सञ्चार ऐनलाई समावेशी बनाइने
काठमाडौं : पत्रकारिता एवं राजनीति क्षेत्रमा महिलाको सहभागिता विषयक एक छलफल कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवसको सन्दर्भमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा सांसद डा.विन्दा पाण्डेले नेपाली राजनीतिक इतिहासमा महिलाको उपस्थिति र देशका ठूला राजनीतिक परिवर्तनमा उनीहरूले पुर्याएका योगदानको चर्चा गरिन् ।
डा.पाण्डेले कुनै पनि राजनीतिक दलको नेतृत्व तहमा को पुग्यो भन्ने ठूलो कुरा नभई यो मुलुकका नेताहरू आफैले बनाएका कानुनको पालना आफै गर्ने की नगर्ने भन्ने महत्वपूर्ण विषय भएको बताइन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पहिलेको तुलनामा सञ्चार क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको बताए ।
उनले राष्ट्रिय आम सञ्चार नीति आइसकेकाले यसैको आधारमा मन्त्रालयले सञ्चार सम्बन्धि केही ऐनहरू परिवर्तन गर्न लागेको र यसलाई समावेशी र सबैको हित हुने हिसाबको बनाउनमा पहल गर्ने जानकारी गराए ।
राष्ट्रिय समाचार समितिकी पूर्व महाप्रवन्धक निर्मला आचार्यले पत्रकारिता क्षेत्रमा महिलाको इतिहास र विकासक्रमको जानकारी गराउँदै पहिलो पत्रकार महिला साधना प्रधानको नाममा एक पुरस्कार स्थापना गर्न सरकारलाई आग्रह गरिन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष अमिका राजथलाले पत्रकार महिलाको पलायन दरलाई रोक्न उनीहरुको क्षमता अभिवृद्धिका लागि सरकारी तवरबाट विशेष पहल गरिनुपर्ने, निर्णायक तहमा पत्रकार महिलालाई स्थान दिनुपर्नेलगायतमा जोड दिइन् ।