गोरेले बयानमा कसलाई पोले, कसलाई जोगाए ?

गोरेले बयानमा कसलाई पोले, कसलाई जोगाए ?

काठमाडौं : ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करीमा प्रहरीसहित ठूलो सञ्जाल क्रियाशील हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा ३० पृष्ठ लामो बयान दिँदै गोरेले तस्करीमा कुनै राजनीतिक नेताको नाम नलिई ‘ठूला मान्छे’को संलग्नतालाई संकेत गरेका छन् । बयानमा उनले एसएसपी श्याम खत्रीको नामै लिएर तस्करीमा उनको संलग्नतालाई स्विकारेका छन् ।

बयानमा गोरेले भनेका छन्, ‘म सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएकाले लेखिएबमोजिम बिगो कायम हुने होइन । मभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ । को-को संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

गोरेले विमानस्थलमा एसएसपी खत्री आफ्ना मुख्य सहयोगी रहेको खुलाएका छन् । खत्री संलग्नताबारे उनले भनेका छन्, ‘झोलामा ल्याएको सुन भरियाले प्रहरीकै पास प्रयोग गरेर सिधै खत्रीको कोठमा लैजान्थे । खत्रीले चालक र अंगरक्षकलाई भनेर आफ्नै गाडीमा बाहिर पठाउँथे ।’

गोरेले विमानस्थल बाहिरका प्रहरी नायब महानिरिक्षक (डीआईजी) लाई प्रयोग गरेर सुन तस्करी सम्भव भएको बयानमा खुलाएका छन् । तर, ती डीआईजीको नाम आफूलाई थाहा नभएर प्रहरीको सबै सेटिङ गर्ने छिरिङ वालेङ घलेलाई थाहा भएको भनेका छन् ।

‘भरियालाई प्रहरीले पास उपलब्ध गराउँथे । सो पछि कुनै चेकजाँच हुदैनथ्यो’, प्रहरी सेटिङबारे गोरेले बयानमा भनेका छन्, ‘सुन बोक्ने मानिस सिधै प्रहरी हाकिमको कोठामा जान्थे । पछि प्रहरीले आफूअनुकूल समयमा सुन बाहिर निकाली तोकिएको स्थानमा छाडिदिन्थे ।’

गोरले एसएसपी खत्रीले आफैं चढ्ने सरकारी गाडी प्रयोग गरेर सुन बाहिर तोकिएको स्थानमा झारिदिने गरेको खुलासा गरेका हुन् । खत्रीले तस्करी भएको सुनमध्ये एक किलोबापत ५० हजार आफैं बुझ्ने गरेको साविती बयान गोरेले अदालतसमक्ष दिएका छन् ।

खत्रीको संलग्नताबारे गोरे भन्छन्, ‘श्याम खत्रीले सुन बाहिर निकालेबापत प्रतिकिलो ५० हजार रूपैंया निज आफैंले बुझ्ने गर्थे । यो लाइनबाट ४ सय देखि ५ सय किलोसम्म सुन आएको छ ।’

उनले थाई एयरलाइन्स र फ्लाई दुबईबाट तस्करी भएर आएको सुनबारे विमानस्थलका सुरक्षाकर्मी बेखबर हुने बताएका छन् । उनले ‘तेस्रो लाइन’बाट आएको सुनमा मात्रै सुरक्षाकर्मी जानकार रहेको खुलाएका छन् । तेस्रो लाइनबाट आउने सुन फ्लाई दुबईबाटै आउने गरे पनि भरियालाई प्रहरीकै पास प्राप्त हुने हुँदा कुनै चेकजाँच नहुने र प्रहरीकै मिलेमतोमा सुन बाहिरिने बयान गोरेले दिएका छन् ।

तेस्रो लाइनबाट एक पटकमा २५ देखि ३० किलो सुन तस्करी हुने गरेको र उक्त लाइन भारतीय व्यापारीले चलाउने गरेको उनले खुलाएका छन् । गोरेले हराएको साढे ३३ किलो सुन भारतीय कारोबारीको रहेको खुलाएका छन् । उनले सुन मालिक भारतको दिल्ली बसे पनि आफुले नचिनेको जिकिर गरेका छन् । एमके भन्ने मोहनकुमार अग्रवाल पनि सुनका कारोबारी रहेको गोरेले खुलाएका छन् ।

प्रहरीसँग सनम शाक्यको शव व्यवस्थापनका विषयमा दुई करोड रूपैंया बार्गेनिङ भएको स्विकार्दै उनले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल आफूलाई बचाउनभन्दा फसाउन पैसाको डिल भएको सोचेर आफू भागेको बताएका छन् ।

डिएसपी केसी, एसएसपी दिवेश लोहनीलाई आफूले नचिनेको बयान गोरेले दिएका छन् । बयानमा उनले भने, ‘दिवेश लोहनीलाई मैले चिनेको छैन । निजसँग मेरो कुनै सम्बन्ध छैन ।’ सुन कारोबारका विषयमा डीआईजी गोविन्द निरौलालाई थाहा नभएको र आफूले निरौलालाई बाबुको साथी भएकाले ‘काका’ भनेर सम्बोधन गर्दै आएको कुरा गोरेले गरेका छन् । सनमको मृत्युको अघिल्लो दिन सप्तरीमा सवारी दुर्घटना हुँदा निरौलासँग फोनमा गफ भएको स्वीकार गोरेले गरेका छन् । सइ बालकृष्ण सञ्जेललाई भने घर बनाउन ३५ लाख रूपैंया दिएको र सञ्जेलले २५ लाख फिर्ता गरिसकेको स्वीकार गोरेले गरेका छन् ।

गोरेले भुजुङ गुरुङलाई राम्रोसँग नचिनेको बताएका छन् । बाजेको सेकुवाका मालिक चेतन भण्डारीलाई आफुले चिने पनि सुन कारोबारमा उनको कुनै संलग्नता नरहेको दाबी गोरेले गरेका छन् ।

उनले चाचाजी भन्ने महावीरप्रसाद गोल्यान भारतीय कारोबारीको मान्छे भएको बताएका छन् । गोल्यानले आफ्ना मानिसहरूसँग सुन बुझेर भारत पठाउँदै आएको बयान गोरेले दिएका छन् । विमानस्थलका कर्मचारी एलबी भन्ने लालबहादुर मगर, वीरेन्द्रमान        श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण        श्रेष्ठ, दोराम खत्री, गोपालकुमार        श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद लामा, राजु महर्जनले विमानबाट सुन बाहिर निकाल्न भूमिका खेलेको गोरेले खुलाएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले गोरेसहितका ६७ जनाविरुद्ध १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय १३ रूपैंया बराबरको तीन हजार आठ सय किलो सुन तस्करी गरेको अभियोगमा कर्तव्य ज्यान, संगठित अपराध र सुन तस्करी मुद्दामा मागदाबीसहित मोरङ अदालतमा आरोप पत्र दायर गरेको थियो । अदालतले पक्राउ परेका सबै प्रतिवादीको बयान लिई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

शाक्यको हत्या गर्ने मनसाय नभए पनि लुटिएको सुनबारे खोजतलास हुँदा करेन्टले यातना दिंदा मृत्यु भएको स्वीकार गोरेले गरेका छन् ।

गोरेले भने 

- प्रहरी अधिकारीहरू दिवेश लोहनी, प्रजित केसीलाई म चिन्दिनँ

- पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल र डीएसपी संजय राउतले सुन बाहिर ल्याउन सहयोग गरेनन्

- प्रहरीकै पास प्रयोग गरेर सुन तस्करी

- फ्लाई दुबईबाट एक पटकमा २५ देखि ३० किलो सुन आउँथ्यो

- तस्करीको सुन सिधै प्रहरीको कोठामा पुगेर बाहिरिन्थ्यो

- एसएसपी श्याम खत्रीले चढ्ने सरकारी गाडीमै सुन बाहिर ल्याउँथे

- खत्रीले सुन बाहिर निकालेबापत प्रतिकिलो सुनमा ५० हजार बुझ्थे

- खत्रीकै सेटिङमा पाँच सय किलो सुन तस्करी

- सुनका मालिक भारतीय हुन- सुन नेपालबाट स्थलमार्ग हुँदै भरिया परिवर्तन भएर भारत पुग्थ्यो

- फ्लाई दुबईबाट आएको सुन राजु महर्जन, राजन थापा, अमरमान डंगोल र तुलाराम थारुको समूहले गथ्र्यो

- थाई एयरबाट बाहिर सुन सानु बन (हाल मृत्यु भइसकेको) ले गर्थे

- विमानस्थल बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो

- प्रहरीको माथिल्लो दर्जामा छिरिङ घलेले मिलाउँथे

- सुनील कुमार अग्रवाल, कृष्ण गोपाल अग्रवाल सुनमा लगानी गर्छन् ।

गोरेले खुलाएका सुनका भरिया

- टेकराज मल्ल ठकुरी

- मोहन काफ्ले

- सुरेन्द्र ठकुरी

- मोहम्मद उस्तक मियाँ

- टुकबहादुर मगर

- रोहित आचार्य

- नरेन्द्र कार्की

- कृष्ण बस्नेत


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.