पाटनमा यार्सा गुम्बा खोज्नेको मेला (फोटो फिचर)
डोल्पाः डोल्पाका हिमाली पाटनहरुमा यति बेला यार्सा गुम्बा संकलन गर्नेको मेला नै लागेको छ । माझफालको रुपापाटन लागयत दर्जनौँ पाटनहरुमा संकलकहरु तँछाड्मछाड् गर्दै हरेक दिन बिहानदेखि साँझसम्म दौडिरहेका छन् ।
आम्दानीको स्रोत र जागिर यार्सागुम्बा नै भएकाले बालबालिका पढाउने र बढाउने सबै यतिबेला यार्साबाट कमाउने भन्दै रुकुमबाट हप्ता दिन हिँडेर रुपपाटनमा पुगेको रुकुम पुथा उत्तरगंगा गाउँपालिकाकी यार्सा संकलक स्मृति मल्लले बताइन् ।
यार्सागुम्बा संकलनका लागि साना बालबालिका समेत विद्यालय छोडेर हिमाली पाटनमा पुगेका छन् । वृद्धदेखि साना बालबालिका र बच्चाका आमासमेत जाने भएकाले एकै पटक सबैका लागि पन खुल्ला गरिने मेली सामुदायिक वनका सदस्य सुर्वण बुढाले जानकारी दिए ।
यार्सा टिप्नकै लागि मानिसहरु घरगोठ बन्द गरेर पाटन पुगेका छन् । डोल्पाका साइकुमारी, पोकेपानी, बागडाँडा, ग्यालवारा, ठागे, सागर, नावरपानी, कागमारा, कुनासा, जगदुल्ला र छुताङ्ग लगायतका दर्जनौ स्थानमा हजारौ मानि पुगेका छन् ।
करिब ४५ सय मिटरको उचाइमा साना बालवालिकादेखि ६० वर्ष भन्दा माथिका वृद्धा र बैसाखीको सहारमा पुगेका अपाङ्गहरुलाई पनि पाटन खुल्ला गरिन्छ ।