बजेटबारे ओली, दाहाल र देउवाले के के भने ?
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले, 'ठुला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।'
करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्वलाई उठाइने बताए ।
वुद्धभत्ता वृद्धि नभएकोबारे उनले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रिययताका लागि नयाँ निर्णय नगरेको बताए ।
बजेट राष्ट्र र जनताको पक्षमा: दाहाल
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताएका छन् ।
संघीय संसद्को आजको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गरे ।
कार्यान्वयन हुँदैन: सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताएका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भने, 'करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।'
कांग्रेसकै नेता गगन थापाले सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरङ्ग ल्याउने र जोखिम मोल्ने नभएको बताए ।