‘आठ प्रतिशत आर्थिक वृद्धि सहज’
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष आठ प्रतिशत आर्थिक वृद्धि सहजै प्राप्त हुने बताएका छन्। मन्त्रालयमा बुधबार आयोजना गरिएको बजेट समीक्षा कार्यक्रममा मन्त्री खतिवडाले आगामी आवमा ठूला आयोजना सम्पन्न हुने अवस्थामा पुगेको र कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान समेत सजिलै बढाउन सकिने भएकाले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो नहुने बताए।
कृषिबाट साढे चार, उद्योगबाट १२ र सेवा क्षेत्रबाट साढे आठ प्रतिशत योगदान रहने गरी आगामी आवको आर्थिक वृद्धि आठ प्रतिशत पुग्ने अनुमान गरिएको उनले जानकारी दिए। आगामी आवमा मेलम्ची खानेपानी आयोजना तथा माथिल्लो तामाकोसी आयोजना सम्पन्न हुँदैछ। कतिपय सिमेन्ट, खानी तथा उत्पादनमूलक उद्योग पनि सम्पन्न हुने अवस्थामा पुगेका छन्। यसले उद्योगको योगदान बढाउन मद्दत पुग्नेछ।’ ‘सेवा क्षेत्रमा पनि लगानी बढ्दै छ’, उनले भने, ‘अबको केही वर्षमा हामी सहजै वार्षिक ५० लाख पर्यटन भित्र्याउन सक्छौं।’ यसले जीडीपीमा सेवा क्षेत्रको बढाउँछ।’
अर्थमन्त्री खतिवडाले निर्यातमूलक उद्योगमा लगानी गर्नेलाई रेड कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका छन्। स्वदेशी र विदेशी दुवै लगानीलाई उत्पादनदेखि विशिष्टीकरण गर्ने, निर्यात प्रवद्र्धन र मूल्य शृंखलालाई समेत प्रशोधनसम्म सरकारले अनुदानका व्यवस्था गर्दै आएको छ।
अर्थ मन्त्रालयले आयोजना गरेको कार्यक्रमा अर्थमन्त्री खतिवडाले व्यवसाय गर्नेलाई अवसर दिने बताए। ‘कानुनको परिधिभित्र सबैले बाँधिएर अगाडि बढ्नु पर्छ’, उनले भने, ‘अनादर गर्नेलाई छुट हुँदैन।’ कृषि क्षेत्रको उत्पादन बढ्न सकेन अर्थात् गैरकृषिको उत्पादनको बजार हिस्सा बढी रह्यो भने यसको चाप मूल्यवृद्धिमा पर्ने उनले बताए। यसका लागि आन्तरिक उत्पादनलाई बढ्वा दिनुपर्छ।
बजेट कार्यान्वयन सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै उनले यो कार्यान्वयनको दायित्व सरकारको मात्रै नभएर विकास साझेदा र निजी क्षेत्रको पनि उत्तिकै भएको बताए।
अर्थमन्त्री खतिवडाले अब राज्यले करको नियमन कडाइ गर्ने बताए। ‘राज्यको आधारभूत मार्गदर्शनभन्दा बाहिर कोही पनि जान पाउँदैन, राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ, व्यवसायीले पनि राज्यप्रतिको दायित्व पालना गर्नुपर्छ। नगर्नेलाई अब पालना गर्न लगाइन्छ’, उनले भने।
कृषिबाट साढे चार, उद्योगबाट १२ र सेवा क्षेत्रबाट साढे आठ प्रतिशत योगदान रहने गरी आगामी आवको आर्थिक वृद्धि आठ प्रतिशत पुग्ने सरकारी अनुमान।
कर छलीलाई वित्तीय अपराधको रूपमा ब्याख्या गर्दै उनले बैंक खाता गोप्य भए पनि वित्तीय अपराध गर्नेले अब छुट नपाउने बताए। अब दायरा बाहिर गएर पनि अध्ययन तथा अनुगमन सरकारले गर्नुपर्ने हुन्छ’, खतिवडाले भने। कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले बताए। कृषिमा देशलाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरण, व्यवसायीकरण तथा यन्त्रीकरण गर्दै कृषिमा लाग्ने जनशक्ति घटाउँदै लैजाने बताए। पूर्वाधार निर्माण पनि सरकारको प्राथमिकता हो। बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको मोडालिटीका बारेमा छलफल गर्दै छौं’, खतिवडाले भने, ‘प्रतिस्पर्धा बाटै ठूला आयोजना निर्माण गरिन्छ।’
सरकारले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक स्रोतबाट सात सय ५० मेगावाटको पश्चिम सेती आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएकोे छ। खतिवडाले पश्चिम सेती विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भएर तयारी अवस्थामा रहेका कारण आन्तरिक स्रोबाटै निर्माण गर्न लागेको जानकारी दिए।