'कलंकी-नागढुंगा सडक निर्माणमा लापरबाहीको छानबिन हुन्छ'
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुने बताएका छन् ।
सोमबार चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीले सो सडक निर्माणमा भएको ढिलाइका कारण विभिन्न समस्या भोग्नुपरेको बताएपछि गृहमन्त्रीले छानविनपछि दोषी देखिए ठेकेदारलाई कारबाही हुने बताएका हुन् ।
गृहमन्त्री थापाले समयमा विकास निर्माणको काम सम्पन्न नगर्नु भ्रष्टाचार गरेको सरह नै भएको उल्लेख गर्दै यो कुरा सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारे ।
'गृहमन्त्रालयले देशभरबाट विकास निर्माणमा भइरहेको ढिलाइको विवरण संकलन गरिरहेको छ', उनले भने, 'प्राप्त विवरणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गरिनेछ ।'
त्यस अवसरमा गृहमन्त्री थापाले चन्द्रागिरि नगरपालिका वडा नं २ लाई निःशुल्क वार्इफार्इ क्षेत्र घोषणा गरिनुका साथै वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास पनि गरे ।
त्यसैगरी थापाले सो वडामा आयोजित महिलाका लागि शीपमूलक तथा आयमूलक तालीम कार्यक्रममको पनि आजै उद्घाटन गरे । रासस