राजपा-फोरम गठबन्धन टुट्ने आशंका
जनकपुर : प्रदेश-२ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सय दिन नकाट्दै सत्तारुढ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन धर्मराउन थालेको छ । संघीय सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम सहभागी हुने गरी प्रधानमन्त्री केपी ओलीसँग सोमबार लिखित सहमति गरेसँगै प्रदेश २ को गठबन्धन संकटमा परेको हो ।
काठमाडौंमा भएको सहमति सार्वजनिक भएलगत्तै प्रदेश २ को राजधानी जनकपुरमा फोरम-राजपा गठबन्धन रहने÷नरहनेबारे नेताबीच चर्चा हुन थालेको छ । प्रदेश २ मा पनि नेकपा-फोरम गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले फोरम अध्यक्ष उपेन्द्र यादवले राजपासँगको सत्ता-गठबन्धन तोडेको आरोप लगाउँदै भने, ‘मधेस आन्दोलन फोरम-राजपाले सँगै गरेको थियो । अहिले पनि मिलेरै सहमति गर्नुपथ्र्यो तर फोरम अध्यक्ष यादवले त्यसलाई उल्लंघन गरे ।’
महतोले गठबन्धनमा तलमाथि गर्दा मुद्दा कमजोर हुने र एजेन्डा सम्बोधन नहुने खतरा बढी रहने बताए । उनले भने, ‘अहिल्यै गठबन्धन टुटेको त छैन तर हामी फोरमको गतिविधि हेरेर निर्णय गर्छौं ।’
राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले तत्कालै फोरमले केही निर्णय गर्ने अवस्थामा नरहेको बताए । फोरम र नेकपासँग भएको सम्झौता आफ्नो नकारात्मक टिप्पणी नरहेको उनको भनाइ छ ।
फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भए संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सम्भावनातर्फ राजपाले संकेत गरेको छ । प्रदेश २ को गठबन्धन टुट्न सक्नेतर्फ संकेत गर्दै राजपा महामन्त्री मनिष सुमनले भने, ‘फोरम अध्यक्ष यादव सरकारमा जाने सम्झौता गरेपछि राजपालाई पनि आफूखुशी निर्णय गर्न बाटो खुलेको छ ।’
सुमनका अनुसार जेठ २५ गते बस्ने राजपा बैठकले गम्भीर निर्णय गर्ने सम्भावना छ ।
त्यसमा प्रदेश गठबन्धनदेखि लिएर अन्य मधेसका मुद्दाबारे पनि छलफल गर्ने राजपाको तयारी रहेको उनले बताए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने फोरम-राजपा गठबन्धन सम्बन्धमा त्यस्तो कुनै असर नपरेको बताए । ‘हामी अहिले पनि एक नै छौं, केन्द्रीय सरकारमा पार्टी सहभागी भएको छ,’ उनले भने, ‘तर हामी प्रदेशमा एक नै छ ।’ केन्द्रीय सरकारको सहभागतिाको विषय लिएर प्रदेशमा कुनै असर नपरेको उनले बताए ।
फोरम-राजपा गठबन्धनको प्रदेश २ मा ५४ सिट छ । बहुमत पुग्ने भएको हुनाले दुवै दल मिलेर सरकार गठन गरेका छन् ।
एक सय सातजना प्रदेशसभा सदस्यमध्ये फोरमसँग मात्रै २९ सिट छ । नेकपा र फोरम मिल्दा ६१ सिट अर्थात् सहज बहुमत पुग्ने देखिन्छ ।
फोरम-राजपाको गठबन्धनमा ३ फागुनमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सरकार गठन भएको थियो ।