कहिले सार्वजनिक हुन्छ श्रीपेच ?

कहिले सार्वजनिक हुन्छ श्रीपेच ?

काठमाडौं : राजदरबारलाई नारायणहिटी दरबार संग्रहालयमा परिणत गरेपछि त्यहाँ जाने सबैले हेर्न खोज्ने सामग्री श्रीपेच । एक दशकदेखि सरकारले सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि अहिलेसम्म त्यहाँ जाने कसैले पनि श्रीपेच हेर्न पाएका छैनन् ।

बुलेटप्रुफ सिसामा राखिएको राजसंस्थाको प्रतीक श्रीपेच पर्याप्त सुरक्षा नभएको भन्दै सार्वजनिक नगरिएको हो । तत्कालीन राजा ज्ञानेन्द्रले राजदरबार छाडेलगत्तै नारायणहिटी संग्रहालय खुला गरिएको थियो । प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले २०६५ फागुन १५ गते उद्घाटन गर्नुअघि नेपाल गणतन्त्रात्मक राज्य घोषणा भएलगत्तै असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने घोषणा गरेका थिए । संग्रहालय सञ्चालनमा आएको एक दशक बिते पनि अझैसम्म श्रीपेच प्रदर्शनीमा राखिएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारी बुधबार संग्रहालय पुगी तीन महिनाभित्र श्रीपेच सार्वजनिक गरिने बताए । उनले भने, ‘विज्ञहरुको समिति बनाएर एक महिनाभित्रै प्रतिवेदन तयार पार्ने र सोही निष्कर्षका आधारमा प्रदर्शनीमा राखिनेछ ।’ अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘यसअघि भएका प्रयास सराहनीय छन् तर पर्याप्त छैनन् ।’

यसअघिका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले पनि संग्रहालय अवलोकन गरेपछि तत्कालै श्रीपेच सार्वजनिक गर्न संग्रहालयलाई निर्देशन दिएका थिए । नेपाली सेनाको २४ घण्टे सुरक्षामा श्रीपेचलाई हाल नारायणहिटी दरबारको सैलुन कक्षमा राखिएको छ । मन्त्रालयका तत्कालीन सहसचिव नारायण रेग्मीको संयोजकत्वमा २०६७ सालमा सात सदस्यीय कार्यदल गठन गरी श्रीपेचलाई सार्वजनिक गर्न प्रक्रिया अघि बढाएको थियो । कार्यदलले आवश्यक सुरक्षा रणनीति अपनाएर दरबारको सुर्खेत कक्षमा राखी प्रदर्शन गर्न सुझाव दिए पनि त्यो कार्यान्वयन हुन सकेन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाविज्ञले बुलेट प्रुफ सहितको अत्याधुनिक उपकरणमा राखेर प्रदर्शनमा राख्न सुझाएको थियो ।

सग्रंहालयका प्रमुख रोहितकुमार ढुंगानाले श्रीपेच सार्वजनिक प्रदर्शनीमा नराखिनुमा विविध कारण भएको बताए । उनले अन्नपूर्णसँग भने, ‘मैले सुरुदेखि नै पहल गरेको हुँ तर सरोकारवाला निकायबीच आपसी समन्वयको अभाव छ भने अर्कोतिर इच्छाशक्तिको कमी पाएको छु ।’ संग्रहालयको तथ्यांकअनुसार हालसम्म २७ लाखले अवलोकन गरिसकेका छन् । उनका अनुसार, प्रत्येकजसो अवलोकनकर्ताले श्रीपेच र राजदण्ड प्रदर्शनी नगरिएको विषयमा आवाज उठाउँछन् र कतिले दरबारभित्रै छैन त्यही भएर नदेखाएको भनेर आशंका समेत व्यक्त गर्छन् । २०६६ सालदेखि विशेष प्रयास गरेको जानकारी दिँदै उनले पछिल्लो समयमा २०७१ चैतदेखि प्रदर्शनीको तयारी हुँदै गर्दा २०७२ वैशाख १२ गते भूकम्प गएको बताए । त्यसपछि ‘इन्टिग्रेटेड सर्भिलेन्स सेक्युरिटी सिस्टम’ मा क्षति पुगेको उनको भनाई छ ।

संग्रहालयमा श्रीपेचका अतिरिक्त राजदण्ड पनि सार्वजनिक गरिएको छैन । ‘ श्रीपेच र राजदण्डमात्र होइन, सुनको चमर, राष्ट्रिय र प्रतिनिधि सभामा राजाले प्रयोग गर्ने मेस, राजतरबार लगायतका ११ सामग्री प्रदर्शनीमा राख्न सकेका छैनौं’, प्रमुख ढुंगानाले भने । संग्रहालयका उपसचिव अद्धैतप्रकाश श्रेष्ठले दैनिक एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्मले संग्रहालय अवलोकन गर्ने जानकारी दिए । संग्रहालयमा प्रवेश गर्न विद्यार्थीले २०, नेपालीले एक सय, सार्क राष्ट्र र चिनियाँ नागरिकले एक सय पचास र बाँकी देशका नागरिकले पाँच सय रुपैयाँ तिर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.