केन्द्र र नाम परिवर्तन गर्न खोज्दै ४५  स्थानीय तह

केन्द्र र नाम परिवर्तन गर्न खोज्दै ४५  स्थानीय तह

काठमाडौं : गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले तय गरेका ४५ स्थानीय तहले केन्द्र, नाम र सिमाना हेरफेर गर्ने भएका छन् । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको वर्ष दिन पुग्दा ८५ ले परिवर्तन गरिसकेका छन् भने ४५ ले परिवर्तनका लागि गाउँसभा र नगरसभाबाट पारित गरी प्रक्रिया अघि बढाएका छन् । गाउँसभा र नगरसभाबाट निर्णय गरेर उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएका हुन् ।

नेपालको संविधानको धारा २९५ (३) अनुसार स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद २, ३, ४, ५ र ६ मा गाउँपालिका तथा नगरपालिकाको संख्या, सिमाना तथा केन्द्र हेरफेर गर्न सक्ने व्यवस्था छ । स्थानीय सरकार गठन भएको ६ महिनाभित्र भए गाउँसभा वा नगरसभाको बहुमतले परिवर्तन गर्न सक्ने ऐनमा प्रावधान छ भने ६ महिनापछि दुइतिहाइ चाहिने प्रावधान छ ।

मुलुकभरका ४५ गाउँपालिका र नगरपालिकाले नाम, केन्द्र र सिमाना हेरफेरका लागि निर्णय पठाएको मन्त्रालयका संघीय मामिला शाखाका प्रमुख प्रह्लाद कार्कीले जानकारी दिए । केन्द्र परिवर्तनका लागि ताप्लेजुङको मिक्वाखोला, उदयपुरको ताप्ली, कालिकोटको नरहरिनाथ, मुस्ताङको थासाङ, दैलेखको भैरवी, पाँचथरको फाल्गुनन्द, इलामको रोङ, दाङको शान्तिनगर, डडेल्धुराको भागपेश्वर र गोरखाको धार्चे गाउँपालिका छन् । दोलखाको गौरीशंकर, रुकुम पूर्वको पुथा उत्तरपगंगा, तेह्रथुमको मन्छयायेम, डोल्पाको जगदुल्ला, अर्घाखाँचीको भूमिकास्थान, सुर्खेतको सिम्ता, गुल्मीको रुरु, रौतहटको यमुनामाई, पर्साको ठोरी, भोजपुरको हतुवागढी, दार्चुलाको दुहुँ, बाँकेको जानकी, जाजरकोटको छेडागाड र पर्साको कालिकामाई गाउँपालिकाले पनि केन्द्र परिवर्तन गर्न लागेका हुन् ।

पर्साकै छिपहरमाई, दार्चुलाको लेकम, पर्साको विन्ध्यवासिनी, अछामको मामारोशन, इलामको माङसेबुङ, धादिङको थाक्रे, पर्वतको मोदी, रौतहटको दुर्गाभगवती र सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले पनि केन्द्र परिवर्तन गर्न संघीय सरकारलाई परिपत्र गरेका छन् ।

नाम परिवर्तन गर्न चाहने गाउँपालिकामा सिराहाको लक्ष्मीपुर पतारी, पर्साको पटेर्वा सुगौली, सर्लाहीको चन्द्रनगर, मोरङको बूढीगंगा छन् । धनुषाको जनकपुर उपमहानगरपालिकाले पनि नाम परिवर्तन गर्न खोजेको छ । केन्द्र परिवर्तन गर्न चाहनेमा एक मात्र नगरपालिका धनुषाको कमला छ । सिमाना हेरफेर गर्नेमा एउटा मात्र गाउँपालिका ओखलढुंगाको मोलुङ छ ।

नाम र केन्द्र दुवै परिवर्तन गर्न चाहेका स्थानीय तहमा दाङको राजपुर, दार्चुलाको अपी हिमाल, सप्तरीको तिलाठी कोइलाडी र पर्साको सखुवा प्रर्सौनी गाउँपालिका छन् । मन्त्रिपरिषद् बैठकले गत पुस २४ गते ४६ र फागुन १४ गते ३९ गाउँपालिका र नगरपालिकाको केन्द्र, नाम र सिमाना हेरफेर गरी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ ।

४५ मध्ये १६ स्थानीय तहको मात्रै सबै प्रक्रिया पूरा भएकाले तिनलाई ऐनको दफा ४ को उपदफा ५ बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारीमा रहेको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए ।

यसअघिको पहिलो र दोस्रो चरणमा परिवर्तन गर्न खोज्दा झन्डै १० स्थानीय तहविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा अझै विचाराधीन छन् । प्रक्रिया पूरा नभएका तहलाई पुनरवलोकन गर्न पत्राचार गरिने उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.