स्थानीय तहलाई दुई खर्ब ८० अर्ब

स्थानीय तहलाई दुई खर्ब ८० अर्ब

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विशेष प्राथमिकतामा राखेको छ । मुलुकभरका सात सय ५३ गाउँपालिका र नगरपालिकाका लागि ८५ अर्ब २० करोड ८७ लाख र चारै प्रकारका अनुदानका लागि एक खर्ब ९६ अर्ब दुई करोड ७१ लाख बजेट विनियोजन गरेको छ । यसबाहेक अप्रत्यक्ष रूपमा संघ र प्रदेशसँगको सहकार्यमा र शिक्षा, स्वास्थ्य, कृषि, यातायात, सिँचाइ, आवास तथा पूर्वाधार, खानेपानी तथा सरसफाइलगायतमा रकम छुट्याइएको छ ।

संघीय सरकारले चालू आर्थिक वर्षका लागि स्थानीय तहलाई दुई सय २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो अंक कुल बजेटको १७ प्रतिशत थियो । आगामी आव २०७५÷०७६ का लागि प्रत्यक्ष रूपमा दुई खर्ब ८० अर्बको हाराहारीमा विनियोजन गरेको छ । यो अंक कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको २१.२९ प्रतिशत हुन आउँछ । बजेटमा संविधानअनुरूप पहिलो पटक ससर्त, वित्तीय समानीकरण, समपूरक र विशेषगरी चारवटै अनुदानमा बजेट राखिएको छ । यसमा क्रमशः एक खर्ब नौ अर्ब ८४ करोड ५६ लाख, ८५ अर्ब, पाँच अर्ब र पाँच अर्ब दिएको छ । गत वर्ष वित्तीय र ससर्तमा मात्र राखेको थियो ।

प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक, सामाजिक र अन्य विभेदसमेतका आधारमा प्रदेश र स्थानीय तहलाई एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदान विनियोजन गरिएको छ । प्रदेश र तहलाई विशिष्ट कार्य गर्न २० अर्ब विशेष अनुदान छुट्याएको छ । मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट संकलन हुने अन्तःशुल्क रकममध्ये प्रदेश र तहलाई एक खर्ब १४ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

बजेटअनुसार तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन हुने भएका छन् । यसअन्तर्गत एउटा निर्वाचन क्षेत्रमा तीन वर्षमा सम्पन्न हुने गरी सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी बढीमा पाँचवटा आयोजना सञ्चालन गरिनेछ । यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा चार करोडका दरले बजेट विनियोजन गरिएको छ । तीन वर्षभित्र सम्भाव्य सबै ठाउँमा झोलुंगे पुल निर्माण सक्ने गरी आगामी आवका लागि तीन अर्ब ११ करोड ४० लाख छुट्याइएको छ ।

सरकारले स्थानीय तहको समेत लागत साझेदारीमा गाउँपालिका र नगरपालिकाका साथै वडा कार्यालयको प्रशासकीय भवन निर्माण गर्न जिल्ला समन्वय समितिको खातामा हाल निष्क्रिय रहेका विभिन्न कोष उपयोग गर्ने भएको छ ।

सरकारले साविकको सीमाक्षेत्र विकास कार्यक्रमका लागि दुई अर्ब ३ करोड ६ लाख रुपैयाँ छुट्याएको छ । सरकारले पहिलो चरणमा मुलुकभरका एक हजार दुई सय वडामा स्वास्थ्य संस्था स्थापनाका लागि चार अर्ब अनुदान व्यवस्था गरेको छ । जनता आवासका अतिरिक्त गरिबीको रेखामुनि रहेका घरपरिवारले आफैं सुरक्षित आवास निर्माण गर्न चाहे जस्तापाता र काठ आदिका लागि ५० हजार अनुदान दिने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम ल्याई खरको छाना भएका परिवारलाई जस्तापातामुनि ल्याइने भएको छ । सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने दीर्घकालीन उद्देश्यअनुरूप आर्थिक सामाजिक विकासको मौलिक ढाँचा अघि बढाएको छ । ग्रामीण विद्युतीकरणका लागि पाँच अर्ब छ ।

वित्त व्यवस्थापनविज्ञ डा. खिमलाल देवकोटाले प्रदेश र स्थानीय तह दुवैलाई अधिकारसम्पन्न बनाउने गरी प्रभावकारी र मर्यादा बढाउने खालको आएको टिप्पणी गरे । मन्त्रालयका सचिव दिनेश थपलियाले तहमा ठूला परियोजनालाई प्राथमिकता दिएको, स्थानीय पूर्वाधारमा केन्द्रित रहेको र सबै बजेट संघ, प्रदेश र तहको सहकारितामा कार्यान्वयन गर्ने गरी आएको बताए । ‘तहमा गएको अनुदानसमेत विभिन्न शीर्षकमा व्याख्या गरिएको छ, यसले तहको प्राथमिकता प्रस्ट हुन्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.