्शन गरेका छन् । यसअघिका प्राय: प्रतियोगितामा अवरोधका रूपमा देखिँदै आएको पेनाल्टी प्रहारमा सुधार ल्याउन सफल भए, इङ्ल्यान्डले रुस विश्वकप फुटबलमा उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्न सक्नेछ । सन् १९६६ मा आफैंले आयोजना गरेको विश्वकप फुटबलको उपाधि जितेयता इङ्ल्यान्डले फेरि फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन । फिफा विश्वकप फुटबल २१औं संस्करणसम्म आइपुग्दा इङ्ल्यान्ड १५औं पटक सहभागिता जनाउँदै छ । इङ्ल्यान्डले एकपटक मात्र उपाधिको स्वाद चाखेको छ । दुईपटक सेमिफाइनलमा पुगेको इङ्ल्यान्ड त्यसबाहेक अन्य अवसरमा अघिल्लो चरणबाटै घर फर्किएको छ ।

सन् २०१४ मा ब्राजिलमा आयोजना भएको पछिल्लो विश्वकप फुटबलमा पनि इङ्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो । इटाली र उरुग्वेसँग पराजय बेहोरेको इङ्ल्यान्ड ब्राजिल विश्वकपबाट मात्र एक अंक जोड्दै समूह चरणबाटै घर फर्किएको थियो । इङ्ल्यान्डले कोस्टारिकासँग गोलरहित बराबरी खेल्दै एक अंक लिएको थियो । त्यसको चार वर्षपछि अहिले इङ्लिस टोलीमा नयाँ पुस्ताका क्षमतावान् खेलाडीको बाहुल्य देखिएको छ । अघिल्लो विश्वकपको खराब प्रदर्शनलाई बिर्सन इङ्ल्यान्डले रुस विश्वकपमा सशक्त प्रदर्शन गर्न आवश्यक छ । यसका लागि इङ्ल्यान्डको टोली सशक्त र सक्षम पनि देखिएको छ ।

इङ्ल्यान्डको प्रारम्भिक टोली

गोलरक्षक : ज्याक बटल्यान्ड (स्टोक सिटी), जोर्डन पिकफोर्ड (एभर्टन), निक पोप (बर्नली)

रक्षक : ट्रेन्ट एलेक्जेन्डर-आर्नाेल्ड (लिभरपुल), गारी काहिल (चेल्सी), फाबियन डेल्फ (म्यानचेस्टर सिटी), फिल जोन्स (म्यानचेस्टर युनाइटेड), हारी मागुइरे (लेस्टर सिटी), डान्नी रोज (टोट्टानहाम हर्टस्पर), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किइरान ट्रिपिइर (टोट्टानहाम हर्टस्पर), किल वाल्कर (म्यानचेस्टर सिटी), आश्ले योङ (म्यानचेस्टर युनाइटेड)

मिडफिल्डर : डेली अली (टोट्टनहाम हर्टस्पर), इरिक डाइर (टोट्टनहाम हर्टस्पर), जोर्डन हेन्डर्सन (लिभरपुल), जेस्से लिन्गार्ड (म्यानचेस्टर यूनाइटेड), रुबेन लफटस-चिक (चेल्सी)

स्ट्राइकर : हारी केन (टोट्टनहाम हर्टस्पर), मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), जेमी भार्डी (लेस्टर सिटी), डानी वेलबेक (आर्सनल)

प्रशिक्षक : गारेथ साउथगेट

इङ्ल्यान्डको खेल

समूह ‘जी’

जुन १८ : ट्युनिसियाविरुद्ध

जुन २४ : पानामाविरुद्ध

जुन २८ : बेल्जियमविरुद्ध

इङ्ल्यान्ड

सहभागिता : १५औं पटक

उपाधि : एकपटक

फिफा वरीयता : १३


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.