मुगुका अग्नीपीडित अझैं पालमुनि
मुगु : आगलागीबाट पीडित बनेका मुगुम कार्मारोङ्ग गाउँपालिका ४ किम्री गाउँका १७ घरका अग्निपीडित अझैं खुला आकाशमुनि बस्न बाध्य छन्। गत वैशाख २० गते मुगुम कार्मारोङ्गमा आगलागी हुँदा सरकारले तत्काल राहत उपलब्ध गराएपनि अोत लाग्ने गतिलो ठाउँ नहुँदा अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य छन्।
सरकार र केही गैर सरकारी संस्थाले तत्कालका लागि खाद्य सामग्री उपलब्ध गराएको भएपनि घर बनाउन नसक्दा उनीहरु अहिले खुल्ला आकासमुनि रात कटाउन बाध्य भएका हुन्।
आगलागीबाट घरसहित लुगाकपडा तथा अन्नपात जलेर खरानी भएपछि सरकार तथा केही गैर सरकारी संस्थाले तत्कालका लागि राहत उपलब्ध गराएको भएपनि त्यसपछि आफूहरुले कसैको सहयोग नपाएको अग्नीपीडितको गुनासो छ।
वैशाख २० गते बिहान नौ बजे वडा अध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगोबाट अन्य १६ घर जलेर खरानी भएका थिए। आगलागीबाट सम्पूर्ण धनमाल ,अन्नपात,लुगाकपडा सबै जलेर खरानी भएको थियो। त्यतिबेला कर्णाली प्रदेशका मुख्य मन्त्री महिन्द्र शाही र मुगुका सासंद र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले राहत वितरण गरेको थियो।
आगलागीबाट छिरिङ्ग टासी लामा, फोन्जोक लामा, आङ्गडाक लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, अङ्गजक लामा,जिक्टोल लामा,गारा छिरिङ्ग लामाका घर पूर्ण रुपले जलेका थिए।
तीन महिनाका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले खाद्यान्न सामग्री उपलब्ध गराउने बताएको छ। केही गैर सरकारी संस्थाले राहत पलब्ध गराए पनि बस्ने बास छैन।तर सरकारले उपलब्ध गराएको त्रिपालमा परिवारका सदस्य अटाउँदैनन्।
'पाल अगाडीको खुल्ला चौरमा रात बिताउनुपर्छ।पानी परेको दिन सबै परिवार नसुतेरै रात कटाउनुपर्छ।तत्काल घर बनाउन सकिने अवस्था छैन, 'अग्नि पीडित आङ्गडाक लामाले भने,' कुन बेला हावाले पालनै उडाउँछ भन्ने चिन्ताले सताइरहन्छ।'
मुगुम कार्मारोङ्ग गाउँलेको मुख्य आयस्रोत यार्सागुम्बु र जडिबुटीनै हो।मुगुका विभिन्न पाटन क्षेत्रमा एक महिना यार्सा संकलन गर्दा उनीहरुको वर्षभरिको आम्दानी हुन्छ।तर किम्री गाउँका अग्नीपीडितलाई भने शकस थपिएको छ।
हिमालमा जाँदा जहुँ ,गहुँ, नाफल , फापर , कोदो आदीको सातु, पिठो, चामल लिएर जानुपर्छ। आगलागि पीडितसँग एक सरो लुगाबाहेक अरु केही नहुँदा आफन्तले नासोस्वरुप दिएको चिउरा, दालमोठ,चाउचाउ लिएर हिमालमा यार्सा टिप्न जानु परेको स्थानीय कार्मा वाङ्गजुक लामाले बताए।