प्रतिद्वन्द्वीकै रोजाइमा परेको फ्रान्स

प्रतिद्वन्द्वीकै रोजाइमा परेको फ्रान्स

पेरिस : आगामी विश्वकपमा फ्रान्स र अस्ट्रेलिया एउटै समूहमा परेका छन् । अस्ट्रेलियन टोलीको नेतृत्व गर्ने ६६ वर्षीय डच नागरिक बेर्ट भान मार्विक रुस विश्वकपका सबैभन्दा अनुभवी प्रशिक्षकमा पर्छन् । प्रशिक्षक मार्विककै विश्लेषण र अनुभवलाई आधार मान्ने हो भने फ्रान्सले आगामी विश्वकपको उपाधि घर लगेमा कसैले आश्चर्य नमाने हुन्छ । ‘फ्रान्सेली टोलीमा निकै क्षमतावान्, छरिता र शारीरिक रूपमा पनि बलिया खेलाडीको वर्चस्व छ । विश्वकै उत्कृष्ट खेलाडी पनि छन्, फ्रान्सँग । यस्तो स्थितिमा फ्रान्सले उपाधि जिते कसैले पनि अचम्म नमाने हुन्छ’, प्रशिक्षक मार्विकले एक अन्तर्वार्ताका क्रममा भनेका छन् ।

पक्कै पनि, रुस विश्वकपमा समूह ‘सी’ मा रहेको फ्रान्स तुलनात्मक रूपमा बलियो देखिएको छ । उक्त समूहमा अस्ट्रेलिया, डेनमार्क र पेरू परेकाले पनि फ्रान्सलाई समूहगत चरण पार गर्न खासै कठिन हुने छैन । फ्रान्सले जुलाई १६ तारिखमा अस्ट्रेलियासँग खेल्दै रुस विश्वकपको थालनी गर्नेछ । वास्तवमा मार्विकले भनेजस्तै फ्रान्स यसपटक बलियो टोलीको रूपमा स्थापित भएको छ । सन् १९९० को दशकमा पनि फ्रान्स इतिहासकै बलियो थियो । त्यसैले त सन् १९९८ मा फ्रान्सले घरेलु मैदानमा ब्राजिलजस्तो बलियो टोलीलाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो ।

वास्तवमा फ्रान्स सधैं विश्वकपको बलियो टोली हो । जाइन्ट किलरको छवि बनाएको फ्रान्सले हरेक विश्वकपमा दमदार प्रदर्शन गर्दै आएको छ । यति हुँदाहुँदै पनि फ्रान्सले दोस्रो उपाधि भने हात पर्न सकेको छैन । सन् १९३० को पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सले हालसम्म १४ पटक सहभागिता जनाएको छ । यस क्रममा फ्रान्स दुई पटक फाइनलमा पुगेको थियो भने पाँच पटक सेमिफाइनलमा पुगेको छ । टोलीमा रहेका प्रभावशाली खेलाडी र लामो समयको तयारीलाई यसपटक फ्रान्सले आफ्नो प्रमुख हतियार बनाएको छ ।

प्रशिक्षक डिडियर डेसच्याम्पसले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणासमेत गरिसकेका छन् । उनले आफ्नो टोलीमा अनुभवी र नयाँ खेलाडीको राम्रो संयोजन गरेका छन् । सन् २०१२ देखि फ्रान्स टोली सम्हालेका डेसच्याम्पसलाई टोलीको कमजोरी र क्षमताबारे पनि राम्रो ज्ञान छ । उनले रुस विश्वकपलाई यादगर बनाउने दाबी पनि गरेका छन् । उनले टोट्टनहामका ह्युगो लोरिस, पेरिस सेन्ट जर्मन क्लबका अल्फोन्से एरोलाजस्ता गोलरक्षकलाई गोल पोस्टको जिम्मेवारी सुम्पिएका छन् । रक्षापंक्तिमा समेत बार्सिलोनाका म्यानुएल उम्टिटी, रियल म्याड्रिडका राफेल भारानेजस्ता खेलाडी उतार्ने तयारीमा छन् ।

पछिल्लो समय फ्रान्सको डिफेन्स, मिडफिल्ड र स्ट्राइकिङ लाइन निकै बलियो देखिएको छ । छोटो र छरितो पास खेल्ने फ्रान्सको शैली पनि बेजोडको छ । विपक्षीलाई नियन्त्रणमा राख्ने र बल छलाउने कला फ्रान्सको अर्को हतियार हो । फ्रेन्च लिग र प्रिमियर लिग, स्पेनिस ला लिगा खेलिरहेका युवा र दमदार खेलाडीको साथ फ्रान्सलाई छ । टोलीमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यान, चेल्सीका ओलिभर गिरोड, बार्सिलोनाका ओसमेन डेम्बेलजस्ता अनुभवी स्ट्राइकर छन् ।

यसैगरी युवा खेलाडी काइलियन एमबाब्बेलाई पनि प्रशिक्षक डेसच्याम्पसले महत्वपूर्ण यतियारका रूपमा लिएका छन् । पछिल्लो समय एमबाब्बेको प्रदर्शन पनि स्तरिय छ । मिडफिल्डमा चेल्सीका एनगोलो कान्टे र म्यानचेस्टर युनाइटेडका पल पोग्वाजस्ता अनुभवी खेलाडीको साथ पनि छ, फ्रान्सलाई । विश्वकप छनोट प्रतियोगितामा पनि फ्रान्सले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

युरोपेली क्षेत्रबाट समूह ‘ए’ को विजेता बन्दै रुस विश्वकपको ढोका खोलेको फ्रान्सले समूहगत चरणमा स्विडेनसँग एउटा खेल मात्र हारेको थियो । फ्रान्स सन् २०१६ मा घरेलु मैदानमा भएको युरो कपमा फाइनलसम्म पुगेको थियो । फाइनलमा भने फ्रान्सलाई पोर्चुगलले थप समयमा १–० गोलले हराएको थियो । २४ टोली सम्मिलित युरो कपमा आफूलाई प्रमाणित गरिसकेकोले पनि आगामी विश्वकपमा फ्रान्सलाई बलियो दाबेदारको रूपमा हेरिएको छ ।

फ्रान्सको प्रारम्भिक टोली

गोलरक्षक : ह्युगो लोरिस (टोट्टनहाम), स्टिभ मान्डाना (मार्सिल्ले) र अल्फोन्से एरोला (पीएसजी) ।

डिफेन्डर : डिब्रिल सिडिबे (मोनाको), बेन्जामिन पाभर्ड (स्टुटगार्ट), सामुएल उम्टिटी (बार्सिलोना), राफेल भाराने (रियल म्याड्रिड), प्रेसनल किमपेम्बे (पीएसजी), अदिल रामी (मार्सिल्ले), बेन्जामिन मेन्डी (म्यानचेस्टर सिटी) र लुकास हर्नान्डेज (एट्लेटिको म्याड्रिड) ।

मिडफिल्डर : पल पोग्बा (म्यानचेस्टर युनाइटेड), कारेन्टिन टोलिसो (बायर्न म्युनिख), ब्लाइस माटुडी (युभेन्ट्स), एनगोलो कान्टे (चेल्सी) र स्टिभन एनजोन्जी (सेभिल) ।

स्ट्राइकर : एन्टोनियो ग्रिजम्यान (एट्लेटिको म्याड्रिड), ओलिभर गिरोड (चेल्सी), काइलियन एमबाप्पे (पीएसजी), ओसमेन डेम्बेल (बार्सिलोना), फ्लोरिन थाउभिन (मार्सिल्ले), नबिल फेकिर (लियोन) र थोमस लेमर (मोनाको) ।

प्रशिक्षक : डिडियर डेसच्याम्पस ।

फ्रान्स

सहभागिता : १५औं पटक

उपाधि : १ पटक

फिफा वरीयता : ७

फ्रान्सको खेल

समूह ‘सी’

जुन १६ : अस्ट्रेलियाविरुद्घ

जुन २१ : पेरुविरुद्घ

जुन २६ : डेनमार्कविरुद्घ
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.