सञ्चार राज्यमन्त्री र महासंघका कार्यबाहक अध्यक्षको जुहारी
काठमाडौं : आइतबार कृष्णसेन स्मृति दिवसमा प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा कार्यक्रम गरे। कार्यक्रममा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा र नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष बिपुल पोखरेलबीच राम्रै जुहारी चल्यो।
कार्यबाहक अध्यक्ष पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रेस मैत्री नभएको, आम सञ्चार प्रतिष्ठान बनाउने कुरा पनि नआएको र प्रेसको पक्षमा केही सम्बोधन नै नगरेको भन्दै असन्तुष्टि जनाए। नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई सरकारले वेवास्था गरे पनि पत्रकार र पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित भएर अघि बढ्ने प्रतिबद्धता पोखरेलले व्यक्त गरे।
पोखरेलको मन्तव्यपछि मञ्चमा पुगेका राज्यमन्त्री बाँस्कोटाले सञ्चारका विषयमा नीति तथा कार्यक्रममा के समेट्नुपर्छ र के समेट्नु पर्दैन भन्नेकुरा आफूलाई नसिकाउँन सुझाव दिए।
‘म पनि पत्रकारिता क्षेत्रबाटै राजनीतिमा आएको हुँ। मलाई के सही र के गलत भनेर पढाउँनु पर्दैन। सञ्चार माध्यमक कति मर्यादित र व्यवसायिक छन् भन्नेकुरा मलाई थाहा छ’, बाँस्कोटाले भने, ‘सामाजिक सञ्जालका कारण अनलाइन बदनाम छन्। तपाईंहरुले जिम्मेवार छु भन्नै पर्दैन। सम्पत्ति विवरण भर्खरै बुझाएको छु। चार आना जग्गा भएको ठाउँमा १० रोपनी जग्गा भनेर लेखेका पनि छन्।’
सँगै उनले सम्पत्ति विवरणको फारममा एउटा कुरा लेख्दा अर्कै समाचार बनेकोप्रति लक्षित गर्दै प्रश्न गरे, ‘कि मलाई अझ बढी सम्पत्ति आर्जन गर भन्न खोज्या हो ? होइन भने चन्दा उठाएर दिन खोज्या हो ? सही त लेख्नुपर्यो नि !’
छोटो मन्तव्य राखेका राज्यमन्त्री बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्रताका पाठ नपढाउन समेत सुझाव दिए। ‘मलाई कसैले लोकतन्त्र र प्रेस स्वतन्त्रताका पाठ पठाउनु पर्दैन। लोकतन्त्र कसैले किस्तामा राखेर दिएको होइन’, राज्यमन्त्री बाँस्कोटाले भने, ‘अहिले बोल्या कुरा पनि सुल्टै सुन्न पाऊँ है ! धन्यवाद।’
कार्यक्रममा पत्रकार रघु मैनालीलाई कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए।