पोखरामा भारतीय पर्यटक बढे

पोखरामा भारतीय पर्यटक बढे

पोखरा : गर्मी छल्न पोखरा आउने र मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्ने भारतीय पर्यटकको संख्या बढेको छ । बसबाट धार्मिक तीर्थ यात्रा गर्न आउने र कारबाट पोखरा घुम्न आउने भारतीय पर्यटको संख्या बढेको हो । जेठ अन्तिम सातादेखि पदयात्राका लागि आउने युरोप, अमेरिकाका पर्यटकको आगमन कम हुने गर्छ । त्यसैले जेठ अन्तिम सातादेखि भदौ दोस्रो साता ‘अफ सिजन’ मानिन्छ । भूकम्पअघिसम्म यो सिजनमा चिनियाँ पर्यटकको आगमन बढेको थियो । भूकम्पपछिको अवस्थामा चिनियाँ पर्यटकको आगमन बढ्न नसकेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।

पोखरा घुम्न र धार्मिक यात्राका लागि पछिल्लो समय पोखरा आउने भारतीय पर्यटक बढेको तुलाचनको भनाइ छ । हिन्दू र बौद्ध धर्मालम्बीको साझा धार्मिकस्थलका रूपमा प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पर्यटक बस रिजर्भ गरेर आउने गर्छन् । पोखरा मात्र घुम्न निजी सवारी साधन लिएर आउने भारतीय पर्यटक पनि बढेका छन् । गत वर्ष पनि भारतीय पर्यटक बढेका थिए । यस वर्ष अफ सिजन मानिएको समयमा भारतीय पर्यटक गत वर्षभन्दा बढी आइरहेको अध्यक्ष तुलाचनले जानकारी दिए ।

अहिले पोखराका होटलमा सबभन्दा धेरै भारतीय पर्यटक छन् । नेपाल आएका पर्यटकमध्ये ३० प्रतिशत पोखरा आएको र तीमध्ये १५ प्रतिशत भारतीय पर्यटक रहेको अध्यक्ष तुलाचनले सुनाए । ७ प्रतिशत युरोपियन, अमेरिकी, चाइनिज र अन्य आन्तरिक पर्यटक पोखरामा रहेको अनुमान उनको छ । भारतको गुजरातकी पर्यटक गीता मालङ्करले यस समयमा पोखराको मौसमअनुकूल रहेको र यहाँको प्राकृतिक सुन्दरताबारे सुनेर घुम्न आएको सुनाइन् ।

पोखराबारे आफूले सुनेभन्दा राम्रो लागेको उनले बताइन् । यहाँको हरियाली, डाँडाकाँडा, ताल, धार्मिक मठमन्दिरले आफूलाई आकर्षण गरेको उनको भनाइ छ । त्यसैगरी, गुजरातकै पर्थ मालाङ्करले पशुपतिनाथका दर्शन, मनकामना मन्दिरको दर्शन गरेर गुजरात, महाराष्ट्र र मुम्बईबाट ९० जनाको टोली पोखरा घुम्न आएको सुनाए । भारतमा यतिबेला गर्मी बढेको र यहाँको मौसमबाट आफू प्रभावित भएको मालाङ्करले बताए ।

मुक्तिनाथ जाने भारतीय पर्यटक बढेको मुक्तिनाथस्थित होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए । मुक्तिनाथको रानीपौवामा भारतीय गुरुको प्रवचनसमेत चलेकाले भारतीय पर्यटकको आउने–जाने क्रम बढेको उनको भनाइ छ । एक साताको प्रवचन सकेर आइतबारदेखि फेरि अर्को प्रवचन सुरु भएकाले भारतीय धार्मिक पर्यटक आउने–जाने क्रम बढेको गुरुङले बताए ।

मुक्तिनाथमा २२ वटा होटलमा करिब ७ सय बेड संख्या रहेकामा अधिकांश भारतीय पर्यटक रहेको उनले बताए । पदत्रायका लागि अफ सिजन सुरु भएकाले अहिले युरोपियन, अमेरिकी पदयात्रा गर्ने पर्यटक कम रहेको पनि उनले जानकारी दिए । हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर समुद्र सतहदेखि ३ हजार ७ सय १० मिटर उचाइमा छ । त्यहाँबाट धौलागिरि, नीलगिरि, थोरङलालगायत सुन्दर हिमशृंखला देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.