प्रधानमन्त्री भन्छन्ः पानीजहाज मजाक होइन, दिउँसै देखिएको सपना हो
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे संसदको संयुक्त बैठकलाई आइतवार जबाफ दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा वाचन गरेको नीति तथा कार्यक्रम बजेट नभएको बताउँदै धेरै कुरा बजेटले सम्बोधन गर्ने उनले बताए । ‘नीतिमा सबै कार्यक्रम राखिराख्नु पर्दैन’ उनले भने, ‘नीति कार्यक्रम प्रस्तुत हुँदा यी सबै कुरामा ध्यान दिइएको छ ।
ओलीले नीतिलाई लक्ष्य, योजना र कार्यक्रममा बदलेर कार्यान्वयन गरिने बताएका छन् । संघीय संसदमा जवाफ दिँदै उनले नीति तथा कार्यक्रम महत्वकांक्षी नभएको पनि दोहो¥याए ।
राष्ट्रियरुपमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उत्पादनमूखी अर्थतन्त्रमा जोड दिइने पनि उनले बताए । व्यापारघाटा न्यूनिकरण गर्न बजेटले थप स्पष्ट व्यवस्था गरिने ओलीको भनाइ थियो । बन्द भएका रुग्ण उद्योग चलाउन सकिने गरी सरकारले नीति ल्याउने पनि ओलीको भनाइ थियो ।
व्यापार, सुशासन, स्वच्छता, भ्रष्टाचार नियन्त्रण लगायतका क्षेत्रमा नीति तथा कार्यक्रमले स्पष्ट बोलेको उनले बताए । प्रधानमन्त्री ओलीले अब चारोकै भरमा भौतारिनुपर्ने अवस्था अन्त्य हुने बताए । ‘देश गरिब रहिरहन सक्दैन, नीति कार्यक्रम सम्पूर्ण जनताका आकांक्षा पूरा हुने बृहत खालको योजना हो’, उनले भने ।
अब बिरामी हुँदा उपचार गर्न सकिन भन्ने स्थितिको अन्त्य हुने, भेदभाव भयो भन्ने अवस्था नआउने पनि प्रमले बताए । भूगोल, जात र भाषाका आधारमा विभेद नहुने पनि उनले बताए ।
जेठ १५ गते आउने बजेटले सबै कुरा सम्बोधन गर्ने र देश समृद्वितर्फ अघि बढ्ने उनको भनाई थियो । ‘नीति तथा कार्यक्रम असम्भव महत्वकांक्षा होइन । सम्मृद्व नेपाली र सुखी नेपाली अभियान राष्ट्रिय आकांक्षा हो, पूरा भई छाड्छ,’ उनले भने ।
उनले पानी जहाज र रेलको सपना सुतेर नदेखेको पनि बताए । ‘बन्दरगाहमा हाम्रो पानीजहाज, हाम्रो रेल र ट्रकबाट ढुवानी गर्छौ,’ उनले भने, ‘स्वीटरजरल्यान्ड, मंगलोलिया भूपरिवेष्ठित भएपनि पानीजहाज चलाएका छन् । उत्तर–दक्षिण र पूर्व–पश्चिममा रेल कुद्ने छ, यो कुरा पुरा हुन्छ ।’