प्रधानमन्त्री कप क्रिकेट : पुलिस र प्रदेश १ विजयी
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबारको विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ विजयी भएका छन्। पुलिसले प्रदेश ७ लाई एक सय ७४ रनले हरायो। अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले पराजित गर्यो।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय २४ रनको विशाल योगफल बनाएको थियो। पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ८३ रनको इनिङ खेले। ३९.४ ओभरमा रनआउट हुनुअघि एक सय १३ बलमा नौ चौका प्रहार गरे। उनी खेलको म्यान अफ दी म्याचसमेत चुनिए। आरिफ सेखले ५७ रनको इनिङ खेले। कप्तान मञ्जित श्रेष्ठले ४९ रन बनाए। बलिङमा प्रदेश ७ का शेर मल्लले दुई विकेट लिए।
तीन सय २५ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ७ ले ब्याटिङ गर्दै गर्दा खेल वर्षाले प्रभावित बनेको थियो। वर्षा रोकिएपछि सुरु भएको खेल ३७ ओभरमा छोट्याइयो भने प्रदेश ७ ले तीन सय ५ रनको नयाँ लक्ष्य पायो। ७ का अरुण ऐरीले ७० रन बनाए। बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले चार र ललित भण्डारीले दुई विकेट लिए।
यसैगरी मूलपानीमा भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले हरायो। प्रदेश नम्बर १ ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय २३ रन बनाएको थियो। प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५१ रन बनाए। फिर्दोस अन्सारीले ३७ र श्रवन यादवले आउट ३४ रन जोडे। प्रदेश २ का संंसेद सेखले चार, मेहबुब आलमले दुई र हरिनारायण साहले एक विकेट लिए।
दुई सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १७ ओभरमा ६ विकेटको क्षतिमा ६७ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेल ३४ ओभरमा झारियो र प्रदेश २ ले दुई सय १४ रनको नयाँ लक्ष्य पायो। तर, प्रदेश २ तीस ओभरमा एक सय ४५ रनमै समेटिएको थियो। प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ४४ रन बनाए पनि अन्यले गतिलो रन बनाउन सकेनन्। बलिङतर्फ १ नम्बर प्रदेशका पुष्प थापा र मिनास थापाले तीनतीन विकेट लिए। पुष्प थापा म्यान अफ दी म्याच चुनिए।