उत्तर कोरियाली अधिकारी अमेरिका आउँदै : ट्रम्प
वासिङटन : उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिंगापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार कोरियाली उच्च पदस्थ अधिकारी किमसँग गर्ने भनिएको शिखर वार्ताको तयारीका लागि छलफल गर्न न्युयोर्क आउँदै गरेको ट्विटर सन्देशमार्फत जानकारी गराएका छन्।
ट्रम्पले लेखेका छन्, ‘हामीले उत्तर कोरियासँगको शिखर सम्मेलनका लागि एउटा समूह बनाएका छौँ। शिखर सम्मेलन तथा विविध विषयलाई लिएर सम्बन्धित पक्षसँग छलफल भइरहेको छ।’ शिखर सम्मेलनको तयारीका सन्दर्भमा उत्तर कोरियाको वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ चोलले आफ्नो पत्रको ठोस प्रतिक्रिया जनाउँदै न्युयोर्कतर्फ आएकोमा धन्यवाद व्यक्त गर्न चाहेको ट्रम्पले जनाएका छन्। उत्तर कोरियाका ती सैनिक जर्नेल मंगलबार चीनको बाटो हुँदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीले जनाएका छन्।
उनी यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि जनाइएको छ। वार्ताको तयारीकै क्रममा ती अधिकारी अमेरिका प्रस्थान गर्नुलाई सकारात्मक मानिएको छ। यसले वार्ताका लागि तयारी लगायतका अरू कार्यमा सहजता थप्ने अनुमान छ। जर्नेल किम मंगलबार चीनमा भेटघाटमा व्यस्त रहेका थिए। उनले चिनियाँ अधिकारीसँग यस विषयमा छलफल गरेका थिए।