चेन्नईले आईपीएल उपाधि जित्दा कसले कति कमाए ?
मुम्बई: दुई वर्षसम्म निलम्बन झेलेर फर्किएको चेन्नई सुपर किङ्ग्स आईपीएल २०१८ को च्याम्पियन बनेको छ । चेन्नईले सनराइजर्स हैदराबादलाई आइतवार राति ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि चुमेको हो ।
चेन्नईले यसअघि सन् २०१० र २०११ मा पनि आईपीएलको उपाधि उचालेको थियो । धोनीको कप्तानी रहेको चेन्नई टीमले शेन वाट्सनको विस्फोटक ब्याटिङ मद्दतमा फाइनल सजिलै जित्यो ।
वाट्सनले केबल ५७ बलमा नटआउट ११७ रन बनाए । जसमा ११ चौका र आठ छक्का पनि छन् । वाट्सनको पारीको कमालकै कारण चेन्नईले जितका लागि पाएको १७९ रनको लक्ष्य १८.३ ओरमा केबल दुई विकेट गुमाएर भेट्टायो ।
यस जितसँगै चेन्नईले २० करोड भारतीय (३२ करोड नेपाली) रुपैयाँसहित उपाधि उचाल्यो । उपविजेता सनराइजर्स हैदराबादले पनि १२ करोड ५० लाख भारतीय रुपैयाँ आफ्नो पोल्टामा पार्यो ।
वाट्सनलाई फाइनलमा विस्फोटक पारी खेलेकोमा म्यान अफ द म्याच घोषित गरियो । प्रतियोगिताको १६ खेलमा ७३५ रन बनाएका सनराइजर्सका कप्तान केन विलियम्सनले ओरेन्ज क्याप हात पारे ।
किङ्ग्स इलेभन पञ्जाबका एन्ड्रयू टाय (२४ विकेट) लाई पर्पल क्याप दिइयो । किङ्ग्स इलेभन प्रतियोगिताको प्लेअफमा पनि पुग्न सकेको थिए । ओरेन्ज क्याप र पर्पल क्याप विजेतालाई १०-१० लाख रुपैयाँ दिइयो ।
सुपर स्ट्राइकर अफ द सिजन कोलकाता नाइटराइडर्सका सुनील नरेन र स्टाइलिश प्लेयर अफ द सिजनको पुरस्कार दिल्ली डेयरडेभिल्सका ऋषभ पन्तलाई दिइयो ।
पर्फेक्ट क्याच अफ द सिजनको पुरस्कार दिल्ली डेयरडेभिल्सका ट्रेन्ट बोल्टलाई दिइयो । आईपीएल फेयरप्ले अवार्ड मुम्बई इन्डियन्सले जित्यो । दिल्ली डेयरडेभिल्सका ऋषभ पन्तले इमर्जिङ्ग प्लेयर अफ द सिजनको अवार्ड पनि प्राप्त गरे ।