सांस्कृतिक सम्पदाको पुनर्जीवन
ललितपुर : ललितपुर महानगरपालिकाले लोप हुन लागेका सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिएको छ। विश्व बैंक र जापानी सामाजिक विकास कोषको सहयोगमा महानगरपालिकाका ११, १६ र २२ नम्बर वडामा चार वर्षसम्म सञ्चालन गरिएको गरिब लक्षित सहरी पुनरुत्थान नमुना परियोजनाअन्तर्गतको समुदायमा आधारित विकास प्रयास अनुदानमार्फत मूर्त र अमूर्त संस्कृतिलाई पुनर्जीवन दिइएको हो।
प्रगति विवरणको सूचकका रूपमा सोमबार साँझ अमूर्त सांस्कृतिक सम्पदा मानिने दफा भजन, खड्गयोगिनी, बज्रयोगिनी, राधाकृष्ण र कुमारी नृत्य प्रस्तुत गरिएको थियो। नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्रममा खड्गयोगिनी नृत्यमा ६ वर्षीया बालिकाले नृत्य देखाएकी थिइन्।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले परियोजनाका माध्यमबाट सयौं वर्षदेखि चलिआएका मूर्त र अमूर्त संस्कृतिक सम्पदाको संरक्षण भएको बताए। उनले भने, ‘ललितपुर महानगर कला र संस्कृतिको सहर हो त्यसैले सबै वडामा यो लैजानु आवश्यक छ। यस्ता संस्कृति÷सम्पदा संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु सरकारको दायित्व हो।’
सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माले सांस्कृतिक सम्पदाको जगेर्नाका लागि ललितपुरसँगै अब काठमाडौं र भक्तपुरमा पनि यो परियोजना लागू गर्नुपर्ने बताए। बैंकको कन्ट्री म्यानेजर फरिस एच हडाट जेर्भोसले सानो रकमले नेपालको महŒवपूर्ण सांस्कृतिक सम्पदामा ठूलो काम भएको टिप्पणी गरे। बैंककी टिम लिडर योन्ही किमले जीवनमा गरिएका विविध परियोजनामध्ये यो सबैभन्दा उत्तम भएको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद दाहालले संस्कृति र सम्पदामा भएको यो लगानीले संस्कृति संरक्षणसँगै पर्यटन विकासमा टेवा पुग्नेमा जोड दिए। परियोजना हेर्ने संस्थागत विकास विशेषज्ञ मनोजकुमार लालले सांस्कृतिक हस्तकलाको व्यावसायिक प्रवद्र्धन र सांस्कृतिक पर्यटनलाई विकास गरी सहरी गरिबी न्यूनीकरण प्रभावकारी रूपमा भएको बताए।