रिहा भएपछि बालकृष्णले भने- 'त्यति खुसी पनि छैन र निराश पनि छैन'
काठमाडौं : सशस्त्र द्वन्द्वकालको एक घटनामा सर्वोच्चबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेका पूर्व सभासद् एवं माओवादी नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको अवसरमा रिहा भएका छन्।
ढुंगेललाई केद मिनाहा दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सदर गरेपछि उनी छुटेका हुन्।
ढुंगेलसँगै अन्य ८१६ कैदीले समेत माफी पाएका छन्। प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन छ ।
डिल्ली बजार सदरखोरमा कैद भुक्तान गरिरहेका ढुंगेललाई मंगलबार बिहान ९ बजे कारागार प्रशासनले रिहा गरेको थियो। रिहा भएलगत्तै ढुंगेललाई सयौँ समर्थकहरूले स्वागत गरेका छन्। उनीहरूले शान्ति सम्झौताका पक्षमा नाराबाजी समेत गरेका छन्।
ढुंगेललाई उनका समर्थकहरूले नेपाल कम्युनिस्ट पार्टीको कार्यालय (पूर्व माओवादी मुख्यालय) पेरिसडाँडामा लगेका छन्। त्यहाँ ढुंगेललाई सम्मान गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारीका अधयक्ष रञ्जित तामाङले जानकारी दिए।
'खुसी पनि छैन र निराश पनि'
रिहा भएलगत्तै ढुंगेलले आफ्नो रिहाइ रोक्ने चलखेललाई परास्त गर्ने आँट गरेको भन्दै सरकारलाई धन्यवाद दिए। 'मलाई मैदानमा आउन नदिन डलरवादीहरूले जुन बन्देज लगाउन खोजे, त्यसकाविरुद्ध सरकारले आँट गरेको छ। सरकारलाई धन्यवाद छ', ढुंगेलले भने, 'म रिहा हुनु हुँदैन भनेर जसरी रिट पर्यो, यो युद्धमा शान्ति र शान्तिमा युद्धको खेती गर्ने र जहिले पनि भिख मागेर खाने डलरवादीहरूको अभियान हो। त्यो अभियानप्रति म घृणा व्यक्त गर्दछु।'
गणतन्त्रका लागि आफूले गरेको संघर्षको अवमूल्यन गर्दै यातना दिएर जेल हालिएको भन्दै उनले गणतन्त्र अपहरण हुन नदिन अन्तिमसम्म संघर्ष गर्ने उनले बताए। 'गणतन्त्रको माग गर्दा संकटकाल लगाइयो र मलाई हिरासतमा हिटरमा पिसाब फेराएर मिर्गौला ड्यामेज गराइयो', उनले भने, 'गणतन्त्रलाई अपहरण गर्ने दुश्साहस गरिएइको छ। म बाचुन्जेल गणतन्त्रलाई अपहरित हुन नदिन आफ्नो कर्तव्य पूरा गर्छु।'
उनले रिहा हुँदै गर्दा आफू 'त्यति खुसी पनि नभएको र त्यति निराश पनि नरहेको' प्रतिकरिया दिए। 'म त्यति धेरै खुसी पनि छैन र त्यति धेरै निरास पनि छैन। यो संघर्षको जीवन हो', उनले भने, 'कारागार भन्दा बाहिरको यात्रा आरम्भ भएको छ। म मेरो क्षमता र विवेकले भ्याएसम्म द्वन्द्व व्यवस्थापन र समाजको समृद्धिका लागि काम गर्छु।'
उनले आफूविरुद्ध दायर रिट धेरै पहिला नै खारेज हुनुपर्नेमा अहिलेसम्म पनि त्यसलाई बहसको विषय बनाइएको भन्दै आपत्ति जनाए।
उनले 'एक थाल भातमा बिक्ने' भन्दै कतिपय पत्रकार, न्यायाधीश र कानुन व्यवसायी 'डिजाइनमा फसेको' आरोप लगाए। 'उनीहरूलाई राज्यले बुझ्नुपर्छ', उनको भनाई छ, 'सजायँ भुक्तान गरिसक्दा पनि म छुट्नु हुन्न भनेर रिट हालिएको छ। म सर्वोच्चलाई सम्मान गर्छु तर त्यो रिट खारेज हुनुपर्छ। यति लामो बहस गरिराख्नु पर्ने विषय होइन।'
के हो घटना ?
सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए। त्यसपछि तत्कालीन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा उनी ओखलढुंगाबाट निर्वाचितसमेत भएका थिए।
२०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि भने उनी ‘‘फरार अभियुक्त’ बने। तर राजनीतिक रूपमा भने उनी निरन्तर सक्रिय थिए।
सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेकामा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै २०७४ कात्तिक ७ मा प्रहरी प्रमुखविरुद्ध अवहेलना मुद्दा दायर भएपछि ढुंगेल पक्राउ परेका थिए।
तत्कालीन माओवादीले जनयुद्धकालमा भएको घटनामा शान्ति सम्झौताविपरीत ढुंगेललाई सजायँ दिइएको भन्दै विरोध जनाउँदै आएको थियो।