पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
मलंगवा : पोखरीमा डुबेर सर्लाहीको चक्रघट्टा गाउँपालिका-६ गोइयाहीका दुई बालिकाको मृत्यु भएको छ। साथीसँग खेल्दै पोखरीमा पुगेकी हरि नारायण रामकी १० वर्षीया छोरी जसोधाकुमारी राम र ठागा रामकी ९ वर्षीया छोरी प्रीतिकुमारी रामकी पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सोमबार दिउँसोदेखि हराएका बालिकालाई खोज्ने क्रममा परिवारजनले सोमबार राति बस्ती नजिकैको पोखरीमा मृत फेला पारेका छन्।
'मजदुरी गरेर घर आउँदा घरमा छोरी नदेखेपछि खोजी गरेका थियौं', जसोधाका बुवा हरिनारायणले भने, 'वरिपरिका गाउँ र ससुरालीमा पनि गएर खोजेका थियौं, कतै फेला नपरेपछि १० बजे राती घर नजिकैको पोखरीमा खोज्न जाँदा दुवैजना पानीमा तैरिरहेका देख्यौं।'