कतारको एक्सनः नाकाबन्दी लगाउने साउदी अरबका सामान प्रतिबन्ध
दोहाः कतारले आफूमागि नाकाबन्दी लगाउँदै आएका मुलुकका सबै सामानमा प्रतिबन्ध लगाएको छ । कतारका अधिकारीले आइतबार आफ्नो देशका सबै पसलेलाई आफूमाथि नाकाबन्दी लगाउने मुलुकका सबै सामान तत्काल हटाउन आदेश दिएका छन् ।
कतारी अर्थ मन्त्रालयले देशभरका पसलेलाई आफूविरुद्ध उभिएका देशका कुनै पनि सामान नराख्न सूचना जारी गरेको छ । त्यस्ता सामान नहटाएको भेटिए कडा कारबाही गर्ने अर्थ मन्त्रालयको चेतावनी छ ।
साउदी अरेबियाको आह्वानमा संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट, बहराइन लगायतका मुलुकले करिब एक वर्षदेखि कतारमाथि नाकाबन्दी लगाउँदै आएका छन् । त्यसको प्रत्युत्तरमा कतारले यस्तो निर्णय लिएको हो ।
ती मुलुकले कतारसँगको सबै सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए । उनीहरूले कतारसँग जल, स्थल र हवाई सबै खाले प्रतिबन्ध लगाएका थिए । ती देशसँग सम्बन्ध सुधारको प्रयास सफल हुन नसकेपछि कतार यस्तो निर्णय लिन बाध्य भएको हो । साउदी अरेबियाले कतारको सार्वभौमसत्तामाथि आँच पुग्ने खालका सम्झौता गर्न दबाब दिँदै आएको छ ।
कतार सरकारले ती मुलुकका सामान हटाए नहटाएको अनुगमन गरिने र त्यसका लागि विशेष टोली बनाउने भएको छ । उनीहरूले प्रत्येक पसल पसलमा पुगेर निगरानी गर्नेछन् । कतार सरकारको सञ्चार मन्त्रालयले कतारको आफ्नै बहुपक्षीय र द्विपक्षीय सम्झौता बमोसजम आफ्नै व्यापार नीति भएको स्पष्ट पारेको छ ।
गत वर्ष जुन ५ देखि साउदी अरेबिया, युएई, बहराइन, इजिप्ट, मालद्वीपले एक्कासि कतारसँगको सम्बन्ध विच्छेद गरिएको घोषणा गरेका थिए । उनीहरूले कतार आतंकवादी समूह समर्थक देश भएको र उसले आतंकवादीलाई आर्थिक सहयोग गर्ने साउदी अरेबियाको आरोप थियो । इरानसँग सुमधुर सम्बन्ध बनाएको र टर्कीलाई सैन्य चौकी राख्न दिएको उनीहरूको आरोप छ ।