जाजरकोटका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण
जाजरकोट : जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेको छ। स्थानीय तहको निर्वाचन भएको एक वर्षपछि मात्र स्वास्थ्य कार्यालयले संस्था हस्तान्तरण गरेको हो।
स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी जिल्लाका सबै नगर तथा गाउँपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण गरेको हो।
नेपालको संविधान २०७२ को अनुसूची ८ र ९ बमोजिम नेपाल सरकार अर्थ मन्त्रालयको स्थानीय तहमा बजेट तर्जुमा, कार्यन्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ती हस्तान्तरणसम्बन्धि निर्देशिका २०७४ अनुसार आफूले स्थानीय तहलाई जिल्लाका सबै स्वास्थ्य संस्था हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।
जिल्लाका विभिन्न ठाउँमा रहेका ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ३१ वटा स्वास्थ्य चौकी गरी जम्मा ३४ वटा स्वास्थ्य संस्थाको जिन्सी तथा नगदी हिसाब विवरणसहितको स्वामित्व नगर तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षलाई नेपालीले औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य संस्था हस्तान्तरणसँगै स्वास्थ्यकर्मी स्थानीय सरकार मातहत गएका छन् भने स्थानीय सरकारलाई स्थानीयको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने अभिभारा थपिएको छ। नगर तथा गाउँपालिका प्रमुख तथा अध्यक्षले स्वास्थ्य संस्थाको स्वामित्व ग्रहण गर्दै नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।