योगेश वैद्यलाई अन्नपूर्ण रेडियोको 'दीर्घ साधना सम्मान'
काठमाडौं : रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जले वरिष्ठ गायक योगेश वैद्यलाई 'दीर्घ साधना सम्मान २०७५' बाट सम्मानित गरेको छ। चौथो वार्षिकोत्सवको अवसरमा रेडियो अन्नपूर्ण नेपालले वैद्यलाई २५ हजार रुपैयाँसहित दीर्घ साधना सम्मानबाट सम्मानित गरेको हो।अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वैद्यलाई दोसल्ला ओडाएर सम्मान गरे।
रेडियो अन्नपूर्णको सम्मानले आफैंलाई चिन्ने मौका मिलेको वैद्यले बताए। 'मेरो संगीत यात्राको लेखाजोखा मसँग छैन, म केवल अगाडि बढिरहेँ', उनले भने, 'मसँग जे छ त्यही संगीत क्षेत्रलाई दिएँ।' कार्यक्रममा वैद्यसहित वरिष्ठ सञ्चारकर्मी दाहाल यज्ञनिधि, फिल्म निर्देशक एवं गीतकार यादव खरेल र गीतकार रत्नशमशेर थापा र भाषाविद् चूडामणि गौतम पनि सम्मानित भए।
कार्यक्रममा मुख्य अतिथिका रूपमा प्रेमध्वज प्रधान उपस्थित थिए। गीतकार यादव खरेलले अन्नपूर्ण मिडियाले उचित पात्रलाई सम्मान गरेकोमा खुसी व्यक्त गरे। 'संगीत क्षेत्रमा पाँच दशकभन्दा बढी समय अनवरत लागि रहनु ठूलो तपस्या हो', उनले भने। विविध क्षमता भएका
वैद्यजस्ता व्यक्तिलाई नेपाली संगीत क्षेत्रले छुट्याउनै नमिल्ने उनले बताए। खरेलले कलाकारलाई सरकारले रोयल्टी दिनुपर्ने विषय पनि उठाए। गीतकार रत्नशमसेर थापाले वैद्यलाई बधाई दिँदै नेपाली संगीतले वैद्यजस्ता बहुआयामिक प्रतिभा पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सम्पादक विजयकुमार पाण्डेले योगेश वैद्यजस्ता संगीतका मूर्धन्य व्यक्तित्वलाई सम्मान गर्न पाउँदा अन्नपूर्ण मिडिया खुद सम्मानित भएको बताए। वैद्यले संगीतको माध्यमबाट नेपाली समाजलाई जीवन्त बनाएको उनको भनाइ थियो। 'राष्ट्रियतालाई बलियो बनाउने खम्बा वैद्यजस्ता साधक हुन्', उनले भने।पत्रकारिता, साहित्यभन्दा पनि संगीतको विधा माथि रहेको उनको धारण थियो।
कार्यक्रममा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर ठाकुर बेलबासेले अबको दुई तीन महिनामै राष्ट्रिय प्रसारणको रेडियो ९६.८ मेगाहर्ज स्थापना गरी पूरै देशलाई जोड्ने जानकारी दिए। नेपालको राजनीतिक, सामाजिक पक्षलाई सुसंस्कृत बनाउन अन्नपूर्ण रेडियो प्रतिबद्ध रहको उनले बताए।
कार्यक्रममा वरिष्ठ गायक योगेश वैद्यको कालजयी गीत ‘सपना भुलाई सारा’ गायक सुरज थापाले गाएर मन्त्रमुग्ध बनाए।गायिका रीता महर्जनले वैद्यको शब्दसंगीत रहेको नयाँ एल्बमको गीत सुनाइन्।वार्षिकोत्सवको अवसरमा रेडियोका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो।