'पानीजहाज सञ्चालन यसै वर्ष'

'पानीजहाज सञ्चालन यसै वर्ष'

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले जलमार्ग र रेलमार्गको कुरा गर्दा केहीलाई सह्य नहुने भन्दै यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् । सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको भन्दै ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन पनि आग्रह गरे ।

नेकपाको बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘वे बंगालबाट पानीजहाज यही वर्षभित्र सुरु भए अनौठो मान्नुपर्दैन । आलोचकलाई उद्घाटनमा सँगै लैजानेछु ।’ जलमार्गबाट भारतको कोलकाताको ओसारपसार गर्ने काम निकट भविष्यमै सुरु हुने पनि उनले बताए । आफूले रेलमार्ग र जलमार्गको कुरा गर्दा केही मान्छेमा ‘यो काम गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास नै नहुने’ भन्दै ओलीले असन्तुष्टि जनाए ।

असाधारण प्रतिबद्धतासाथ बजेट आएको भन्दै ओलीले यसको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ । ‘यो बजेट हावादारी हो भन्ने पनि सुनियो’, प्रधानमन्त्री ओलीले भने, ‘यो बजेटलाई हावादारी भन्नु सबैभन्दा हावादारी हो ।’ विकासमा पछि परेको समुदाय, क्षेत्रको युगान्तकारी परिवर्तन गर्ने विषय बजेटमा आएको उनको दाबी छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण, वीरगन्ज–काठमाडौं रेल बनाउने कुरालाई सामान्य अर्थमा लिन नहुने ओलीले बताए । ‘रेल बनाउने कुरा एउटा मान्छे ट्रेकिङमा हिँडेको जस्तो होइन’, उनले भने । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका क्रममा बनाइएको साझा घोषणापत्रअनुसार बजेट आएको उनको भनाइ छ । ‘मैले त्यतिबेलै भनेको थिएँ, यो नेपाल बनाउने घोषणापत्र हो भनेर’, उनले भने, ‘समय गुजार्ने र अल्मलिएर बस्ने बेला होइन । तपाईं (जनता)ले छानेर पठाएको सरकार दिशाहीन वा अलमल हुँदैन ।’

‘हामी महाराज होइनौं’

प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेल कानुनसम्मत रूपमा रिहा भएको भन्दै प्रमुख विपक्षी कांग्रेसले गरेको आपत्ति आधारहीन भएको बताए । कांग्रेस नेता गगन थापाले राजाकै शैलीमा प्रधानमन्त्री ओलीले ढुंगेललाई आममाफीको सिफारिस गरेको भन्दै मंगलबार संसद्मा लगाएको आरोपप्रति ओलीले आक्रोश पोखे । ‘हामी महाराज होइनांै, महाराजा फ्याँकेर आएका हौं’, उनले भने, ‘ढुंगेल कानुनबमोजिम जेलबाट छुटेका हुन् । अहिलेको प्रधानमन्त्रीले बनाएको कानुन होइन ।’

आफूले ढुंगेललाई नचिनेको र कहिल्यै पनि नदेखेको भन्दै प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग ‘केके ढुंगेल’ भनेर नाम सोधेका थिए । नेम्वाङले बालकृष्ण ढुंगेल भनेपछि ‘अँ अँ’ गर्दै ओलीले थपे, ‘मैले अहिलेसम्म भेटेको छैन, चिनेको छैन । जेलर, डाक्टर अरूअरूले सिफारिस गर्छन् र त्यही प्रक्रियाअनुसार अरू पनि छुटेका छन् ।’ ढुंगेलले आफ्नो मुद्दा सत्य निरूपण आयोगअन्तर्गत हेरिदिन आग्रह गरे पनि फौजदारी अभियोग भएकाले त्यो बाटोमा नगएको प्रधानमन्त्रीले बताए । नेपालको शान्तिप्रक्रिया नेपालकै मौलिक मोडेल भएको पनि उनको भनाइ छ । कांग्रेसलाई खुद्रा, त्यान्द्रा समाएर राजनीति नगर्न पनि उनले सुझाए ।

अर्थमन्त्रीको शैली रुद्रीचण्डी पढे जस्तै

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण निकै छिटो पढेको भन्दै प्रधानमन्त्री ओलीले व्यंग्य गरे । ‘मैले त एक घण्टा ४० मिनेट जति लाग्ला भनेको तर एक घण्टा १२ मिनेटमै चट’, प्रधानमन्त्री ओलीले भने, ‘रुद्रीचण्डी जत्तिकै भयो ।’ अर्थमन्त्रीले छिटोछिटो पढ्दा कतिपय कुरा बुझ्नै गाह्रो भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अर्थमन्त्रीको स्पिड फोर्थ गियरभन्दा माथि गयो ।’

बजेटबारे विश्लेषण गर्न बसेको संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्रीहरू अनुपस्थित रहेकोमा पनि ओलीले व्यंग्य गरे । ‘हाम्रा पूर्वअर्थमन्त्रीहरूमध्ये कसैको घाँटी दुखेको, कोही निर्वाचन क्षेत्रतिर ।’ नेकपाका नेताहरूलाई पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बजेटबारे विश्लेषण गरेका थिए ।

कांग्रेसलाई धन्यवाद

संसदीय इतिहासमा विपक्षीको समर्थनमा पहिलोपटक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको भन्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई धन्यवाद दिए । तर बजेट पेस गर्ने दिन मंगलबार संसद्मा कांग्रेसले ढुंगेल रिहाइको मुद्दा लिएर संसद्मा आपत्ति जनाएकोमा भने प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए ।

फोरम छिट्टै सरकारमा

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम पनि सरकारमा आउन लागेको जानकारी बैठकमा गराए । ‘सरकार टिकाउन वा संख्या बढाउन होइन’, ओलीले भने, ‘राष्ट्र निर्माणको महान् यात्रामा सहभागी गराउँदै छौं । फोरम पनि सरकारमा आउँदै छ ।’

संसदीय दलको उपनेता नेम्वाङ

नेकपा संसदीय दलको बैठकले दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले नेम्वाङलाई उपनेतामा तोकिएको घोषणा गरेका थिए । नेम्वाङ यसअघि एमाले संसदीय दलको उपनेता थिए । यसैगरी संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएका छन् । राष्ट्रियसभामा दलको नेताको प्रतिनिधिका रूपमा दीनानाथ शर्मालाई तोकिएको ओलीले बैठकमा घोषणा गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.